अखबारको रखवार
अनलाइनको भोक बढेको छ। सामाजिक सञ्जाल छन्। झुटा समाचारको बाढी छ। लौरो टेक्नु पर्नेमा ढोड टेकिँदैछ। जिम्मेवार समाचार माध्यमको खाँचो छ।
कोभिडकाल अखबारहरूका लागि परीक्षणकाल बनेर आयो। धेरै प्रकाशन बन्द भए, कैयौंको जागिर गयो।
तपाईंले पढिरहेका यी हरफ एउटा अखबारकै कारण यहाँ छन्। अखबार अरू विषयमा लेख्दालेख्दै आफ्नाबारे लेख्न बिर्सन्छन्। भनौं न अखबारकै समाचार एकदम कम लेख्छन्। अखबार खबर पस्कन्छन्, सञ्चो बिसञ्चो जे भए पनि। आमपाठकले पत्रिकाको खबर चाहिँ के छ भनेर जान्ने इच्छा देखाउनुपर्छ। सुन्न चाहनुहुन्छ त, अखबार, खबरपत्रिका वा अनलाइनको खबर के छ भनेर ?
अमेरिकी खबरपत्रिका टाइम (न्युज—म्यागाजिन)ले मार्च ३ मा एक सय वर्ष पूरा गर्यो भने अर्को खबरपत्रिका न्युजविकले फेब्रुअरी १७ मा ९० वर्ष पूरा गर्यो। द इकोनोमिस्ट आउँदो सेप्टेम्बरमा १ सय ८० वर्ष पूरा गर्दैछ। टाइमले एक सय वर्ष पुगेको खुसीयालीमा टाइम डट कमका सबै सामग्री संसारभरका पाठकले जुन १, २०२३ देखि निःशुल्क पढ्न दिनेछ। यी त भए, सुखद खबर। उता बजफिडले अप्रिल २० मा १५ प्रतिशत कर्मचारी कटौतीसँगै समाचार शाखा बन्द गर्ने घोषणा गरेको छ। मार्च २७ मा नेसनल पब्लिक रेडियो (एनपीआर) ले आफ्नो सन् २००८ पछिको सबैभन्दा ठूलो कर्मचारी कटौती (१० प्रतिशत) सँगै चारवटा पडकास्ट बन्द गर्यो। यो दुःखद् खबर। हो, पछिल्ला वर्षहरूमा समाचार पस्कने यी माध्यम थोरै भए आममाध्यममा समाचार बन्दै आएका छन्। पत्रिकाका सुखका खबर छन्, दुःखका खबर पनि।
दुःखका खबरको ओइरो कोभिडकालमा थियो। कोभिडकाल अखबारहरूका लागि परीक्षणकाल बनेर आयो। लम्बिएको संकटकाल र घट्दो विज्ञापनका कारण प्रकाशन, वितरण आदि लगायतका शाखामा नेपाली अखबार र खबरपत्रिकामा ठूलै तरंग आयो। समाचार लेखिएनन्, पत्रिका छापिएनन्, बाँडिएनन्, धेरै प्रकाशन बन्द भए, कयौंको जागिर गयो, सञ्चारगृहहरूमा सधैंका लागि ताला लाग्यो। यो तरंग संसारभर देखियो।
कोभिडलाई मात्र दोष दिने ठाउँ छैन। सन् २०२२ जुन २९ का दिन अमेरिकामा प्रकाशित पेनी एबरन्याथीको रिपोर्टको पाँचौं संस्करणले भनेको छ, ‘सन् २०१९ पछि अमेरिकामा ३ सय ६० वटा पत्रिका बन्द भए, ती पनि धेरै त साप्ताहिक रहे। जसमा सय ठूला दैनिक थिए, त्यसमध्ये ४० ले त सातै दिन निकाल्न पनि बन्द गरे।’ ‘द स्टेट अफ लोकल न्युज २०२२’ को प्रतिवेदनमा छ, पत्रिकाको रोजगारी सन् २००६ मा ३ लाख ६५ हजार ४ सय ६० बाट घटेर सन् २०२१ मा १ लाख ४ हजार ९ सय २० भएको छ। यसले गरिब तथा दुर्गम समुदायमा ‘समाचार मरुभूमिहरू’ सिर्जना गर्दैछ। पत्रिका नै पढ्न चाहनेको इच्छा मार्दैछ।
‘सञ्चार महामारी’ नामक पूर्वी अफ्रिकाको पत्रकारिता समीक्षा भन्छ– कोभिडकै बेला केन्यामा सन् २०२० को अगस्तसम्ममा तीन सय जनाले समाचारकक्षको जागिर गुमाए। जुन, जुलाईमा मात्र १ सय ४१ पत्रकारको जागिर गयो। २०१९ को मे नपुग्दै अस्ट्रेलियाका १ सय ५७ समाचारकक्ष अस्थायी वा स्थायी रूपमा बन्द भए। सन् २०२० मार्चमा अस्ट्रेलियन एसोसिएटेड प्रेसले दुई सय पत्रकार र एक सय फोटोपत्रकारलाई कटौती गर्यो। अमेरिकामा महामारीले सय बढी समाचारकक्ष बन्द गरिए (सय वर्ष पुराना पनि)। कोभिडका समयमा अमेरिकी सञ्चारगृहहरूले ३७ हजार कर्मचारी कटौती गरे। कोभिडकालमा विद्युतीय ग्राहक भने धेरै पत्रिकाका बढे। इटलीमा यस्तो अनुभव गरियो– विज्ञान (मूलतः स्वास्थ्य) माथि लेखिएका समाचार, विचार पढ्ने पाठक पनि बढे।
अहिले कोभिडले पुर्याएको चोटमाथि यो आर्थिक मन्दी नुन छर्कंदै छ। मन्दीबाट बच्न सञ्चारमाध्यम अनेक उपाय अवलम्बन गर्दैछन्। त्यसमा मूलतः कर्मचारी कटौती नै मुख्य देखिन्छ। सन् २०२२ डिसेम्बरमा केन्याको सरकारले सम्भावित मन्दीका लागि सञ्चारगृहहरूसँग बैठक बोलायो। सञ्चारमाध्यम संकटमा पर्दा राज्य सरकार अग्रसर हुनुलाई सुखद मान्नुपर्छ। यो केन्याको कुरोमात्र होइन। सन् २००८ देखि त्यो आर्थिक संकटको असर पत्रिकामा थियो नै। सन् २००९ सेप्टेम्बर २४ को अमेरिकी कंग्रेसको संयुक्त आर्थिक समितिको बैठकमा सञ्चारमाध्यममाथि प्रतिवेदन पेस र छलफल भयो। सरकार आफैं यी माध्यमका रक्षार्थ अग्रसर भयो।
अमेरिकामा भने जनवरीमै वासिङ्टन पोस्टले समाचार कक्षका २० कर्मचारी कटौती गर्यो भने खुला गरिएका ३० जागिरमा कसैलाई लिएन। भक्स मिडियाले ७ प्रतिशत कटौती गर्दा १ सय ३३ जनाको जागिर गयो। यूएसए टुडेले एक वर्षमा दुई पटक कटौती गर्यो। साना र स्थानीय सञ्चार गृहहरूमा आँधी आउन थालेको छ। यसको सूची लामो बन्छ। कोभिडमा केबल, टीभी र रेडियोको महत्त्व बरु बढ्यो। अहिले पत्रिकालगायत अरू सञ्चारमाध्यमलाई केन्द्रमा राखेर विज्ञापनमा गुगलको एकाधिकारमाथि अमेरिकी सरकार अंकुश लगाउन चाहँदैछ।
अमेरिकामात्र होइन, विश्वका अन्य विकसित देशमा पत्रिका घट्दा छन्। आखिर यसको अन्त्य के भन्ने प्रश्न चाहिँ यथावतै छ। अमेरिकाको नर्थ क्यारोलाइना युनिभर्सिटीका प्राध्यापक फिलिप मायरले जीवनका करिब आधा समय पत्रपत्रिका उद्योगको अध्ययनमा बिताए। भनेका छन्– ‘पत्रपत्रिकाका पाठक यसरी नै घट्दै जाने हो भने संसारको अन्तिम पत्रिका सन् २०४४ अक्टोबरमा निस्कनेछ। त्यसपछि डाइनोसर।’ उनले यो अनुमान कोभिडकालभन्दा पहिले गरेका हुन्। कोभिडले पत्रिकाको युगको आयु घटाइदिएको छ। विश्वभर विज्ञापनको आय सन् २०१९ मा करिब ५० अर्ब डलरको थियो भने अहिले ३६ अर्बको भएको छ। वितरणको आम्दानी ५९ अर्ब डलरबाट घटेर ५० अर्बभन्दा थोरै बढी मात्र छ।
आशा इन्टरनेटतर्फ छ। अनलाइनको भोक बढेको छ। समाचार स्रोतका रूपमा इन्टरनेट अबको आधार बन्दै गएको छ। समाचार वा अन्य सामग्री पढ्न विद्युतीय ग्राहक बनाउने होड छ। हातहातमा मोबाइल छ। कोभिडकालमा कागजको ठाउँ स्क्रिनले लिने क्रम बढ्यो। त्यो घट्ने बाटोमा छैन। सामाजिक सञ्जाल छन्। यीसँगै झुटा समाचार (लेखन, श्रव्य, भिडियो) को बाढी छ। लौरो टेक्नुपर्नेमा ढोड टेकिँदैछ। ढोडहरूको भर छैन। जिम्मेवार समाचार माध्यमको खाँचो छ।