किन रोज्छन् गर्भपतन ?

किन रोज्छन् गर्भपतन ?

असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा समस्या त छँदैछ, आर्थिक र समयको पनि क्षति हुन्छ।

केही दिनदेखि छोरी मेनका सुस्त देखिन्छिन्। सायद उनलाई सञ्चो थिएन। बुवा दिलबहादुरले सोधखोज गर्दा ‘मिन्स् भएँ’मात्रै भनेकी थिइन्। कामबाट घर फर्किंदा छोरीलाई अचेत अवस्थामा लडेको देखेपछि दिलबहादुरको होस उड्यो। उनको लुगा, ओछ्यान रगतले भिजेको थियो।

‘मिन्स’ हुँदा यतिका रगत नजानुपर्ने दिलबहादुरले अनुमान गरे र ढिला नगरी अस्पताल पुर्‍याए। उनको अवस्था गम्भीर थियो। स्थानीय अस्पतालले ठूलो अस्पताल लैजान सल्लाह दिए। रगत दिन सक्ने सुविधासम्पन्न अस्पताल पुर्‍याउने क्रममा उनको मृत्यु भयो। जनगणना २०७८ को मातृमृत्यु प्रतिवेदनले गत वर्षमा २९ महिलाको गर्भपतनका कारण मृत्यु देखाएको छ। 

विश्व स्वास्थ्य संघको प्रतिवेदनअनुसार विकासोन्मुख देशहरूमा प्रत्येक वर्ष ७० लाख महिला असुरक्षित गर्भपतनका जटिलताहरूका कारण अस्पतालमा भर्ना हुनु परेको देखिन्छ। विकासोन्मुख देशहरूमा प्रतिएक लाख असुरक्षित गर्भपतनमा २ सय २० जनाको मृत्यु हुने गरेको छ भने विकसित देशहरूमा सो संख्या ३० मात्र रहेका संघको सो प्रतिवेदनमा छ। गर्भपतन रोज्नुपर्ने कारण सबैको एउटै हुन्छन् भन्ने छैन। अधिकांशले अनैतिक सम्पर्कले रहेको गर्भहरू गर्भपतन गराउँछन् भन्ने धारणा राख्ने गरेको पाइन्छ। तर वास्तविकता हुन्छ। धेरैजसो महिलाको शैक्षिक वा नोकरीमा बाधाहरू परेर, सन्तान पुगिसकेकाले, सन्तान ठूला भइसकेकाले, परिवार नियोजनका साधन प्रयोग गर्दागर्दै गर्भ रहेकाले तथा आर्थिक समस्याले महिला गर्भपतन रोज्छन्।

गैरवैवाहिक सम्बन्धबाट रहेको गर्भ, अविवाहितहरू तथा विधवा, श्रीमान् विदेशमा रहेको बेलाको गर्भ पनि गर्भपतन गराउनु पर्ने हुन्छन् तर त्यो न्यून छ। विश्व स्वास्थ्य संघको २०२० को तथ्यांकअनुसार हरेक वर्ष करिब ७ करोड ३३ लाख महिलाले गर्भपतन गर्छन्। अर्थात् एक हजार गर्भवतीमध्ये ३९ ले गर्भपतन रोज्नुपर्ने बाध्यता छ।

सबै गर्भपतनमा जटिलता आउने तथा महिलाको मृत्यु हुने सम्भावना हँुदैन। गर्भपतन गराउनु परे सुरक्षित गर्भपतन रोजे स्वास्थ्यमा कुनै नराम्रो असर हुँदैन। नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता २००२ मा पाए पनि सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सुरु भएको हो। २०६०÷६१ मा ७ सय १९ जनाले सुरक्षित गर्भपतन सेवा रोजेको देखियो। २०६४÷६५ देखि हरेक वर्ष औसत ९० हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांक छ। यतिका धेरै महिलाले सुरक्षित गर्भपतन रोज्दा एकको पनि मृत्यु नहुनुले यो सेवा कति सुरक्षित र भरपर्दो छ, स्पष्ट छ। गर्भपतन र सुरक्षित गर्भपतनमा धेरै फरक छ। सुरक्षित भन्नेबित्तिकै कानुनी मापदण्डभित्र अनुमति पाएका स्वास्थ्यकर्मी वा चिकित्सकले तोकिएको विधि र प्रक्रियाद्वारा दिइने गर्भपतन सेवा हो। सुरक्षित सेवा लिन सके महिलाको स्वास्थ्यमा जटिलता आउँदैन र अस्पताल भर्ना पनि हुनु पर्दैन।

गर्भपतनलाई प्रजनन अधिकारभित्र राख्दै ‘सुरक्षित गर्भपतन सेवा’ नेपालमा उपलब्ध छ। ‘सुरक्षित मातृत्व र प्रजनन अधिकार ऐन २०७५’ ऐनले १८ वर्ष पार गरेका महिलालाई आफ्नै मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने र विशेष अवस्थाहरूमा २८ हप्तासम्मको गर्भ पनि पतन गराउन पाउने अधिकार स्थापित गरेको छ। सुरक्षित गर्भपतन सेवाका लागि सेवा दिने स्वास्थ्य संस्था वा अस्पताल र सेवा दिने स्वास्थ्यकर्मी वा चिकित्सक ‘सूचीकृत’ हुनुपर्ने कानुनी प्रावधान छ।

नेपालमा औषधिले गरिने ‘एमए’ र भ्याकुमले गरिने ‘एमभीए’ दुवै तरिकाले गर्भपतन सेवा दिन पाउने व्यवस्था छ। नेपालमा सुरक्षित गर्भपतन सेवा पर्याप्त छैन पनि भन्न मिल्दैन। परिवार महाशाखाको पछिल्लो तथ्यांक अनुसार ७७ वटै जिल्लामा १ हजार १ सय २४ वटा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा ३ हजारभन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सकले सुरक्षित गर्भपतन सेवा दिइरहेका छन्। सरकारी स्वास्थ्य केन्द्रमा मात्र होइन, निजी क्लिनिक तथा स्वास्थ्य संस्थालाई पनि आवश्यक पूर्वाधार र जनशक्ति भएको अवस्थामा स्वीकृत दिने प्रावधान छ। २०७३ सालदेखि नेपाल सरकारका स्वास्थ्य संस्थाहरूमा गर्भपतन सेवा निःशुल्क गरिएको छ। निजी अस्पतालहरूमा पनि यो सेवाको शुल्क १२ सयदेखि ५ हजारसम्म देखिन्छ। यो सुविधा हँुदाहुँदै पनि सुरक्षित गर्भपतन रोज्नेहरूको संख्या ४८ प्रतिशत छ।

नेपालमा गर्भपतनलाई सुरक्षित बनाउन कानुनी मान्यता दिने, सेवा व्यवस्थित र भरपर्दो बनाउन तालिम र सेवा विस्तार गरिँदै आएको छ। तर पनि असुरक्षित गर्भपतनकै कारणले ५ प्रतिशत मातृमृत्यु भएको छ। आखिर किन सुरक्षित सेवालाई छाडेर असुरक्षित गर्भपतन रोज्ने गरेका छन् ? यसबारे धेरै अध्ययन छैनन्। नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्भे २०१६ का अनुसार अझै पनि ४१ प्रतिशत महिलामात्र गर्भपतनले कानुनी मान्यता पाएको र ४४ प्रतिशत महिलामात्र गर्भपतन कहाँ गरिन्छ। धेरै महिलालाई अझै सुरक्षित गर्भपतन सेवाबारे जानकारी छैन। त्यसैले अनिच्छुक गर्भ रहन गएमा महिला आत्तिन्छन्। जसको गलत फाइदा लिँदै स्वास्थ्यका बिचौलियाले असुरक्षित गर्भपतन गराउँछन्।

अर्कोतिर परिवार नियोजनका साधनमा जोड दिन सकिएको छैन। गाँस, बास र कपाससँगै ‘सहवास’ पनि मानवीयको आवश्यकता हो। असुरक्षित सहवासले गर्भ रहनु स्वाभाविक हो। नेपालमा ४३ प्रतिशत दम्पतीले मात्र सुरक्षित रूपमा आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन्। अधिकांश दम्पतीले परिवार नियोजनका साधन नरोज्ने अनि सन्तानको रहर पनि नगर्ने भएपछि गर्भपतन त हुनै नै भयो। नेपालमा ५२ प्रतिशत महिलाहरूले असुरक्षित गर्भपतन रोजेको पाइन्छ। असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा समस्या त छँदैछ, आर्थिक र समयको पनि क्षति हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.