रुकुम पूर्वमा एकै घरका दुई बालिका मृत फेला
![रुकुम पूर्वमा एकै घरका दुई बालिका मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_mBey1HsC0S.jpg)
रुकुम पूर्व : रुकुम (पूर्व) जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका-३ को रन्मा गाउँमा एकै घरका दुई बालिका मृत फेला परेका छन्।
गाउँदेखि तल खरायोलाई सिस्नु र हरियो घाँस टिप्न जाँदा घर नफर्किएपछि खोजी गर्दा दुई बालिका मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ।
तारामान बुढा र ग्वारी बुढा दम्पतीको कोखबाट जन्मिएका दुई छोरीहरू रीना र कालीमाया बुढा मृत अवस्थामा भेटिएका हुन्। मृतक बालिका रिना ११ र कालिमाया ९ वर्षका हुन्।
रीना साइँली हुन् भने कालीमाया कान्छी छोरी हुन्। मृतक बालिकाहरूको कानमा लगाइएको सुनको गहना फुकालिएको अवस्थामा भेटिएको वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ ले बताए।
उनका अनुसार सिस्नु र हरिया झारपात टिप्दै गरेको ठाउँबाट करिब १ किलोमिटरको दूरीतर्फ घिसार्दै लगेर हत्या गरिएको जस्तो देखिन्छ।
स्थानीयका अनुसार घ्याउँ अर्जुँ भनिने ठाउँमा पत्ता लागेका लासहरू करिब ५० मिटरको फरकमा भेटिएका हुन्।
रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीलाई हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गरिएको वडाध्यक्ष बुढाले बताए। अपराधी पत्ता नलाग्दासम्म लास नबुझ्ने उनको भनाइ थियो।
घटना जानकारीमा आए लगत्तै जिल्ला प्रहरी कार्यालय रुकुमकोटबाट डीएसपी अञ्जना श्रेष्ठ सहितको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ। घटना बारे अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)