वालिङले खुलायो ५ वटा वडामा जग्गा कित्ताकाट
स्याङ्जा : वालिङ नगरपालिकाले मंगलबारदेखि जग्गाका कित्ताकाट सुरु गरेको छ। नगरभित्रका १४ वडा मध्ये ५ वटा वडामा मात्र लागू हुनेगरी कित्ताकाट सुरु गरेको हो।
राष्ट्रिय भू-उपयोग ऐन २०७६ र नगरपालिकाको भू-उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्ड तथा आधारहरु, २०७९ अनुसार नगरपालिकाले जग्गाको बर्गिकरण गरसँगै आंशिक कित्ताकाट सुरु गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।
उनले भने, ‘लामो समयदेखि जग्गाको कित्ताकाट रोकिदा अंशबण्डालगायत कारोबारसहित ब्यवसायमा समेत समस्या परेको थियो।’
नगरपालिका भित्रका ५ वटा वडाहरुमा कित्ताकाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जारी गरेको सूचनामा उल्लेख छ। नगरपालिकाका वडा नं.६, ८, ९, १० र १३ मा कित्ताकाट सुरु भएको हो।
कित्ताकाट सुरु हुने वडाको जग्गा वर्गीकरण गरी सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाइसकिएको शर्माले जारी गरेको सूचनामा उल्लेख छ।