शिक्षा इकाईमा विद्यालय कर्मचारीको धर्ना
स्याङ्जा : सरकारी विद्यालयमा कार्यरत कर्मचारीले विगत ३ दिनदेखि शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको प्रवेशद्वारमा बसेर धर्ना दिँदै आएका छन्।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उनीहरूको धर्ना रहन्छ। नेपाल विद्यालय कर्मचारी परिषद स्याङ्जाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका सेवा, सुविधासहित पेशागत स्थायित्वको माग गर्दै साताव्यापी धर्ना जारी राखेको जनाएका छन्।
परिषदका अध्यक्ष चिरञ्जिवी न्यौपानेले भने ‘न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका हामी कर्मचारीका बारेमा बजेट सम्बोधन गरिएन। नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा समेटिएपछि पनि बजेटमा सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएका छौं।’