छिमेकीसँग विवाद हुँदा हत्या
रौतहट : छिमेकीसँगको सामान्य विवादमा छुरा प्रहार हुँदा रौतहटमा एकजनाको ज्यान गएको छ। गौर नगरपालिका-७ सिसवा टोलका ३५ वर्षीय शेख कविरले छुरा प्रहार गर्दा उनका छिमेकी ५० वर्षीय यार महदम खानको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति करिव १० बजे दुवैबीच केही भनाभन हुँदा कविरले मृतक खानको पेटमा छुरा प्रहार गरेका प्रहरीले जनाएको छ। पेट र छातिमा गम्भीर चोट लागेका खानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरी टोली घटनास्थल पुग्दा अभियुक्त फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक विन्देश्वर यादवले बताएका छन्। हत्या आरोपी अभियुक्त मानसिक रोगी रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गौर नगरपालिकाका मेयर शम्भु साहले फरार अभियुक्तलाई तत्काल पक्राउ तथा घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।