‘लु चल्दा बाहिर ननिस्कनू’

‘लु चल्दा बाहिर ननिस्कनू’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : गर्मी बढेको छ। चिकित्सक भन्छन्, ‘घरबाहिर निस्कँदै हुनुहुन्छ भने सजग हुनुहोस्। तातो हावा (लु) चलेको बेला घरबाहिर ननिस्कनू नै उत्तम हुन्छ। तातोपनाले ज्यानै लिन पनि सक्छ।’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर प्रकाशराज रेग्मीका अनुसार, गर्मीले शरीरमा प्रत्यक्ष असर पर्छ। ‘यो समय धेरै पसिना आउँछ। शरीरबाट पसिनाकोसाथ पानी र नुन बाहिर निस्कन्छ,’ डा. रेग्मी भन्छन, ‘यस्तो बेला जो कोहीलाई पनि जलवियोजन (डिहाइड्रेसन)हुन्छ। जलवियोजन भएको बेला रक्तचाप घट्छ। कमजोर महसुस हुन्छ।’

मुटु, मधुमेह, मिर्गौलालगायतका दीर्घरोगविरुद्ध औषधि सेवन गरिरहेका बिरामीहरूलाई जलवियोजन हुँदा शरीरमा झन् नकारात्मक असर पर्छ।, ‘तराईको तातो हावा (लु) शरीरमा पर्‍यो भने शरीरको तापक्रम बढ्छ। धेरै तातो अवस्थामा शरीरबाट पसिना निस्कन पनि छोड्छ। शरीरको बढेको तापक्रमलाई प्रतिरक्षा गर्ने संयन्त्र नै फेल खान्छ। काम गर्न सक्दैन। यसलाई हिट स्ट्रोक भनिन्छ,’ डा. रेग्मी भन्छन्, ‘हिट स्ट्रोक हुँदा शरीर तात्छ। ज्वरो आउने हुन्छ। बेस्करी टाउको दुख्छ। विस्तारै बेहोस हुने हुन्छ। मृत्युसमेत हुन सक्छ। त्यसैले लु चल्दा बाहिर निस्कनु हुँदैन।’

घाममा बाहिर हिँडिरहेको बेला मस्तिष्कघातसमेत हुन सक्ने चिकित्सकहरू बताउँछन्। ‘गर्मीको बेला बाहिर निस्कनु उचित हुँदैन। रिंगटा (चक्कर) लागेर सडकमा लड्ने जोखिम हुन्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम भन्छन्, (लु) ले जीउमा नराम्रो असर गर्छ। मस्तिष्कदेखि शरीरका विभिन्न अंगमा प्रतिकूल असर पुर्‍याउँछ। ज्यानैसमेत लिन सक्छ।’ 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले गर्मीमा लामखुट्टेको टोकाइबाट समेत जोगिन सुझाए। ‘गर्मीमा ‘लु’ बाट जोगिनु पर्‍यो। लामखुट्टेको टोकाइबाट डेंगुसमेत लाग्न सक्छ,’ उनले भने, ‘गर्मीबाट जोगिन प्रशस्त पानी पिउनु पर्‍यो। लामखुट्टेबाट जोगिन राती झुलको प्रयोग गर्नुपर्छ।’

पोसाकमा ध्यान दिउँ

गर्मीको बेला हाफ कमिज वा हाफ पाइन्टभन्दा पूरा बाहुला भएको कमिज तथा पूरा पाइन्ट लगाउन चिकित्सकहरू सुझाउँछन्। घरबाहिर निस्कँदा छाता ओढ्न, टोपी, पूरा बाहुला भएको कपडा लगाउन चिकित्सकहरू सुझाव दिन्छन्। 

वरिष्ठ छाला रोग विशेषज्ञ डा. रीता श्रेष्ठका अनुसार, बाहिरको गर्मीले छालालाई प्रत्यक्ष असर पार्छ। ‘घामको प्रत्यक्ष असरले अनुहारमा पोतो आउँछ। घमौरा, एजर्लीले समेत सताउँछ।’ डा. श्रेष्ठले भनिन्, ‘बाहिर निस्कँदा छाता ओढ्ने र सनस्क्रिन क्रिम लगाएर छाला जोगाउन सकिन्छ।’

तातोपनबाट शरीर जोगाउँ

गर्मीको समयमा चिसो पेय पदार्थ लिँदा पनि शरीरमा चिनीको मात्रा प्रवेश हुने चिकित्सकहरू बताउँछन्। ‘बाहिर खरिद गरिने चिसो पेय पदार्थ खाँदा एकै छिन चिसो महसुस भए पनि झन् बेफाइदा गर्छ,’ डा. रेग्मीले भने,‘ चर्को घाम र घामबाट उत्पन्न तातोपनबाट शरीरलाई बचाउनुपर्छ।’ 

पानी पर्याप्त पिउँ

जलवियोजनबाट जोगिन प्रशस्त मात्रामा पानी पिउनु पर्ने चिकित्सकहरूको सुझाव छ। दिनमा चारदेखि पाँच लिटर पानी पिउन डा. रेग्मीको सुझाव छ। ‘पिसाब सङ्लो आउने गरी पानी पिउनुपर्छ,’ उनले भने, ‘नुन, कागति हालेर सर्बत पानी पिउँदा फाइदा हुन्छ। मोही वा लस्सी खाँदा पनि फाइदा हुन्छ।’ समय अनुकूलका रसिला फलफूल सेवन गर्न डा. रेग्मीले सुझाव दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.