जिन्दगीको चौतारी

जिन्दगीको चौतारी

खासमा वनस्पतिहरू ‘धर्तीका फोक्सोहरू’ हुन्। पातहरूले सूर्यका किरण, कार्बन डाइअक्साइड, खनिज तथा पानीलाई कार्बोहाइड्रेटमा बदल्छन् र अक्सिजन छाड्छन्।

नातिहरू आज जुन चौतारीको शीतलले आफूलाई सिञ्चन गरिरहेका छन्, त्यो चौतारीको वरपीपल तिनका स्वर्गीय हजुरबुवाले रोपेका हुन्। यो कुरा उनका नातिहरूलाई पत्तै छैन। बस्न त नातिहरूबाहेक बटुवा, भरिया र वस्तुभाउका गोठालाहरू पनि त्यही चौतारीमा बस्छन्, सुस्ताउँछन्, आनन्दभावमा रमाउँछन्।

अझ उकालो सकेर सुस्ताउन पाउँदाको आनन्द चौतारीमा भरिया जति कसले पाउला र ?

परन्तु कसैले पनि यो चौतारी कसले बनायो र यी वरपीपल कसले रोप्यो ? सोधेका छैनन्। अतः हिजोका पितापुर्खा र आजका छोरानातिमा सनातनी संस्कारको अन्तर कति व्यापक बन्दै आएको छ ? यसबाट त्यसको गणित थाहा हुन्छ।

जीवनको साँचो अर्थ भनेकै रुख रोप्नु हो। यदि कसैले जीवनमा एउटा पनि रुख रोप्दैन भने त्यसलाई रुखको छायाँमा बस्ने अधिकार छैन। त्यसले रुखको छायाँमा बस्ने आशा पनि नगरोस्। रुख प्रेमका प्रतिमूर्तिहरू हुन्। प्रेमका गुरुहरू हुन्।

कसले गर्छ मानिसलाई रुखले जति प्रेम ? यो कुरा मान्छेले बुझ्न छाडे र रुखले बुझाउन सक्दैनन्। यो ठूलो खेदको कुरा हो। केहीले आफूले बुझेका छन् तर नबुझेकालाई बुझाउँदैनन्। यसो गर्नु एक किसिमको अपराध जस्तै हो र विकृतिको आरम्भ हो। आज समाजमा विकृतिको यो घना प्रदूषण यसैको असर त हो नि।

यिनै वृक्षहरू हुन्– गुणस्तरीय हावाका स्रोतहरू र यिनै हुन्, फोक्सोका आकर्षक शृंगारहरू। थकित आत्मालाई यिनैले नवीकरण गर्छन्।
अतः जराबिनाका रुखहरूजस्तै हुन्छन्, रुखहरूबिनाको जीवहरूको जीवन !

जोन मुइरले यसैले भनेका छन्– ‘यदि तिमी स्वर्गमा जान चाहन्छौ भने जंगलको बाटो हिँड।’ यसको तात्पर्य प्रकृतिमा हाम्रो रुखहरूसँगको तादात्म्य छ। परन्तु आज सबैले चेतनामा ‘मास्क’ ओढेका छन्। त्यसैले त जंगलको बाटो हिँड्न कोही रुचाउँदैनन्।

‘शक्ति र धैर्य सिक्ने हो भने रुखहरूको संगत गर्नू।’ हल बोरल्यान्डको यो अनुभव कपोतकल्पित कसिंगरमुक्त छ।

आजको विश्वमा रुखहरूसँग सबैभन्दा बढी फिनल्यान्डले संगत गर्न पाएको छ। तर कतार निकै समृद्ध भैकन पनि त्यो देशका नागरिकहरूले रुखहरूसँग संगत गर्न पाएका छैनन्। किनकि त्यो देश पूर्णतः मरुभूमि हो।

प्रकृतितः कतार एउटै रुख नभएको र वर्षभरि वर्षा नहुने देश हो। यसर्थ आधिकारिक रूपमा फिनल्यान्ड संसारको सबैभन्दा खुसी देश हो। जुन देशमा ७५५ वनजंगल जीवाजीवहरूको सुरक्षाका लागि त्यहाँको सरकारद्वारा सुरक्षित छ।

‘हरियो वन नेपालको धन।’ एकताका छातीमा हावा भरेर हामी पनि भन्ने गथ्र्यौं। ‘मानिसले सिंगो रुखबाट चरित्र, जराहरूबाट जीवनको मूल्य र मान्यता र पातहरूबाट परिवर्तन र त्यसको महत्त्व सिक्नुपर्छ’ भन्ने वनस्पतिविज्ञ तस्निम हमिदको भनाइले पनि रुखहरूको महत्त्वलाई उजागर गर्छ।

त्यसो त रुखहरू स्वयंले सिकाइ र उपदेशहरू प्रचार गर्दैनन्। किन्तु तिनीहरूले विवरणहरूद्वारा अविचलित जीवनको पुरानो शाश्वत नियमलाई नित्य प्रचार गरिरहन्छन्।

पूर्वीयशास्त्र उत्तरीय, दक्षिणीय र पश्चिमीय शास्त्रभन्दा जेठो शास्त्र हो। यो कुरा संसारलाई थाहा छ। अतः यो शास्त्र विश्वकै गुरुशास्त्र हो, जसले ज्ञान र विज्ञानमार्फत अनन्त जगत्मा व्याप्त अनन्त विषयमा प्रामाणिक अर्थात् सूक्ष्म अध्ययन र अनुसन्धान गराउँछ।

जगत्का कुनै पनि विषयमा पूर्वीय शास्त्रले अध्ययन नगरेको विषय नै छैन। यसैको ज्ञान र विज्ञानद्वारा आज भौतिक, जैविक, वानस्पतिक, आकाशिक, मानविक आदि अनेकौं अध्ययन शास्त्रहरू लाभान्वित भएका छन्। वैज्ञानिकहरूलाई नवीन विषयमा अध्ययन र अनुसन्धान गर्न र नयाँ आविष्कार गर्न यिनै शास्त्रहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।

जसमध्ये आजको लेखको केन्द्र मानिस र वनस्पतिबीचको अन्तर्सम्बन्ध हो। यस विषयमा वनस्पति तथा जीवविज्ञहरूले निकै अध्ययन र अनुसन्धान गरेका छन्। यिनीहरूको अध्ययन र अनुसन्धानपछिको आविष्कार अर्थात् निचोडमा पूर्वीयशास्त्रले प्रायोगिक ढंगबाट उहिल्यै उल्लेख गरिसकेका कथनहरू छन्।अर्थात्, आदि समयमा हिन्दूदर्शनले हो भनिएका कुरा विज्ञानले होइन भनेर प्रमाणित गर्न नसक्नु र त्यसैले भनिएका कुरा आजको विज्ञानको आविष्कारले सिद्ध गर्नु भनेको वैदिक शास्त्रको अपरिमेयत् ज्ञान विज्ञानको सच्चाइको प्रमाण हो। यो नै पूर्वीय अर्थात् हिन्दूशास्त्रको सामथ्र्य हो।

खासमा वैदिकशास्त्र अर्थात् हिन्दूशास्त्र दैविक योग्यताका प्रमाणपत्रहरू हुन्। यी अचेलका शैक्षिक संस्थाहरूले जस्तो पाठ पढाएर र बुझाएरको सट्टा चिट चोराएर पास गराएका विद्यार्थीलाई दिइने योग्यताको नक्कली प्रमाणपत्रजस्ता होइनन्। यसर्थ यी शास्त्रमा भनिएका कथनहरू नियन्ताको प्रयोगशालामा नियन्ताद्वारा सन्तुलित सृष्टिका लागि प्रयोगसिद्ध तथ्यहरू हुन्। यसैले भनिएको पनि छ– ‘वेदलाई सन्देह गर्नु सीधै नरकमा जानु हो।’

यी सबै पवित्रशास्त्रमा हामी मानिसलगायत सम्पूर्ण जीवका लागि वनस्पतिको महत्त्व ईश्वरका मधुर भाकामा गाइएका छन्। पाठकसमक्ष केही उदाहरण यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु:–

  •  रुखले मानिसलाई इन्धन, यात्रुहरूलाई छायाँ र आराम गर्ने ठाउँ, चराहरूलाई गुँड र तिनीहरूका पात, जरा र बोक्राबाट औषधि दिन्छन्। रुखले दिएका यी पाँच ठूला उपकार पाँच महायज्ञजस्तै हुन्। (वराह पुराण, १६२: ४१–४२)
  •  जसले एउटा पीपल, एउटा नीम, एक वटवृक्ष (वर), दसवटा फूल फुल्ने रुख, दुईवटा अनार, दुईवटा सुन्तला र पाँचवटा आँपको रुख रोप्छ, ऊ कहिल्यै नरकमा जान सक्दैन। (वराह पुराण, १२: २–३९)
  •  फूल र फलहरू भएका रुखहरूले यो संसारलाई सन्तुष्ट पार्छन्। रुख दान गर्नेलाई अन्य संसारमा त्यही रुखबाट मोक्ष मिल्छ। (महाभारत अनुपर्व, ५८: ३०)
  •  भगवान्ले भन्नुभयो– ‘हे राजा ! पीपलको रुखमा बसेर तीनै लोकको हेरचाह गर्ने म नै हुँ। जहाँ पीपलको रुख छैन, त्यहाँ म बास गर्दिनँ। (महाभारत वैष्णवधर्म पर्व, १९)
  •  तुलसीको पातले विष्णुको पूजा गर्ने मानिस पानीमा कमलको पातझैं कहिल्यै पापमा लाग्न सक्दैन। (ब्रह्मवैवर्त पुराण)
  •  यदि तपाईंले रुखलाई नष्ट गर्नुभयो भने तपाईंले पातहरू, फूलहरू र फलहरू पनि नष्ट गर्नुहुन्छ र देशमा कम वा बढी वर्षाको परिणामस्वरूप अनिकाल हुन्छ। (अग्निपुराण)
  •  यस संसारमा रुख रोप्नेलाई भूतलोकमा पुत्र प्राप्त हुन्छ। (विष्णु धर्म सूत्र, ९१: ४)
  •  रुख रोप्नेहरूका लागि रुखहरू तिनीहरूका छोराहरूजस्तै हुन्। त्यसमा कुनै शंका छैन कि ती रुखहरूको कारणले नै मानिसले मृत्युपछि स्वर्ग प्राप्त गर्छ। (महाभारत अनुपर्व, ५८: २७)
  •  धर्मविहीन र गरिबले जतिसुकै छोराहरू जन्माए पनि केही फाइदा छैन। तिनीहरूको तुलनामा सडक किनारको रुख राम्रो छ, जसको छायाँमा यात्रुहरू आराम गर्छन्। (उपवन विनोद)
  •  रुखहरू अरूलाई मद्दत गर्ने सज्जनहरू जस्तै हुन्। घाममा उभिन्छन् तर अरूलाई छायाँ दिन्छन्। तिनीहरूको फल पनि अरूको प्रयोगका लागि हो। (विक्रम चरितम्, ६५)
  •  दसवटा इनार खन्नुभन्दा एउटा ट्यांकी बनाउनु, दसवटा ट्यांकी बनाउनुभन्दा एउटा छोरो जन्माउनु र दसवटा छोरा जन्माउनुभन्दा एउटा रुख रोप्नुले नै मोक्ष प्राप्त हुन्छ। (मत्स्य पुराण, ५१२)
  •  परिवारको असल छोराले जसरी पूरै कुललाई प्रतिष्ठित बनाउँछ, त्यसैगरी फूलहरूले युक्त सुगन्धित एउटै रुखले वन र वातावरणलाई सुगन्धित र स्वर्गीय बनाउँछ। (चाणक्य नीतिशास्त्र, ३: १४)
  •  रुखहरूले आफ्नो पात, फूल, छायाँ, जरा, बोक्रा, काठ, सुगन्ध, खरानी, कोइला, कोपिला र नयाँ पातहरूद्वारा मानिसको इच्छा पूरा गर्छन्। (श्रीमद्भागवत, स्कन्ध, २२: ३४)
  •  रुखहरू आफूले आँधी, वर्षा, बतास र असिना सहेर पनि तिनीहरूबाट हामीलाई बचाउन आफ्नो सम्पूर्ण जीवन हाम्रा लागि समर्पित गर्छन्। यसैले रुखहरू निकै भाग्यमानी हुन्छन्, भनेको छ (श्रीमद्भागवत, स्कन्ध, २२: ३७)
  •  रुख ! फूल, पात र फलफूलको भार तिमीले बोक्छौं, घामबाट हामीलाई राहत दिन्छौं, हिउँदमा सहारा दिन्छौं। यसरी तिमी आफ्नो सम्पूर्ण जीवन अरूलाई मद्दत गर्न समर्पित गर्छौं। त्यसैले तिमी सज्जनभन्दा अझ ठूला र महान् छौं। अतः कृपया तिमीले हाम्रो अभिवादन स्वीकार गर भन्दै रुखहरूलाई विशिष्ट स्थानमा स्थापित गरिएको छ। (भामिनी विलास, ८६)

ऋग्वेदले जीवित प्राणीहरूलाई सुरक्षा प्रदान गर्ने रुखहरूलाई न काट्न न त उखेल्न नै निर्देशन दिन्छ। यसरी हिन्दूविज्ञहरूले रुखहरू बिनाका आफूहरूलाई कहीं कतै पनि कल्पना गरेका छैनन्।

यसप्रकार हाम्रा सबै शास्त्रबाट रुख महिमालाई जम्मा पार्ने हो भने एउटा महाशास्त्र नै तयार हुन्छ।

रुखको महत्त्वलाई दार्शनिक तथा कविहरूले पनि उत्तिकै महत्त्वका साथ मुक्तकण्ठले व्यक्त गरेका छन्।

‘वनस्पतिहरू शून्य स्वर्गसँग कुरा गर्न पृथ्वीको अनन्त प्रयास हो।’ यो रवीन्द्रनाथ टैगोरको भनाइ हो। यो भन्नका लागि मात्र भनिएको होइन। यसले पञ्चमहाभूत तत्त्वको पारस्परिक एकतालाई वैज्ञानिकीकरण गरेको छ।

‘वनस्पतिहरू कविताहरू हुन्, जुन पृथ्वीले आकाशमा लेख्छ।’ दार्शनिक खलिल जिब्रानले पनि रवीन्द्रनाथ टैगोरकै जस्तो उद्गार उद्धृत गरेका छन्। उनले वनस्पतिलाई कविता ठानेका छन्।

त्यसो त यी कवि र दार्शनिकका भावनाहरू हुन्। परन्तु हाम्रो वेदान्तले कविलाई ‘कविर्मनीषी परिभूः स्वयम्भूः’ भनेर भनेको छ। अर्थात् यदि कविको काव्यामृतले समाजलाई अमरत्व प्रदान गर्दछ र कविमा लेखकीय निष्ठा छ भने त्यो कवि सर्वज्ञ परमेश्वर हो।

खासमा वनस्पतिहरू ‘धर्तीका फोक्सोहरू’ हुन्। वनस्पतिका पातहरूले सूर्यका किरण, कार्बन डाइअक्साइड, खनिज तथा पानीलाई कार्बोहाइड्रेट अर्थात् चिनीमा बदल्छन् र साथमा अक्सिजन छाड्छन्।

हो, हामी त्यही अक्सिजनमा सास फेर्छौं, जुन हामीलाई बाँच्नका लागि अत्यावश्यक छ। यसको सट्टामा हामीले कार्बन डाइअक्साइड हावामा छाड्छौं, जसमा वनस्पतिले आफू बाँच्नका लागि सास फेर्छ। यसरी जीव र वनस्पतिबीचमा जीवनको अमर सम्बन्ध छ।

जीव र वनस्पति एकापसमा ईश्वरबाट रचित असल मित्र हुन्। यी दुवै दुवैका लागि नङ र मासुजस्तै हुन्। अतः अस्तित्व रहे दुवैको एकैसाथ रहन्छ र नरहे दुवैको एकैसाथ रहन्न।

​​​​​​​रुखहरूले सम्पूर्ण संसारलाई अनगिन्ती फाइदाहरू प्रदान गर्छन्। तिनीहरूले हामीलाई अक्सिजन प्रदान गर्न र वायुमण्डलबाट कार्बन डाइअक्साइड शोषण गर्न सहयोग गर्छन्। हामीलाई स्वास्थ्य राख्न रुखहरूको महत्त्व आदिकालदेखि नै उल्लेखनीय छ।

श्रीराम–रावण युद्धमा मेघनादको दिव्यास्त्रबाट बेहोस भएका लक्ष्मणलाई हनुमानले द्रोणाचल पर्वतबाट पर्वतसहित सञ्जीवनी बुटी ल्याएर बचाएको प्रसंग रामायणमा उल्लेख छ।

यसर्थ रुखबिरुवाहरू हाम्रा अश्विनीकुमार अर्थात् महान् वैद्यहरू हुन्।

किन्तु यस्ता वैद्यहरूलाई आज हामीले निर्मम ढंगबाट उजाड पारिरहेका छौं। अन्ततः हामी पनि उजाडिएका छौं, समयमै सचेत नहुने हो भने अझ उजाडिँदै जाने छौं। अतः यतिबेला बोटबिरुवाहरूलाई हाम्रो सहयोग चाहिएको छ।

बिरुवाहरूले प्रकाश संश्लेषण (फोटो सेन्थेसिस)को प्रक्रियामार्फत प्राकृतिक प्रकाशको उपस्थितिमा दिनको समयमा अक्सिजन छोड्छन् र रातको समयमा, बिरुवाहरूले अक्सिजन लिन्छन् र कार्बन डाइअक्साइड छोड्छन्। जसलाई श्वासप्रश्वास (रेस्पिरेसन) भनिन्छ।

यद्यपि सुनगाभा, केत्तुके, घिउकुमारी, भुइँकटहरजस्ता रसिला बिरुवाहरूले आफ्नो शरीरबाट पानीको नोक्सानी रोक्नका लागि ‘क्रस्सुलसेन एसिड मेटाबोलिज्म’ नामक प्रक्रियाद्वारा दिनको समयमा मात्रै प्रकाश संश्लेषण गर्दछन् भने रातमा ग्यासको आदानप्रदान मात्रै गर्दछन्।

​​​​​​​पूर्णरूपमा ‘क्रस्सुलसेन एसिड मेटाबोलिज्म’ को प्रयोग गर्ने बिरुवामा, बाष्पीकरणबाट पानीको नोक्सानी कम गर्न पातहरूमा ‘स्टोमाटा’ दिनको समयमा बन्द रहन्छ, तर तिनीहरू रातमा कार्बन डाइअक्साइड (सीओटू) संकलन गर्न पातको बाहिरी कोषिकाहरूका दुई तहहरू बीचका कोषिकाहरू (मेसोफिल)मा खुल्न अनुमति दिन्छ।

त्यतिबेला बिरुवाले कार्बन डाइअक्साइडलाई जैविक एसिडको रूपमा ‘भ्याक्युल’हरूमा भण्डारण गर्दछ। भोलिपल्ट दिउँसो यसलाई ‘क्लोरोप्लास्ट’मा सारी कार्बन डाइअक्साइड (सीओटू)मा रूपान्तरण गर्छ, जुन प्रकाश संश्लेषणको समयमा प्रयोग हुन्छ। यसको अवलोकन सर्वप्रथम वनस्पतिशास्त्री ‘रान्सन र थोमस’ले गरेका थिए।

घरमा यस किसिमका बिरुवाहरू रोप्नाले घरको वरिपरि दिनभर हावाको गुणस्तरको सुधार हुन्छ भने रातमा पर्याप्त अक्सिजन दिएर मानिसलाई राम्रोसँग सुत्न मद्दत पु¥याउँछ।

​​​​​​​वैदिक विज्ञानद्वारा प्रमाणित हामीसँग नीम, तुलसी, घिउकुमारी, मनी प्लान्ट, सुनगाभा, सर्पगन्धाजस्ता अनेकौं बिरुवाहरू छन्, जसले चौबीसैघण्टा अक्सिजन दिन्छन् र कार्बन डाइअक्साइडलाई अवशोषणसमेत गरिदिन्छन्।

यसर्थ हिन्दू गृहहरूमा यी बिरुवाहरू घरका वरिपरि पूजा गरिने गरी रोपिन्छन्। तुलसीलाई त विष्णुकै अवतार मानिन्छ।

पद्म पुराण, सृष्टि खण्डको ६.२६ अन्तर्गतको श्लोक ३८ मा भनिएको छ, ‘जहाँ तुलसी छ, भगवान् विष्णु नजिकै छन्। त्यहाँ ब्रह्मा, लक्ष्मी र अन्य सबै देवताहरू पनि भगवान् विष्णुसँग छन्।

यस्तै पद्म पुराणकै उत्तराखण्ड २४÷२ मा तुलसीको बोट फुल्ने ठाउँको पात, फूल, बीउ, जरा, हाँगा, बोक्रा, डाँठ र माटो पनि सबै पवित्र हुन्छन् भनेर भनिएको छ।

हाम्रा शास्त्रले हामीलाई वरपीपल र शमीका रुखहरूलाई पनि पूजा गर्ने आदेश दिन्छ। परन्तु यी बिरुवाहरूबाहेक अन्य बिरुवाहरूले दिउँसो प्रकाश संश्लेषण गरे पनि रातमा हामीले जस्तै श्वासप्रश्वास गर्ने गर्छन्।

राति प्रकाश संश्लेषण नहुँदा रुखहरूले अक्सिजन उत्पादन गर्दैनन्। यसका साथै रुखहरूले श्वासप्रश्वास जारी राख्ने हुँदा कार्बन डाइअक्साइडको मात्रा बढ्छ र अक्सिजनको मात्रा कम हुन्छ।

दिनको समयमा श्वासप्रश्वासको दर प्रकाश संश्लेषणको दरभन्दा कम हुन्छ। यद्यपि, रातमा प्रकाश संश्लेषण रोकिन्छ र श्वासप्रश्वास उच्च दरमा हुन्छ। जसले गर्दा वरपरको वातावरणमा कार्बन डाइअक्साइड बढी हुन्छ।

ठूला रुखहरूको अवस्थामा यसर्थ वरपरको कार्बन डाइअक्साइडको मात्रा निकै बढी हुने हुँदा वातावरण विषाक्त हुन जान्छ। त्यसैले राति ठूला रुखमुनि सुत्नु हुँदैन।

राति बिरुवाहरूले सल्फर डाइअक्साइडजस्ता विषाक्त ग्याँसहरू पनि बाहिर निकाल्छन्। जुन मानिसका साथै अन्य जीवजन्तुहरूका लागि समेत हानिकारक हुन्छ।

त्यसो त रुखहरू जनावरहरू जस्तै सुत्न सक्दैनन्, तैपनि रातको समयमा बिरुवाले आफ्ना हाँगाहरूलाई आराम गर्न सुझाव दिन्छन्। जसलाई वनस्पतिको गतिविधि ‘आराम चक्र’ भनिन्छ। तर यी चक्रहरू पनि रुखका प्रजातिहरूका आधारमा भिन्नभिन्न हुन् गर्छन्।

आरामको यस्तो घडीमा राति पातमा ‘स्टोमाटा’ बन्द हुन्छ अनि ग्यासको आदानप्रदान नै रोकिन्छ। त्यसो हुँदा रुखको वरिपरि न अक्सिजन न त कार्बन डाइअक्साइड नै हुन्छ।

फलतः राति स्वतः सम्पूर्ण जीवहरूले अक्सिजन लिने र कार्बन डाइअक्साइड दिने हुँदा अक्सिजनको मात्रा घट्ने र कार्बन डाइअक्साइडको मात्रा बढ्न जान्छ। यसर्थ राति रुखको फेदमा नसुत्नु नै राम्रो हुन्छ।

यसरी आजको प्रविधियुक्त विज्ञानले अनेकौं वैज्ञानिक उपकरणका सहयोगमा राति रुखको फेदमा सुत्नु हुँदैन भनेर पत्ता लगाएको रहस्य हाम्रा पवित्र शास्त्रले उहिल्यै उल्लेख गरिसकेका थिए।

‘रात्रौ च वृक्षमूलानि दूरतः परिवर्जयेत्।’ (मनुस्मृति, ४÷७३)

अर्थात्, रातमा रुखको फेदलाई टाढैदेखि वर्जित् गरिदिनू। रुखको फेदमा एकैछिन् पनि बस्दै नबस्नू।

​​​​​​​के यो र यस्तै अरू श्लोकहरू श्लोक मात्रै हुन् त ? अवश्य 

होइनन्। हाम्रा सम्पूर्ण वैदिक श्लोकहरू बेग्लाबेग्लै आविष्कारहरूका सारहरू हुन्।

हामीसँगै यस्ता थुप्रै उदाहरण र यथार्थ छन्। किनकि वेदान्तका कुरा नै विज्ञान पुष्टि गरेको छ। अर्थात् विज्ञानभन्दा कैयौं वर्षअघि वेदान्त छ। यसमा दुई मतै छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.