हरे निजामती !
निजामती कर्मचारी बुद्धिमान्, मतिमान र प्रज्ञावान् हुन सकेमात्र ऊ स्वयं, निजामती सेवा र राष्ट्रको समेत हित हुने छ।
देशमा निजामती सेवाको ठूलो संगठन छ। एउटा बृहदाकार निजामती समाज छ। तुलनात्मक रूपमा सक्षम र निष्पक्ष मानिएको लोकसेवा आयोग क्रियाशील छ। किन्तु सम्यक रूपमा निजामती संस्कृतिको स्थापना हुन सकेको पाइँदैन। निजामती समाजलाई राजनीतिले अन्योलमा राखेको छ। भरोसाभन्दा डर र निराशा ज्यादा छ। समग्र निजामती संस्था आम रूपमा भयाक्रान्त छ। यति हुँदाहँदै पनि नियमहीनताको प्रवृत्ति भने दिनप्रतिदिन बढिरहेको छ।
राणाको समयमा तत्कालीन शासनको आवश्यकता परिपूर्ति गर्न खडा गरिएको प्रशासन सक्षम थियो। २०१३ सालमा कानुनी रूपमा संगठित भएको निजामती सेवा तत्पश्चात् पञ्चायत प्रणालीको अभिलाषा पूरा गर्न पनि सफलै भयो। त्यस बखतमा सापेक्षरूपमा सक्षम, अनुशासित र योग्य प्रशासकहरू थिए। अन्तिम शक्तिको रूपमा राजाले सबै कुरा हेरिरहेका छन् भन्ने विश्वास थियो। राजाले न्याय र अन्यायको छ्यानविवेक राख्छन् भन्ने धारणा पनि थियो। राज्यको नुन खाने वर्गमा सामान्यतया निष्ठा, बफादारी र लाज थियो।
आज मुलुकको रंगरूप बदलिएको छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को राजनीतिले जनतामा समृद्धिको भोक जगाइदिने काम त ग¥यो तर समुचित रूपमा शासनको बागडोर सम्हाल्न जानेन। विकास विकास भन्दाभन्दै उल्टै परिस्थिति यस्तो आइदियो कि यता खेतबारी बाँझा छन् भने उता काम गर्न सक्ने युवावर्ग बेरोजगार छ। निजामती सेवामा प्रवेशका लागि निर्धारण गरिएको पाठ्यक्रम घोकन्ते किसिमको छ। सेवा प्रवेशपछि परीक्षाको तयारीका सिलसिलामा पढेका कुराको व्यावहारिक उपयोगिता छैन। प्रशिक्षणलाई कार्यसम्पादनसँग आबद्ध गराउन सकिएको छैन। प्रशिक्षण मूलतः पदोन्नति पद्धतिसँग आबद्ध हुन पुगेको छ। निजामती सेवा यस्तो अपमिश्रण हुन पुग्यो कि कहिले खराब वस्तुमा असल वस्तु मिसाएजस्तो। कहिले असल वस्तुमा खराब वस्तु मिसाएजस्तो। यस्तो सम्मिश्रण जहाँ इमान्दारी र बेइमानी एउटै घोलमा घोलिनुपर्ने। राजनीतिको प्रशासन र प्रशासनको राजनीतिमा अन्तर्घुलनले यस्तो हुन गएको हो। यहाँ निजामती सेवाको असल र सुदो मान्छे पनि अपयशमा पर्ने सम्भावना प्रबल छ। हिलोमा पसेपछि को चोखो को बिटुलो ?
भ्रष्टाचारका विरुद्धमा त साराका सारा समवेत चिच्याइरहेका छन् यहाँ। राजनीतिका भिन्न कित्ताहरू एकआपसमा भ्रष्टाचारको आरोप लगाउँदै कोराकोर गर्नमा निमग्न छन्। सायद उनीहरू जनताले तिनका कुरा पत्याउँछन् भन्ने सोच्दा हुन्। किनकि यहाँका उच्चपदस्थ नेताहरू आत्ममुग्धतामा मदहोस छन्। निर्णय गर्ने तहका सर्वाेच्च पदाधिकारीहरू निर्दाेष र निर्मल मानिने, किन्तु निर्णय प्रक्रियाभन्दा धेरै टाढा रहेको कर्मचारी कारबाहीमा परेको देख्दा तमाम निजामती समाज क्षुब्ध भयो। आवश्यक निर्णयार्थ फाइल अगाडि मात्र बढाउने कर्मचारी पक्राउ पर्दा कर्मचारीहरू अत्तालिनु स्वाभाविक थियो।
किनकि कुत्सित मनसाय राखेर अपद्रव्य आर्जन गर्दिनँ भन्ने सोच राख्ने कर्मचारीले पनि फाइलमा सहीछाप गर्दिनँ भनेर साध्य चल्दैन। कुन फाइलभित्र कलुषित भावना लुकेर बसेको छ भन्ने कुरा पनि थाहा हुने कुरा भएन। इमान्दार कर्मचारी अनाहकको अवगाल र अपवादमा पर्ने भय व्याप्त छ। निकट अतीतमा सेवा प्रवेश गरेका आशालाग्दा प्रतिभाशाली युवाले सामाजिक सञ्जालमा जागिर छाडेर बिदेसिने खालका मनसाय राख्न थालेका छन्। कसैबाट अब हाजिरीबाहेक अन्यत्र सही नगर्ने कुरा पनि आए। सेवामा भएका मेधावी कर्मचारीहरूको यस्तो बाध्यात्मक अभिव्यक्तिले गर्दा थप प्रतिभा पलायन हुने सम्भावना बढेको छ। निकट भविष्यमा निजामती सेवा क्षमाताहीनहरूले भरिभराउ हुने अवस्थालाई नकार्न सकिन्न।
सेवा नै उराठलाग्दो, अनाकर्षक र बदनाम छ आज। निजामती सेवाभित्रको मेधा, आभा र प्रतिष्ठामा उल्लेखनीय क्षति भएको छ। हालका केही वर्षयता आफूलाई निजामती सेवक हुँ भनेर परिचय दिन पनि लजाउनुपर्ने परिस्थिति कसरी सिर्जना भयो ? यो विषम परिस्थितिमा निजामती सेवाको उच्च स्थानमा आसीन मानिसहरू निद्राबाट ब्युँझनु आवश्यक छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको शब्दमा ‘अहिले हामी जुन बाटोमा गइरहेका छौं, प्रशासनिक सुधार यस्तो तरिकाले सम्भव छैन। नेपालको निजामती प्रशासन प्रक्रियाभन्दा षड्यन्त्रको सिद्धान्तले चल्न थाल्यो।’ सानो उमेरमा ठूलो उन्नति गरेका विद्वान् पूर्वमुख्यसचिव विमल कोइराला भन्नुहुन्छ, ‘दूरगामी नकारात्मक असर पर्ने खालका धेरै निर्णय गर्नबाट रोक्न सकियो तर निजामती सेवालाई नयाँ ढंगले परिचालन गर्नुपर्छ भन्ने कुरामा राजनीतिबाट सहयोग पाइएन।’
नेपालका निजामती कर्मचारी आठ वर्षदेखि अलपत्र ‘संघीय निजामती सेवा ऐन ल्याऊ’ भन्ने माग राखेर आन्दोलन गर्न बाध्य छन्। बहिरो राजनीति आफ्नो हिसाबकिताब मिल्याउनमै व्यस्त छ। उता सारा मुलुकी प्रशासन भने सर्वत्र अस्तव्यस्त छ। मिडिया सक्रिय छ। सामाजिक सञ्जाल तत्पर र चनाखो छ। निजामती कर्मचारीको गतिविधिउपर चारैतिरबाट निगरानी हुन्छ। निजामती सेवाका कर्मचारीहरूले आफू र परिवारको इज्जतको ख्याल राख्नुपर्छ। राष्ट्रको नाममा शपथ खाएको निजामती कर्मचारी निजामती सेवा र सर्वाेपरि नेपाल राष्ट्रको प्रतिष्ठा अभिवृद्धिमा सरिक हुनुपर्छ।
राम्रो योग्यता र सुझबुझ भएका अधिकृतहरूसमेत क्षणिक लोभ, आशक्ति र उन्मादमा उम्लेको देख्दा उदेक लाग्छ। क्षणिक उत्तेजनामा अक्षम्य कर्म गरेर समस्त जीवन पश्चात्तापका साथै अपसोच, ग्लानी, निराशा र उदासीमा बिताउनुपर्ने गरी भूल गरेको देख्दा अचम्म लाग्छ। कर्तव्यपालनका सिलसिलामा दिनदशा बिग्रनाले परिबन्द या भूलवश हुन गएको गल्ती देखाएर अभियोग लाग्दा कमसेकम आफ्नो अन्तःस्करणले स्वयंलाई निरपराध मानेको हुन्छ। परन्तु जानीजानी एउटा मूर्ख हरिलम्फुले झैं मदिराको नशा, यौवनको उन्माद या पैसाको तुजुकमा गर्न गएको गल्तीमा त उसकै अन्तरात्माले पनि क्षमा गर्दैन। भूत, वर्तमान र सुदूर भविष्यसम्मको परिणामबारे सजग र सचेत भएर कार्यसम्पादन गर्ने क्षमतालाई प्रज्ञा भनिन्छ। निजामती कर्मचारी बुद्धिमान्, मतिमान र प्रज्ञावान् हुन सकेमात्र ऊ स्वयं, निजामती सेवा र राष्ट्रको समेत हित हुने स्पष्ट छ।