भानु जयन्तीमा जस्मिन पौडेलको कविता उत्कृष्ट
![भानु जयन्तीमा जस्मिन पौडेलको कविता उत्कृष्ट](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1-Recovered_Vl0Mq2jkuL.jpg)
बर्दिवास : महोत्तरीको बर्दिवासमा २१० औं भानु जयन्तीका अवसरमा आयोजित बर्दिवास नगरस्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता जस्मिन पौडेलको कविता उत्कृष्ट भएको छ।
बर्दिवास हेल्प फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा पञ्चधुरा मावि चेरु माइस्थानकस् छात्रा पौडेलले १५ हजार पुरस्कार जितिन्। देउराली मावि बर्दिवासका मञ्जिता परियारले द्वितीय स्थान हासिल गरिन्। जनता मावि बर्दिवासका जाविर दर्जी तृतीय स्थानमा चित्त बुझाए।
प्रथम, द्वितीय र तृतीयलाई क्रमश: नगद १५ हजार, १० हजार र ७ हजार पुरस्कार राशीसहित प्रमाणपत्रले पुरस्कृत गरिएको फाउण्डेशनका अध्यक्ष हीरा गौतमले बताए।
बर्दिवास नगरपालिका मेयर प्रह्लाद कुमार क्षेत्रीले विजयीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका ७ जना विद्यार्थीलाई सान्त्वनामा पुरस्कार वितरण गरिएको थियो। उनीहरु जनही १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो।
सान्त्वनामा पुरस्कार पाउनेहरुमा राष्ट्रिय सरस्वती मावि कालापानीका अनिषा माझी र सुमित्रा बिक, मावि टुटेश्श्वरका सुशान्त पौडेल, जनता मावि गौरिडाँडाका मिलन बराल थिए।
त्यसैगरि लक्ष्मीवास मावि भाङ्ग्रे झ्याउरेका सुस्मा वाइवा, जनतमा मावि बिजलपुराका रुपाकुमारी महतो र जनता मावि बर्दिवासका एन्जिला राईलाई समेत सान्त्वनामा पुरस्कार प्रदान गरिएको थियो।
निर्णायक समिति संयोजकमा नारायण घिमिरे र सदस्यमा उद्धव आचार्य र मुकुन्द प्रसाद पौडेल थिए। नगरका १४ सरकारी विद्यालयका ६७ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)