सरकारको उपलब्धि : ‘भ्रष्टाचार र दिशाहीन’

सरकारको उपलब्धि : ‘भ्रष्टाचार र दिशाहीन’
फाइल तस्बिर।
सुन्नुहोस्

राप्रपा सांसद दीपकबहादुर सिंहले विदेशबाट आएको पैसाले नै सांसदहरूले तलब भत्ता खाएको बताएका छन्। उनले विदेशबाट पैसा नआएको भए सांसदहरूले पनि तलब भत्ता खान नपाउने दाबी गरे।

काठमाडौं : सरकारको सय दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको सांसदहरूले टिप्पणी गरेका छन्। एमाले सांसद रघुजी पन्त बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सरकारको सय दिन अन्योलसँगै दिशाहीन भएको बताएका हुन्। ‘सरकारको सय दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन,’ पन्तले भने। 

सरकारले उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे तापनि ती कुनै उल्लेखनीय काम नभएको उनको टिप्पणी थियो। ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन। यस्तो योजना तर्जुमा गरिएको छ। यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको काम नै उल्लेख छ।’ सय दिन हुँदासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको उपलब्धि कार्यक्रमहीन, सिद्धान्तहीन र नीतिहीन भएको उनले बताए। त्यस्तै, सांसद प्रेम सुवालले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्नुपर्ने बताए ।

त्यस्तै, राप्रपा सांसद दीपकबहादुर सिंहले विदेशबाट आएको पैसाले नै सांसदहरूले तलब भत्ता खाएको बताएका छन्। उनले विदेशबाट पैसा नआएको भए सांसदहरूले पनि तलब भत्ता खान नपाउने दाबी गरे। त्यतिमात्र होइन उनले देशलाई वैदेशिक रोजगारमा जानेहरूले नै श्रीलंका हुनबाट जोगाइरहेको पनि बताए। उनले भने, ‘आज ती भाइबहिनीहरूको सुरक्षाका लागि सरकारले के दिएको छ ? के गरेको छ ? सरकारले त्यो पक्षमा के सोचेको छ। सरकारले अयोग्य लडाकुलाई करोडौं बाँड्न थालेको छ। त्यो पैसा जो बाकसमा आएका छन्। त्यो परिवारलाई राहत बाँडे सरकारको जयजयकार हुन्थ्यो।’ सरकारले एक सय दिन कटाउँदासमेत केही गर्न नसकेपछि विरोध भएको बताए।

देशमा संस्थागत भ्रष्टाचार जरैसम्मप्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताए। विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्न फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताएका हुन्। देश बेथिति बढिरहेको भन्दै उनले गरीब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको दाबी गरे। 

‘समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? भ्रष्टाचार यसरी संस्थागत भएछ कि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ। अचम्मको छ एयरपोर्ट यताबाट लागूऔषध स्क्रिनमा देख्दैन । लागूऔषध कतार पुग्छ । भ्रष्टाचार यति संस्थागत भएछ कि गरिब चेपाङ कूपोषित बच्चाको दिवा खाजा लुट्छ, दिवा खाजामा भ्रष्टाचार छ,’ उनले भने।

त्यस्तै, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद् काम गर्ने थलो भएको सबै सांसदहरूलाई स्मरण गराएका छन्। बैठकमा सांसद दाहालले भने, ‘संसद् जनताको आवाज बुलन्द गर्ने थलो मात्रै होइन। संसद् जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो। कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ। हामीले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता हामीले पूरा गर्न सक्दैनौं।’ उनका अनुसार पुराना नीति, योजना र कार्यक्रम बजेटबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सकिन्न। 

देशमा देखिएको अर्थिक संकट आफ्नै आन्तरिक कमजोरी, व्यवस्थापन हामीले ठीक ढंगले गर्न नसक्दा पैदा भएको उनको भनाइ थियो । 

संसद्मा सभ्य र मर्यादित भाषा प्रयोग गर्न आग्रह 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् बैठकमा बोल्ने सांसदरूलाई सभ्य र मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्। बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सदनलाई मर्यादित ढंगले सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। त्यसपछि सभामुख घिमिरेले सांसदहरूलाई संसदीय मर्यादा ख्याल गर्न आग्रह गरेका हुन्।

उनले भने ‘सदनमा भनाइ राख्दा प्रतिनिधिसभा नियमावलीको नियम २१ तर्फ ध्यान आकृष्ट गर्न चाहन्छु। नियम २१ को खण्ड ‘घ’ लाई ध्यानमा राखेर अभिव्यक्ति दिनुहुन अनुरोध गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.