लम्पीबाट गाई जोगाउन खोप अभियान

लम्पीबाट गाई जोगाउन खोप अभियान
सुन्नुहोस्

जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको जनाइएको छ। दुई महिनामा इलाममा दुई सयभन्दा बढी गाई मरेका छन्।

इलाम : इलाम नगरपालिकाले गाईमा देखिएको लम्पी स्कीन रोगविरुद्ध सुरु गरेको खोप अभियानबाट मंगलबारसम्म ४ हजार ९ सय पशुचौपायाले उपचार पाएका छन्। जनप्रतिनिधिको एक महिनाको सेवासुविधा कटाएर यो अभियान चलाइएको हो। 

पशुसेवा विभागबाट स्वीकृति लिई जोर्डनबाट आयात गरिएको खोप लम्पी सिल्ड एन लगाउन प्राविधिकहरू कृषकका घर–घरमा पुगिरहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताए। विज्ञसँगको छलफलपछि विभागको स्विकृति लिएर उपलब्ध गराएको खोप अभियानपछि कृषकले राहत महसुस गरेको मेयर थापाको भनाइ छ। 

नगरपालिकाले औषधि र खोपमा १८ लाख ६३ हजार खर्च गरिसकेको जनाइएको छ। नगरले पहिलो चरणमा ७ हजार २ सय ७५ पशुमा खोप लगाउने थापाले बताए। उनले भने, ‘गम्भीर अध्ययनपछि खोप अभियान शुरु गरेका छांै। भ्रममा नपर्न कृषकहरूलाई अनुरोध गर्दछौ।’ इलाम नगरपालिकामा मंगलबारसम्ममा ६२ पशु लम्पीका कारण मरेका छन्।

छिमेकी नगरपालिकाले खोप अभियान चलाइरहँदा सूर्योदय नगरपालिकाले भने रोगि पशुको उपचार नै प्रभावकारी हुने भन्दै तत्काल खोप नलगाउने जनाएको छ। जहाँ ७५ भन्दा बढी गाई मरिसकेका छन्। सूर्योदयका मेयर रणबहादुर राईले खोपबारे प्रदेश सरकार, संघीय सरकार र विज्ञहरूबाट आधिकारिक धारणा नआएकाले यससम्बन्धी अभियान सञ्चालन नगरेको बताए। 

उनले हालसम्म ३ हजार ५ सय रोगी गाईको उपचार गर्दा १५ लाखभन्दा बढीको औषधि कृषकलाई वितरण गरेको बताए। विश्व खाद्य संगठन (एफएओ)ले लम्पीविरुद्धको खोप लम्पी नियन्त्रणका लागि प्रभावकारी हुने जनाएको छ। एफएओको पछिल्लो रिर्पाटमा भनिएको छ, ‘रोगको फैलावट रोक्ने प्रभावकारी उपायनै खोप हो।’

दुग्ध उत्पादनका लागि कोसी प्रदेशकै अगुवा जिल्लाको रुपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्यु बढेपछि इलाम नगरपालिकाले नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको मेयर थापाले बताए। 

वैशाख २० गते मेयर केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो। 

इलाम नगरपालिका १० गोदकका अध्यक्ष ओमनाथ प्रधानका अनुसार नगरका १२ वडामा सरकारी र निजी पशु प्राविधिकलाई खटाएर अभियान सुरु गरिएको हो। इलाम नगरपालिकाको गोदक, सोयाक, साङ्रुम्बा, बरबोटे, साखेजुङ, भज्याङ, तिल्नेकनीलगायत सबै वडामा रोगको प्रकोप देखिएको छ। 

रत्नकुमार वान्तवा प्राविधिक शिक्षालयका डा. सन्देश पौडेलले स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्व खाद्य संगठन (एफएओ)बाट समेत प्रमाणीत भएको बताए। एफएओले खोपले काम गर्न तीन महिना लाग्ने जनाएको छ। 

जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको जनाइएको छ। दुई महिनामा इलाममा दुई सयभन्दा बढी गाई मरेका छन्। जिल्लाभर ७ हजार ९ सय ४० पशु संक्रमित छन्। झापामा १ सय ५० गाई मरेका छन् भने ४ हजार ५ सय ८५ संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.