दार्चुलामा भीरबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु
दार्चुला : नौगाड गाउँपालिका–४ होपरीमा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।
घाँस काट्ने क्रममा भीरबाट खसेको ढुंगा टाउकोमा लागेर होपरीस्थित कसाडमेलाकी ५० वर्षीया सीतादेवी ठगुन्नाको मृत्यु भएको आफन्तले बताएका छन्।
मृतक सीताका आफन्त दिपकसिंह ठगुन्नाका अनुसार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतक सीताका पति, छोरा, बुहारी र नातिनातिना छन्।
दार्चुलाका ग्रामीण भेगहरूमा घाँस काट्ने क्रममा भीरबाट लडेर बर्सेनि धेरै मानिसहरूको अकालमै ज्यान जाने गरेको छ।