झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथि हातपात
![झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथि हातपात](https://annapurnapost.prixacdn.net/media/albums/Jhimruk_Gaupalika_ZKUBhs3EUZ_zWScMwqfsd.jpg)
बुटवल : प्युठानको झिमरुक गाउँपालिकामा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीसहितका युवाले कर्मचारीमाथि हातपात गरेका छन्।
बुधबार प्रक्रिया नपुगेको योजनाको भुक्तानी लिन पुगेका एमसी नेतृत्वको युवाले योजना शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसीलाई कार्यकक्षमै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए।
आफूमाथि हातपात भएपछि योजना शाखाका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रिजालको कार्यकक्षमा सुरक्षाका लागि पुगेका थिए। तर एमसी नेतृत्वको युवाले आफूलाई समेत आक्रमणको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले प्रतिक्रिया दिए।
‘दिउँसै कार्यकक्षमा हातपात भएपछि ढुक्कसँग काम गर्ने वातावरण भएन’, रिजालले भने, ‘कर्मचारीमाथि अपशव्द प्रयोग गरेर जथाभाबी बोलियो। यस्तो अवस्थामा कर्मचारीले कसरी काम गर्ने?’
एमसीसहितका युवाले कर्मचारीलाई गाली बेइज्जतीसमेत गरेको प्रत्यक्षदर्शीका रूपमा रहेका अन्य कर्मचारीहरूले जानकारी दिए।
वडा नम्बर ३ मा सञ्चालन भएको पिपलारुख-पातल मैदान सडक योजनाको भुक्तानीका लागि युवाहरू गाउँपालिका पुगेका थिए। उक्त योजनाको काम स्टिमेटअनुसार नभएपछि भुक्तानी रोकिएको कर्मचारीले जानकारी दिए।
गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बिहीबार यस विषयमा छलफल हुने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)