माओवादीमा किन उठ्यो हिन्दु राष्ट्रको मुद्दा

धर्म निरपेक्षताको परीक्षण जनताबाट किन नगराउने ?

माओवादीमा किन उठ्यो हिन्दु राष्ट्रको मुद्दा
तस्बिर : अशोक दुलाल

हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताबारे जनमत संग्रहको माग गर्दै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउनुको कारण के हो ? 

हाम्रो संविधानका चार पिलर छन्। गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र धर्म निरपेक्षता। यिमध्ये धर्मनिरक्षताबारे जनमानसमा भ्रम सिर्जना गरिएको छ। विशेष गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मार्फत जनतामा यो विषय लगिएको छ। धर्मनिरपेक्षता नेपाली जनताको आन्दोलनको एजेण्डा थिएन। विदेशीहरूले ठूला नेतामा लगानी गरेर रातारात धर्मनिरपेक्षता घोषणा गर्न लगाए भन्ने भ्रम नागरिकमा फैलाइएको छ। यही भ्रमको खेति गरेर केही पार्टीहरू पनि फष्टाइरहेका छन्। धर्म निरपेक्षतावादी ९९ प्रतिशत शक्तिले संविधानसभाबाट संविधान जारी गरेको थियो।

अहिले धर्मनिरपेक्षताबारे भ्रम सिर्जना गरिँदैछ। त्यसकारण हामी धर्मनिरेपक्षतावादी शक्तिले जनतामा त्यसको परीक्षण किन नगर्ने ? यो विषयलाई जनताको बीचमा लैजान किन डराउने ? भनेर यो विषय उठाएको हुँ। नेपालीहरू हजारौं वर्षदेखि त्यही हिन्दु धर्म, संस्कृति, रितिरिवाज, परम्परामा हुर्केबढेका हुन्। अर्कोतिर हिन्दु राष्ट्र वा धर्मनिरपेक्षबारेको एजेण्डा हाम्रो समाजमा जिवितै छ। यसलाई पार्टी र जनताबाट निरन्तर उठाउने पनि गरिएको छ। त्यसकारण संविधान जारी गर्ने मूल पार्टीहरूले समयमै जनतामा लगेर यो विषयको छिनोफानो गरे भने दुधको दुध, पानीको पानी छुट्टिन्छ।

यसमा प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो रह्यो ? 

प्रधानमन्त्रीले ज्ञापनपत्रलाई राम्रो ढंगले लिनुभएको छ। मैले उठाएका १८ वटा एजेण्डामध्ये १७ वटा मुद्दालाई सही र जायज लागेको बताउनुभयो। हिन्दु राष्ट्र वा र धर्मनिरपेक्षताबारे जनमत संग्रहको विषयलाई उहाँले अहिलेको समयानुकुल नरहेको भन्दै असहमति जनाउनुभयो। उहाँले जनताको जनजीविकाको विषयलाई बजेटबाटै सम्बोधन गर्ने आश्वासन दिनुभयो। केही विषय ग्राउण्डबाट छलफल गरेर सम्बोधन गर्न सकिन्छ भन्नुभयो।

हिन्दु राष्ट्र वा धर्म निरपेक्षताको एजेण्डा माओवादीको नीतिविपरित हो। तपाईंले उठाउनुभएको विषयमा पार्टीमा छलफल हुन्छ ? 

मैले औपचारिक रुपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई ज्ञापन पत्र दिइसकेपछि त्यो भन्दा ‘सुप्रिम बडि’ अरु त कुनै छैन। उहाँ नै सर्वोच्च व्यक्ति हुनुहुन्छ। त्यसकारण यो विषय पार्टीमा दर्ज भइसकेको छ। केन्द्रीय समितिको बैठकमा पनि अब यो विषय उठ्छ। 

धर्मलाई कम्युनिष्टहरूले अफिमको संज्ञा दिने गर्छन्। यो विषय उठाउँदा पार्टीले कारबाही गर्ला नि ? 
म धर्म निरपेक्षताको पक्षधर हुँ। म पार्टीको लाइनमै छु। तर, लोकतन्त्रमा कुनै पार्टी वा जनताबाट कुनै विषय उठान हुन्छ भने त्यो विषयको रणनीतिक र बहुआयामिक महत्व हुन्छ। त्यो समस्याको समाधान र परीक्षण नगर्दा भविष्यमा ठूलै खतरा ल्याउँछ। त्यसबाट देश र जनतालाई सुरक्षित राख्नुपर्छ।

  • गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र धर्म निरपेक्षता नोपलको संविधान २०७२ का चार पिलर छन्। यिमध्ये धर्मनिरक्षताबारे विशेष गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनमानसमा भ्रम सिर्जना गरिएको छ। 
  • हामी धर्मनिरेपक्षतावादी शक्तिले जनतामा त्यसको परीक्षण किन नगर्ने ? यो विषयलाई जनताको बीचमा लैजान किन डराउने ? भनेर यो विषय उठाएको हुँ।
  • हिन्दु राष्ट्र वा धर्मनिरपेक्षबारेको एजेण्डा हाम्रो समाजमा अहिले पनि जिवितै छ। संविधान जारी गर्ने मूल पार्टीहरूले यो विषयको छिनोफानो गरे भने दुधको दुध, पानीको पानी छुट्याउन जरुरी छ।
  • नयाँ पार्टीप्रति जनताको जुन समर्थन बढेको छ, त्यो हिन्दु राष्ट्रको मुद्दाले होइन। पुराना पार्टीहरूले सुशासन, विकास र जनतालाई सेवा दिन नसकेर हो।
  • धर्मनिरपेक्षता ठीक छ भन्ने बनाउनु पर्छ। लोकतन्त्रमा पार्टी र नेताहरू जनताबाट डराउनु हुँदैन। 
  • शान्त, समृद्ध र दीर्घकालसम्म नेपाललाई उज्जवल भविष्यतिर लाने हो जनता वा पार्टीबाट उठाएको मेजर विषयलाई हल गर्नु पर्छ। नत्र प्राप्त उपलब्धि र परिवर्तनको विरुद्धमा जनता जान सक्छन्। 
  • नेपाललाई केन्द्रबिन्दु बनाएर धेरै देशहरूले चलखेल गरिरहेका छन् नेपाली जनता के चाहन्छौं ? त्यो हाम्रो कुरो हो। हामी विदेशीको दबाब, आदेश र योजनामा पर्नु हुँदैन।

देशमा शान्तिको वातावरण निर्माण गर्न, हिंसात्मक गतिविधि हुन नदिनका लागि त्यस्ता विषयहरूलाई जनताको बीचमा परीक्षण गर्दा केही विग्रन्छ भन्ने मलाई लाग्दैन। शरीरको कुनै एउटा अंगमा क्यान्सर लाग्यो र लामो समय हेलचेक्र्याईं गरेर उपचार गरिएन भने पूरै शरीरमै क्यान्सर लाग्न सक्छ। समयमा उपचार गरियो भने बेलैमा शरीर स्वस्थ हुन्छ।

धर्मनिरपेक्षताबारे फैलाएको भ्रमले उथलपुथल नै पारेको छ ? 
प्रमुख पार्टीहरूको सीट संख्याको ग्राफ खस्केको छ। नयाँ पार्टीहरूको उदय भइरहेको छ। चाहे त्यो रास्वपा होस् वा जनमत पार्टी होस्। चाहे नागरिक उन्मुक्ति पार्टी होस् वा राप्रपा पार्टी किन नहोस्। यि पार्टीहरू अप्रत्याशित प्रकारले अगाडि आएका छन्। यि पार्टीहरूले हिन्दु राष्ट्रको एजेण्डा जनतामा लगेका कारण पनि संसदमा सिट संख्या बढाएका हुन् जस्तो लाग्छ। तर, यो मात्रै मूल कारण त होइन। 

पुराना पार्टीहरू कमजोर बन्दै जानुको कारण के हो ? 
पुराना पार्टीहरूले पटक–पटक सरकार सञ्चालन गरे। तर, तिनीहरूले सुशासन, विकास र जनतालाई सेवा दिन सकेनन्। भ्रष्टाचार महामारीको रुपमा फैलियो। भ्रष्टाचारमा देश चुर्लुम्मै डुबेको छ। रोजगारीको अवस्था वेहाल छ। यो वर्ष मात्रै ६६ अर्ब रुपैयाँ विदेश पढ्न जाने विद्यार्थीसँगै विदेसियो। ६ लाख युवा श्रमका लागि विदेश गएका छन्। यो सबै कुशासनले गर्दा भएको हो। जनताको समस्याप्रति सरकार र प्रमुख पार्टीहरू गम्भीर छैनन्।

यसकारणले पुराना दलहरूको विपक्षमा मतदाताले मतदान गरे। तर, अहिले मत पाएर संसद् पस्ने पार्टीहरूले हिन्दु राष्ट्रको मुद्दाले मत पायोे भन्ने ठानेका छन्। नयाँ पार्टीप्रति जनताको जुन समर्थन बढेको छ, त्यो हिन्दु राष्ट्रको मुद्दाले होइन। तर, ती पार्टीले भ्रम छरेर मतलाई भजाउने काम गरिरहेका छन्।

हिन्दुराष्ट्र वा धर्मनिरपेक्षताका विषयमा जनमत संग्रह गरायो भने संविधान नै धरापमा पर्दैन र ? 

०४७ सालको संविधान संशोधन नै भएन। त्यो संविधान पूर्णरुपमा समाप्त भयो। नयाँ संविधानमा स्पष्ट रुपमा लेखिएको छ, राष्ट्रिय एकता, सारभौमिकता, अखण्डता बाहेक संविधानका सवै प्रावधान संसोधन वा जनमत संग्रहमार्फत हेरफेर गर्न सकिन्छ। संविधानले नेपाली जनताको हातमा सार्वभौमसत्ता सुम्पिएको छ। संसोधन र जनमत संग्रहको प्रावधान भएकोले यो संविधान शक्तिशाली छ। null

राप्रपाजस्ता पार्टी र लाखौं जनताले हिन्दुराज्यको विषयमा आवाज उठाइरहेका छन्। उनीहरूले संविधानको अरु कुरा ठीक छन, तर धर्मनिरपेक्षता लादियो, विदेशीको इशारामा ल्याइयो भनिरहेका छन्। यो भ्रम चिर्न धर्मनिरपेक्षतावादीहरूले जनताको बीचमा यस विषयको परीक्षण गराउनुपर्छ। र, धर्मनिरपेक्षता ठीक छ भन्ने बनाउनु पर्छ। लोकतन्त्रमा पार्टी र नेताहरू जनताबाट डराउनु हुँदैन। 

राजनीतिक फाइदाका लागि तपाईंले हिन्दु राष्ट्र वा धर्मनिरपेक्षताको मुद्दा उठाउनुभएको आरोप छ नि ? 

यो सही होइन। नेपालमा ८० प्रतिशत नागरिक हिन्दु र त्यस सम्प्रदायसँग जोडिएका छन्। नेतृत्व गर्नेहरूले बुझ्नु पर्छ कि सबैभन्दा बढी जनसंख्या यहाँ हिन्दुको छ। यहाँका सबै पार्टीहरूमा उनीहरू छन्। पार्टीहरूको विचार, दर्शन, राजनीतिक संस्कार, संस्कृतिबाट प्रेरित भएकोले नै ९० प्रतिशतले संविधान सभाबाट धर्मनिरपेक्षतासहित संविधान जारी भयो।

राप्रपा जस्तो पार्टीले हिन्दु राष्ट्रकोे प्रश्न तेस्र्याएर राजनीति गरिरहेको छ। त्यसबाट हामी धर्म निरपेक्षता पक्षधर तर्सिरहेका छौं। हामी प्रगतिशिल छौं, तर्सिएर भाग्नु पर्ने मैले कुनै कारण देख्दिनँ। हामीले यो देश बनाउने हो। शान्त, समृद्ध र दीर्घकालसम्म नेपाललाई उज्जवल भविष्यतिर लाने हो भने नेपाली जनता वा पार्टीबाट उठाएको मेजर विषयलाई हल गर्नु पर्छ। नत्र प्राप्त उपलब्धि र परिवर्तनको विरुद्धमा जनता जान सक्छन्। 

हिन्दुराष्ट्रको आवरणमा राजसंस्था फर्काउने षडयन्त्र भइरहेको आरोप छ नि ? 
हामी राजाका बारेमा कुनै कल्पना गर्दैनौं। राजतन्त्रको नेतृत्वमा देश अगाडि बढ्न नसकेको इतिहास साक्षी छ। राजतन्त्रले लोकतन्त्रलाई पनि हत्या गर्‍यो। पहिलाको प्रगति र अहिलेको प्रगतिमा आकाश–पातालको फरक छ। बिदाइ गरेको राजतन्त्र नेपाली जनताले फर्काउँदैनन्।

हिन्दुराष्ट्र कायम गर्न भारतीय जनता पार्टी सम्बद्ध धार्मिक समूहले नेपालमा लगानी गरिरहेको भन्ने अमेरिकाले प्रतिवेदन नै सार्वजनिक गर्‍यो।तपाईंले पनि यही बेला नै हिन्दु राष्ट्रबारे जमनत संग्रहको माग गर्नुभयो नि ? 

यो संयोग मात्रै हो। अमेरिकी विदेश मन्त्रीले त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नुभयो। त्यो प्रतिवेदन मानवअधिकारको हित विपरित छ। कुनै पनि देशको कुनै पनि नागरिकले कुन धर्म मान्छ, कुन परम्परा मान्छ ? कुन रीतिरिवाज मान्छ ? कुन पोशाक लगाउँछ ? त्यो कुरो उसको सार्वभौम अधिकार हो।

त्यस कारणले हिन्दु धर्म मान्नेहरूले भारतबाट पैसा लिएर नेपालमा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्छन् भनिरहँदा क्रिश्चियन मान्नेहरूको हकमा के होला ? धर्म निरपेक्षताको हकमा कुरा गर्नेहरू के होला ? अमेरिका जस्तो प्रजातन्त्रवादी देशले एउटा कुनै देशको नागरिकको आत्मनिर्णयको अधिकार, मानवअधिकारमाथि प्रहार गरेको जस्तो लाग्यो। भारतले यो विषयको खण्डन पनि गरेको छ। अमेरिकाले निकालेको प्रतिवेदनकोे कुनै तुक छैन। हिन्दुवादीहरूले पनि त धर्म निरपेक्षता अमेरिका, युरोपले नेपालमा ल्याइदिएको हो भन्ला नि। तर, त्यो साँचो होइन। 

भारतको इशारामा हिन्दु राष्ट्र वा धर्म निरपेक्षताका विषयमा जनमत संग्रहको एजेण्डा उठाउनुभयो भन्ने आरोप त लाग्यो नि? 

शंका उपशंका त गर्न पाइन्छ। सत्य पनि झुट जस्तै लाग्छ। म नै यस्तो व्यक्ति छु भारतको नेपाल स्थित दूतावाससँग लामो संघर्ष गरेको छु। दूतावास नगएको १० वर्ष भयो। यो विषय कुनै प्रायोजित, कसैको इशारामा गरिएको होइन। सुशासन, समृद्धि र देशका जल्दाबल्दा एजेण्डामा म केन्द्रीत छु। अयोग्यता, भ्रष्टचारजन्य क्रियाकलापका कारण, परिवारवाद, सेवासुविधामा मूल पार्टीहरू फसेका कारण प्रमुख दलबिरुद्ध जनमत बन्दै गएको छ। त्यही जनमतभित्र हिन्दु राष्ट्रको विषय उठाएर राजनीति भइरहेको छ। यो विषयलाई बढावा दिइरहेको समयमा हल गर्न सकिएन भने ठूला पार्टीले गल्ती गर्ने, साना पार्टीले यसैलाई प्रमुख विषय बनाएर संविधानको उपलब्धिलाई उल्ट्याई दिन सक्छन्। त्यसकारण यो विषयलाई जनतामा लिएर जनतामा जाने आँट पार्टीहरूले गर्नु पर्छ। जनताले जे भन्छन् त्यसलाई लोकतन्त्रमा मानेर जानु पर्छ। यो नै लोकतान्त्रिक आचरण र संस्कार हो। डराएर किन भाग्ने ? 

हिन्दुराज्यबारेको विवादले फेरि अर्को द्वन्द्व निम्त्याउँदैन र ? 

नेपाललाई केन्द्रबिन्दु बनाएर धेरै देशहरूले चलखेल गरिरहेका छन्। विज्ञान र प्रविधिको विकासले संसारलाई एउटा गाउँमा रुपान्तरण गरेको छ। हरेक देशले आफ्ना विचार, दर्शन विश्वको सबै देशमा लागु भएको चाहन्छन्। भारतको भाजपा हिन्दुवादी पार्टी हो। उसले चाहन्छ कि छिमेकी देश नेपाल पनि हिन्दु राष्ट्र होस।

चीनमा कम्युनिष्ट पार्टीले शासन गरिरहेको छ। उसले पनि संसारका सवै देश कम्युनिष्टको नेतृत्वमा पुगोस् भन्ने चाहना राख्ने नै भयो। नेपाली जनता के चाहन्छौं ? त्यो हाम्रो कुरो हो। हामी विदेशीको दबाब, आदेश र योजनामा पर्नु हुँदैन।

प्रस्तुति : राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.