ओलीले फोन गरे एमालेमा फर्किन तयार छु : वामदेव, ओली भन्छन्- उहाँ एमालेकै सदस्य हुनुहुन्छ

काठमाडौं : राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेमा फर्किने संकेत गरेका छन्। राष्ट्रिय सभा बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्किने बताए।
एमालेले मंगलबार मात्रै ७० वर्षे उमेरको हदबन्दी हटाउने निर्णय गरेपछि वामदेवले पुरानै पार्टीमा फर्किने सम्भवना बढेको बताए।
गौतमले भने, ‘७० वर्षे उमेरहद हटाउने निर्णयवारे औपचारीकरूपमा थाह पाएको छैन। मलाई केपी ओलीले अझै भन्नुभएको छैन। उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनुभएको हो। उमेर हद हटाइएको यही अवस्थामा हामी एमालेमा जान्छौं।’
उनले ७० वर्षे हट्नैपर्ने आफ्नो प्रस्ताव रहेको बताए। उमेर हदका आधारमा कसैलाई विभेद् गर्न नपाइने गौतमको भनाइ छ। गौतमले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर आफ्ना गतिविधि अगाडि बढाउँदै आएका छन्।
यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतम एमालेकै सदस्य रहेको बताए। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गौतमले अझै एमालेको सदस्यता नत्यागेको बताए।
प्रतिक्रिया दिनुहोस !
