पाठेघरमा ऐंजेरु ?

पाठेघरमा ऐंजेरु ?
सांकेतिक तस्बिर।

खोटाङकी ३८ वर्षे चन्द्रकुमारी श्रेष्ठ (नाम परिवर्तन)को आफ्नै पीडा छ। पाठेघरको समस्याले हिँडडुल गर्न अनि पिसाब फेर्न उनलाई निकै गाह्रो हुन्थ्यो। महिनावारीमा धेरै रक्तस्राव हुने र कमजोर हुने त छँदै थियो। तर, संयोगले गाउँमै स्वास्थ्य शिविर आयो। कहाँ जाउँ, के गरौं भनेको अवस्थामा डाक्टर नै गाउँमा आए। उनको परीक्षण भयो। चिकित्सकले पिसाब जाने पाइप (क्याथेटर) लगाइदिए।

पाठेघरमा ठूलो ट्युमर छ, शल्यक्रिया गर्नुपर्छ, ठूलो अस्पताल जानू भनी सुझाए। ठूलो ट्युमर, शल्यक्रिया र अप्रेसन। भन्न सजिलो तर उनका लागि ती सजिलो थिएन।  साथी कसलाई लानु, अप्रेसनमा कति पैसा चाहिने होला ? अप्रेसन गर्दा ज्यान तलमाथि भए बच्चाहरूलाई कसले हेरिदिने ? उनले श्रीमान्लाई सम्झिन्। आफन्तहरूलाई सम्झिन्। बच्चालाई च्यापिन्। रातभरि सुत्न सकिनन्।

दिन बित्दै थियो। पिसाबका लागि पाइप खोलिएको छैन। अप्रेसन नगरी खोल्दा फेरि पिसाब फेर्न गाह्रो हुने थियो। ठूला अस्पताल कता खोज्ने ? खोटाङ जिल्ला अस्पतालमा पनि नहुने रे। धरान, विराटनगर वा काठमाडौं नै जानुपर्ने रे। कता जाने सोच्न सकेको थिइनन्। आफन्तहरूको सल्लाहले पिसाबको पाइप (क्याथेटर) लगाएरै जेठ १४ गते 

मोरङ सहकारी अस्पताल आएकी चन्द्रकुमारीलाई मैले परीक्षण र अन्य टेस्टहरू गरेपछि, उनको पाठेघरमा मासु पलाएको ट्युमर (ऐंजेरु) भएको र रक्तस्रावका कारण रक्तअल्पता रहेको पत्ता लाग्यो।

के हो पाठेघरको ऐंजेरु ?

यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, तर क्यान्सर होइन। यो मुख्यतया मांसपेशी तथा फाइबर तन्तुले बनेको कारणले यसलाई फाइबराइड भनिएको हो। यो पाठेघरको बीचको तह मायोमेट्रियमबाट पलाउने भएकाले यसलाई मायोमा वा लियोमायोमा पनि भनिन्छ। सामान्य भाषामा यसलाई ऐंजेरु पनि भन्ने चलन छ।

महिलाहरूमा हुने समस्याहरूमध्ये यो पनि एक प्रमुख समस्याभन्दा फरक नपर्ला। नेपालमा मात्र होइन संसारका जुनसुकै मुलुकका महिलाहरूमा यो समस्या देखिन सक्छ। सन् २०१६ का तथ्यांकअनुसार विश्वका २१ दशमलव ४ प्रतिशत महिलाहरूमा फाइबराइड समस्या रहेको छ। सामान्यतया उमेर बढ्दै गए पछि फाइबराइड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० वर्ष पार गरेका ४० प्रतिशतसम्म महिलाहरूको पाठेघरमा फाइबराइड हुने गरेकोे तथ्यांकहरूले देखाएका छन्। अधिकांश साना साना फाइबराइड भएका महिलाहरूमा कुनै लक्षण वा असरहरू नदेखिने गरेको पाइन्छ। यस्ता महिलाहरू अरु नै समस्याका कारण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गर्दा फाइबराइड देखिने गरेको पाइन्छ।

फाइबराइड ठूलो भएमा वा सानो नै रहेमा पनि यसले गर्ने प्रमुख समस्या महिनावारीको गडबडी नै हो। महिनावारीमा अत्यधिक रक्तस्राव हुने, लामो समय रक्तस्राव हुने, थोरै थोरै दिनको अन्तरालमा रक्तस्राव हुने, महिनावारीमा धेरै दुखाइ हुने जस्ता समस्या धेरैमा हुन सक्छ। फाइबराइड ठूलो भएमा पेट ठूलो हुने तथा अन्य अंग जस्तै आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या गर्न सक्छ। चन्द्रकुमारीको पाठेघरको तल्लो भागमा फाइबराइड रहेकाले पिसाबथैली तथा नली च्यापिएकाले पिसाब फेर्न समस्या भएको हो। फाइबराइड नै हो भन्ने निश्चित गर्न अल्ट्रासाउन्ड (भिडियो एक्सरे) वा अन्य इमाजिङ (सिटिस्क्यान वा एमआरआई) गर्नुपर्ने हुन्छ।

फाइबराइडले क्यान्सर पनि हुन सक्छ नि भन्ने डर अधिकांश महिलामा रहने गरेको पाइन्छ। यसै डरका कारण अधिकांश महिलाहरू आत्तिने र शल्यक्रिया गरेर भए पनि पाठेघर फाल्न हतार गरिरहेको पाइन्छ। तर वास्तविकता त्यस्तो होइन। फाइबराइड एकदम सुस्त गतिमा बढ्ने ट्युमर हो। भनिन्छ यो बढेर सुन्तलाको आकारमा आउन तीन वर्ष लाग्ने हुन्छ। यसबाट क्यान्सर हुने सम्भावना मात्र शून्य दशमलव दुई प्रतिशत हुन्छ। तर कसैकसैमा फाइबराइडको वृद्धि तीव्र्र गतिमा हुन सक्छ, यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढी रहन्छ। चन्द्रकुमारीको चाहिँ अलिक तीव्र गतिमा ठूलो भएको थियो। दुई महिनामा नै उनको पाठेघर झन्डै ६ महिनाको गर्भजस्तो भएको थियो। शल्यक्रिया पछि पाठेघर नाप्दा दुई किलोग्रामको थियो।

पाठेघरमा ऐंजेरु भन्नेबित्तिकै शल्यक्रिया अर्थात् अप्रेसन सम्झन्छौं। तर फाइबराइडमा शल्यक्रिया गर्नै पर्छ भन्ने छैन। कुनै समस्या नगरेका फाइबराइडलाई कुनै उपचार चाहिँदैन। तर महिनावारीमा अत्यधिक रक्तस्राव भएमा तुरुन्त उपचार चाहिन्छ। यस अवस्थामा रक्तस्राव रोक्न तथा रगतको उत्पादन बढाउन औषधिहरू प्रयोग गर्ने गरिन्छ। तर फाइबराइडको मुख्य तथा दीर्घकालीन उपचार शल्यक्रिया नै हो। शल्यक्रिया गरेर ऐंजेरु वा फाइबराइड मात्र निकाल्ने प्रक्रियालाई मायोमेक्टोमी भनिन्छ। कम उमेर तथा पाठेघर बचाउनुपर्ने अवस्थामा मायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिलता आएमा पाठेघर नै निकाल्नु पर्ने हुन सक्छ। उमेर पुगेका अर्थात् सामान्यतया ४५ वर्ष पार गरिसकेको अवस्थामा फाइबराइडलगायत पाठेघर नै निकाल्न सकिन्छ। यस्तो शल्यक्रियालाई हिस्टेरेक्टोमी भनिन्छ।

सफल हिस्टेरेक्टोमीपछि चन्द्रकुमारीलाई हिँडडुलमात्रै होइन पिसाब फेर्न पनि सहज भएको छ। अब उनले पिसाबको पाइप लगाउनु परेको छैन। उनले शरीर चंगा भएको बताइन्। ‘अहिले शरीरबाट काँडा झिकेर फालेजस्तो भएको छ,’ दुखाइको पीडा भुलेर हर्षित मुद्रामा रहेकी चन्द्रकुमारीले भनिन्, ‘शरीर नै अहिले हल्का र फुर्तिलो भएको छ। त्यो पीडा सम्झिँदा यस्तो समस्या त कसैलाई पनि नहोस्।’ महिनौंदेखि आफूले भोगेको पीडा सुनाउँदै उनले भनिन्, ‘पहाडको कति धेरै अस्पताल गएँ। तर पनि पिसाब फेर्न सजिलो भएन। दुखाइ खपिनसक्नु हुने गरेको थियो। अहिले उपचारपछि पुनः जीवन पाएको महसुस गरेको छु।’

शल्यक्रियाबाहेक फाइबराइडमा शल्यक्रियाबाहेक अन्य औषधि उपचार छैन भन्न मिल्दैन। फाइबराइडमा उपचार गर्नुपर्ने कारण अत्यधिक वा लामो समयसम्म हुने रक्तस्राव नै हो। रक्तस्राव भएको छैन वा धेरै नभएको अवस्थामा कुनै उपचार नचाहिन सक्छ। तर रक्तस्राव धेरै हुन्छ र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तस्राव रोक्ने र शरीरमा रगतको मात्रा बढाउने औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ। यस अवस्थामा तत्काल रक्तस्राव रोकिने औषधिहरू थोरै समयका लागि प्रयोग गरिन्छ। फेरि अत्यधिक रक्तस्राव हुन नदिन तथा महिनावारी पनि नियमित गर्न लामो समय (३ देखि ६ महिना वा सोभन्दा बढी) सम्म पनि हर्मोन भएका औषधिहरू प्रयोग गरिने गरिन्छ। यी औषधिहरूका प्रयोगले रक्तस्राव तथा महिनावारीमा आएका समस्याबाट छुटकारा पाइन्छ र उमेर पुगेपछि आफैं महिनावारी सुके पछि फाइबराइड पनि सुक्ने भएकाले सधैंका लागि समस्या समाधान हुन सक्छ।

तर औषधिहरूले फाइबराइडलाई नै चाहिँ सुकाउने हुँदैन। कम उमेरमा नै ऐजेरु पलाए पनि यसले धेरै समस्या गरेको छैन भने हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुँदैन। पाठेघर तथा अण्डाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्ने र हिस्टेरेक्टोमी गरिसकेपछि यस्ता हर्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकोले कम उमेरमा हिस्टेरेक्टोमी गर्ने उपाय घातक पनि हुन सक्छ। यस अवस्थामा वा अन्य अवस्था जसमा लामो समयसम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भएमा लामो समयसम्म हर्मोनले उपचार 
पद्धति अपनाउन सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.