![प्रेमहरूको पुञ्ज](https://annapurnapost.prixacdn.net/media/albums/BOOK--tarapunja_fMN1H0ZLoK_Gvw1xBfjiY.jpg)
कुन गीतले कसलाई छुन्छ भन्ने कुरा आ–आफ्नो भोगाइ, स्वाद र आकांक्षाले निर्धारण गर्छ नै। हुन त गीतको अर्थ समयअनुसार फरक हुन्छजस्तो लाग्छ।
प्रविधिको नाममा रेडियो सुनेर, देखेर हुर्किएका हामीलाई, रेडियोले विचित्रको संसारमा पुर्याउँथ्यो। रेडियोमा बोल्ने मान्छे कसरी भित्र छिरे होलान् भन्ने कौतुहलले एकपटक केसमेत भयो भने घरमा कोही नभएको मौका पारेर पिताजीको रेडियो खोलखाल गरें। केही मेसो पाउन सकिनँ, मान्छे छिर्ने ढोका मैले भेटिनँ...। आमाको लठ्ठी खाको चर्चा यहाँ नगरौं। पछि दाजुले सिलिगुडीदेखि क्यासेट प्लेयर किनेर ल्याउनु भएपछि भ्रम हटे। सम्झिँदा उदेक लाग्छ।
रेडियो नेपालको बाल कार्यक्रम असाध्यै मन पथ्र्याे। कार्यक्रम चलाउने बासुदेव मुनालको जादुमयी आवाजले लठ्ठ हुन्थें र रेडियोसँगै टाँस्सिएर बस्थें। मीठो स्वरले ‘मेरा प्यारा प्यारा नानी हो ! आओ, रेडियो नजिक आओ !’ भनेको स्मृतिमा ताजै छ। कति ज्ञानी भएर सुन्थ्यौं। दुई एकान दुई, दुई दुना चार... पढ पढ नानी हो भई होसियार... यसरी जोडिएको रेडियो नेपालसँगको सम्बन्धमा समयसँगै अर्को नाम थपियो, दाहाल यज्ञनिधि। उनले साहित्य संसार कार्यक्रम चलाउँथे। जदौ ! भन्दै कार्यक्रमको थालनी गर्ने गाउँको ठेट बोली। उनको योगदान अतुलनीय रह्यो। ऐतिहासिक ठाउँ रेडियो नेपालको स्टुडियोमा पुग्नु संयोग र साहित्य संसार कार्यक्रममा विचार व्यक्त गर्न पाउनु अहोभाग्य सम्झन्छु।
साहित्य संसारका सञ्चालक साहित्यकार वस्ती तीन दशकभन्दा बढी समयदेखि कार्यरत छन्। साहित्यको विभिन्न विधामा कलम चलाउने उनका तीन कृति प्रकाशित छन्– सिर्जनाका साथीहरू (बालकथा संग्रह–२०७५) र मुसीको चकचक (बालकविता संग्रह–२०७८)। २०७९ मा तारापुञ्जनामक गीत संग्रह प्रकाशित छ। जसभित्र ६० गीत समावेश छन्। धेरै गीत प्रसारण भइरहेछन्। एकल गायन प्रतियोगितामा पुरस्कृत उनी बहुप्रतिभाशाली व्यक्ति लाग्छन्। स्वच्छन्दताका साथ बगेका गीत र यसभित्रका उनका भावले प्रेरित गर्छ। उनका गीतहरू सुपाठ्य छन्, सुललित छन्।
‘गीत जीवनको सुकिलो पर्दा हो। गीत जीवनकै ढोकामा झुन्डिन्छ र जीवनलाई शीतलता प्रदान गर्छ। अनुभूतिको शीतलता गीतको पहिलो सर्त हो। गीतमा बौद्धिक अभ्यासभन्दा बढी हृदय पोखिएको हुनुपर्छ। गीतमा हृदय नपोखिँदो हो त गीत सुनेर किन रुन्थे मान्छे र गीतले किन हिर्काउँथ्यो हृदयमा सिस्नुले झैं। रनवनमा गुञ्जे पनि या बन्द स्टुडियोमा घन्के पनि गीतले गोडा र बाहिरी शरीर होइन, भित्री मन हल्लाउनु पर्छ।’ तारापुञ्ज पुस्तकको यो भूमिकाबाट थाहा हुन्छ उनको लेखन। उनका कुनै गीत त साँच्चै हृदयस्पर्शी छन्। मानवबस्तीदेखि टाढा कतै पर सुसेल्दै बगेको खोलो जस्तै प्रदूषणरहित, निश्चल, मनलाई शीतलता प्रदान गर्ने खालका छन्। गीतहरू पढ्दा आफ्नै गाउँघर पुगिन्छ। परदेशीले चाडबाड आएपछि कसरी गाउँ सम्झेर ब्याकुल बन्छ भन्ने भाव झल्कन्छ।
‘यसपालिको दसैं तिहारबाट’ गीतको अंश :
यसपालिको दसैं तिहार आफ्नै घर–देशमा
विरहमा कति बसूँ सधैं पर–देशमा।
देउसी भैलो आयोजना हुन्थ्यो सधैं गाउँमा
फूलमाला साँच्ने गर्थिन् बहिनी मेरै नाउँमा
सिर्जनाले मानिसलाई चिनाउँछ। मनुष्य देह पृथ्वीलोकमा नरहे पनि कृति भने सधैं अमर रहन्छ। ६० गीत समावेश कृतिभित्र कुनै गीत दुईवटा अर्थ बोकेका पनि छन्। देश बिगार्ने भ्रष्टहरू सम्झेर लेखेको होला भनेर अड्कल काटेका गीतहरू लेखकले त्यो भावमा, त्यो मनशायले नलेखेको पनि हुन सक्छ। ‘जेले सक्छांै, त्यस्ले ठटाऊ’ शीर्षकको गीतबाट एक हरफ :
शत्रुताले कहीं कतै दु: ख कष्ट दियो भने
वैमनस्य समन गर्न चतुर एउटा टोली खटाऊ।
कुन गीतले कसलाई छुन्छ भन्ने कुरा आ–आफ्नो भोगाइ, स्वाद र आकांक्षाले निर्धारण गर्छ नै। हुन त गीतको अर्थ समयअनुसार फरक हुन्छजस्तो लाग्छ। एउटाले मन दु: खी हुँदा सुनेको गीत, अर्को मान्छेले त्यै गीत सुनेर खुसी साटिरहेको पनि हुन्छ। समय, काल, परिस्थितिअनुसार एउटै गीतको अर्थ फरकफरक हुन्छ। कृतिमा कतिपय गीत कसैप्रति समर्पित भावनाले ओतप्रोत भएर लेखिएका छन्। सुन्दर नारीको मोहमा व्यग्र भएर लेखिएका एकतर्फी माया हो कि जस्तो लाग्ने गीतले पाठकलाई नछोला भन्न सकिन्न। ‘भित्रभित्रै प्रेमले’ गीतबाट :
विपनीमा आँखा तर्दातर्दै पनि
सपनीमा प्यारले कसेको थाहा भो
सायर गुल्जारको शब्दमा, गीतसंगीत भनेको मन हल्लाउने आँधी हो, गीत सुनेर आँधी आएन भने त्यसको अर्थ रहँदैन। गीतको कुरा गर्दैछौं हामी, कापी कलम बोकेर बस्दैमा कहाँ गीत लेख्न सकिन्छ र ? गहिरो अध्ययनबिना लेखिएको साहित्य त निरस हुन्छ, कुनै कानुनी कागजजस्तै। वास्तवमा गीतसंगीत एउटा थेरापी हो, मानसिक विकारबाट उन्मुक्ति पाउन संगीतले धेरै मद्दत गर्छ। हामी मुडअनुसार गीत छानेर सुन्छौं वा पढ्छौं। दु: ख–सुखमा सबैभन्दा नजिकको साथी त आखिर गीत संगीत नै हो।
पुस्तकभित्रको मन परेको एउटा गीत :
केटा: गैरी खेतको धानको बाला झुले जस्तै गरी
फुल्यौ मेरी माया तिमी मनको फाँटैभरि।
केटी: तिमी पनि फुलेका छौ मेरो मनैभरि
बनपाखा टाकुराको लालीगुराँससरि।
तारापुञ्जले नेपाली संस्कृति झल्काउने मौलिकपन बोकेको छ। वनपाखा, जंगल, घाँसदाउरा सम्झेको छ। देशको राजनीतिक अवस्थालाई बुझेको छ। कसैप्रति मायापिरतीमा डुबेको कुरा पनि नलुकाई व्यक्त गरेको छ। मान्छे सामाजिक प्राणी हो, ऊ एक्लै जीवनयापन गर्न सक्दैन। ऊ जहाँ गए पनि आफू हुर्किएको समाजको संस्कृति, संस्कार आफूसँगै लिएर जान्छ। झन् गीतसंगीतका पारखीहरूको त वनपाखा, मेलापात जहाँ नै पुगे पनि मन माधुर्य बनिआउँछ।
‘हेर्ने तिम्रो बानी’ गीतबाट :
यी आँखामा बस्छ्यौ तिमी मनमुटुमा तिमी
जीवनभरको सारथी हौं एकअर्काका हामी
यसरी माया प्रेममा चुर्लुम्म डुबेर रचना गरिएका गीतहरूले सोझो अर्थमा ताराप्रसाद आफैं घायल प्रेमी हुन् कि जस्तो लाग्छ। विरहले आँत सुकेको बेला लेखिएका यस्ता गीतहरू पढ्दा गीतकारले जीवनको एउटा भोगाइ नै शब्दमा उतारेको हो कि जस्तो लाग्छ।
शिशिरको जाडो पनि न्यानो घाम बन्थ्यो
यो मुटुको हरेक धड्कन उनीसँगै चल्थ्यो
जनमभरलाई लाको माया त्यसै तोडिगइन्
आफ्नै मान्छे पराई भई साथ छोडिगइन्।
गीत मन पराउने सबैलाई तारापुञ्ज कृतिले स्वाद चखाओस्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)