बालविवाह र गरिबीले बढायो कुपोषण

कलिलै उमेरमा विवाह, जन्मिँदै बालबालिका कुपोषित

कलिलै उमेरमा विवाह, जन्मिँदै बालबालिका कुपोषित
जाजरकोटको भेरी नगरपालिका–३ स्यालामा कुपोषणले ग्रस्त बालक स्याहार्दै आमा। तस्बिर : राजेन्द्र कार्की

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आर्थिक वर्ष २०७६/०७७ मा २७, आव २०७७/०७८ मा ३२, २०७८/०७९ मा १८ जना गरी ७७ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा सुत्केरी हुन नसकेर ८ जना गर्भवती महिलाको ज्यान गएको छ।

जाजरकोट :

  • भेरी नगरपालिका–३ का सुवास सुनार ३ वर्षका भए। उमेरअनुसार उनको तौल १४ किलो हुनुपर्ने हो। तर, उनी मात्रै ७ किलोका छन्। जन्मिदै कुपोषण भएका सुवास राम्रोसँग बोल्न पनि सक्दैनन्। यसकै कै कारण उनको शारीरिक र मानसिक विकासमा बाधा पुगेको जिल्ला अस्पताल जाजरकोटकी स्टाफ नर्स विष्णु शाह बताउँछिन्।
  • भेरी नगरपालिका–११ कट्टी गाउँका वेदराज बिक ५ वर्षका भए। यो उमेरमा तौल १८ किलो हुनुपर्ने हो। तर, उनको तौल जम्मा ८ किलो मात्रै छ। कडा खालको कुपोषणले ग्रस्त विकको आर्थिक अवस्था कमजोर भएका कारण परिवारका सदस्यले उपचारका गराउन सकेका छैनन्। 
  • जाजरकोटकै छेडागाड नगरपालिका–१२ पोखराकी १८ वर्षीया टीका सिंहले गत साउन ५ मा पहिलो बच्चा जन्माइन्। तर, जन्मेकै दिन शिशुको मृत्यु भयो। शिशुको तौल १३ सय ग्राम मात्रै थियो। कम तौल भएका कारण नवजात शिशु बाँच्न नसकेको कार्कीगाउँ स्वास्थ्यचौकीकी सिनियर अनमी जुना शाहीले बताइन्। कम उमेरमा नै जन्मदिँदा यसको असर बच्चामा पनि परेको उनको भनाइ छ।
  • गत भदौ ३० मा छेडागाड नगरपालिका–२ मझेरीकी २६ वर्षीया कल्पना खड्का सुत्केरी भइन्। खड्काको चौथो सन्तानका रूपमा जन्मिएको नवजात शिशुको तौल ११ सय ग्राम मात्रै थियो। कम तौल भएकै कारण तीन दिनपछि मृत्यु भयो। गर्भवती भएको बेलामा पोषिलो खानेकुरा नपाउँदा गर्भमै कुपोषण भएको र शीघ्र कुपोषणका कारण ज्यान गएको साल्मा स्वास्थ्यचौकीमा कार्यरत अहेव प्रेमबहादुर थापाले बताए। 

कर्णालीको जाजरकोटस्थित भेरी र छेडागाडमा कुपोषले पारेको असारको यी प्रतिनिधि उदाहरण मात्रै हुन्। विभिन्न तथ्यांकले जाजरकोटमा कुपोषित बालबालिका धेरै रहेको देखाएको छ। गरिबी र चेतनाको अभावमा पोषिलो खानेकुरा नपाउँदा गर्भमै कुपोषण हुने र कुपोषणका कारण कम तौल र पुड्कोपनालगायतका समस्या देखिने गरेका छन्। कतिपयकोे भने यसकै कारण ज्यानै गएको छ। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा १ वर्षमुनिका ४ हजार ७ सय ७४, दुई वर्षभित्रका ९ हजार पाँच सय २५ र पाँच वर्षमुनिका २३ हजार सात सय २४ बालबालिका छन्। दुई वर्षभित्रमा बालबालिकाको २४ पटकसम्म तौल लिनुपर्ने स्वास्थ्य मापदण्ड छ। तर, जाजरकोटमा त्यहाँका बालबालिकाको तीनपटक मात्र तौल लिने चलन छ। 

पर्याप्त तौल मापनको काम तथा जाँचको अभावमा परिवारका सदस्यले आफ्ना बालबालिका कुपोषित भएको थाहै पाउँदैनन्। जाजरकोटमा गत आर्थिक वर्षमा ६ सय ५९ कुपोषित बालबालिकाले शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रममा भर्ना भएर उपचार लिएका थिए। चालू आवमा गत साउनदेखि पुससम्म मध्यम खालको कुपोषणका एक सय ५२ र कडा कुपोषणका ८४ गरी दुई सय ३६ बालबालिकाले उपचार गराइरहेका छन्।

जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा नयाँ तौल लिएका दुई वर्षसम्मका नौ हजार एक सय २५ बालबालिकामध्ये ९ सय २१ जना पोषणको दृष्टिकोणले जोखिम तथा अति जोखिम अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ। स्वास्थ्य संस्थामा आएकाहरूको मात्र यो संख्याले धेरै बालबालिका तथ्यांकमा छुट्ने र कुपोषणको दर अझ धेरै रहेको हुनसक्ने जिल्ला अस्पतालका अधिकृत तथा स्वास्थ्यकर्मी गंगा रेग्मीले बताइन्। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा सुत्केरी भएका चार हजार पाँच सय ५३ मध्ये संस्थागत सुत्केरी हुने गर्भवतीको संख्या दुई हजार तीन सय ६७ मात्रै छ। स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरूका बालबालिकाको मात्र तौल लिइने गरेकाले घरमै सुत्केरी भएर छुटेका बालबालिकाहरूको तथ्यांक र उनीहरूको स्वास्थ्यको अवस्था एकिन जानकारी छैन। 

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आर्थिक वर्ष २०७६/०७७ मा २७, आव २०७७/०७८ मा ३२, २०७८/०७९ मा १८ जना गरी ७७ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा सुत्केरी हुन नसकेर ८ जना गर्भवती महिलाको ज्यान गएको छ। 

यस्तै चालू आवमा पाँच जना शिशुले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य संस्थामा नआएर घरमै सुत्केरी भएका र नवजात शिशुको मृत्यु भएकाहरूका बारेमा स्वास्थ्य संस्थामा जानकारी नआउँदा यो तथ्यांक अझ बढ्न सक्ने स्वास्थ्यकर्मी रेग्मीले बताइन्। गत आर्थिक वर्ष २०७८/७९ मा ९ जना नवजात शिशुको जन्मिसकेपछि मृत्यु भएको थियो भने १९ जना मृत शिशु जन्मिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटको तथ्यांक छ। चालू आवमा भने २० जना मृत शिशु जन्मिएको विवरण छ। यो तथ्यांकले मृत शिशु जन्मिने संख्या बढी रहेको देखाउँछ। शिशु मृत अवस्थामा जन्मिनुको धेरै कारणमध्ये कुपोषण प्रमुख कारण रहेको स्वास्थ्यकर्मीरेग्मीको भनाइ छ।

बालविवाह र गरिबीले बढायो कुपोषण

भेरी नगरपालिका–३ की २१ वर्षीया शिखा सुनार घरको डिलमा छोरा सुवासलाई काखमा राखेर बसिरहेकी थिइन्। उनी जन्मिदै कमजोर थिए। घरमै जन्मिएका उनको तौल कम थियो। तर, आमालाई के कारण यस्तो भएको हो केही थाहा थिएन। उनका छिमेकीले छोराको स्वास्थ्य अवस्था थाहा पाउन अस्पताल लैजान भने। त्यसपछि उनले गएको माघ २६ मा छोरालाई जाजरकोट अस्पताल लगिन्। त्यहाँ छोराको तौल ७ किलो र उचाइ ७३ सेन्टिमिटर मात्रै भएको थाहा भयो। null

अस्पतालका स्वास्थ्यकर्मीले बच्चाको तौल निकै कम भएकाले उनलाई पोषिला खानेकुरा खुवाउन सुझाए। तर, सम्पत्तिको नाममा एउटा सानो पाखोबारी मात्रै छ। बस्नका लागि जस्तापाता र खरले छाएको सानो झुपडी छ। त्यहीँ झुपडीमा उनको परिवार दुई छाक खानाका लागि संघर्ष गरिरहेको छ। यस्तो अवस्थामा उनका छोराले पोषिलो खानेकुरा पाउन सकस छ। छोरालाई सुम्सुम्याउँदै उनले भनिन्, ‘पोषिला खानेकुरा खाने र खुवाउने मन कसको पो हुँदैन र ? हामीलाई साँझ–बिहान पेटभरि खान त धौधौ छ। कसरी मिठोमसिनो र पोषिलो खानेकुरा खुवाउँ ?’ उनले श्रीमान्ले मजदुरी गरेर कमाएको पैसाले नुनतेल र दाल चामल किन्न मात्र ठिक्क हुने बताइन्। 

‘बाबु पेटमा भएका बेला कति माछामासु खाने मन लाग्थ्यो, तर हातमा पैसा हुँदैन थियो। केले खाने ?’ उनले पीडा सुनाइन्। उनको विवाह १७ वर्षकै उमेरमा भयो। अहिले पछुताउनुबाहेक अन्य केही विकल्प नभएको उनले दुखेसो पोखिन्। शीघ्र कुपोषित सुवासलाई अहिले अस्पतालले एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत तयारी अवस्थाको उपचारात्मक खाना (आरयूटीएफ) दिन थालेको छ। जन्मिदै कुपोषण भएका उनको ३ वर्षसम्म उपचार नपाएकै कारण शारीरिक र मानसिक समस्या देखिएको जिल्ला अस्पताल जाजरकोटकी स्टाफ नर्स विष्णु शाहले बताइन्। उनमा एकोहोरो टोलाइरहने, बोल्न नसक्ने, खान मन नलाग्नेजस्ता समस्या देखिएका छन्।

भेरी नगरपालिका–११ कट्टी गाउँका वेदराजका बुवा वीरबहादुर बिक मजदुरीका लागि भारत (कालापहाड) गएका छन्। घरमा आमा चन्द्रकला छोराछोरीलाई स्याहार्दै बसेकी छन्। १६ वर्षको उमेरमा विवाह गरेकी चन्द्रकलाका ८ वर्षकी छोरी र ५ वर्षका छोरा छन्। ५ वर्षको छोरा कुपोषणले ग्रस्त छन्। उनको तौल ८ किलो मात्रै छ। निकै दुब्लो पातलो देखिने वेदराजले घरको आर्थिक अभावकै कारण उपचार पाउन सकेका छैनन्। जन्मिदै कुपोषित वेदराज अहिले निकै कमजोर अवस्थाका थिए। ‘यसका बाबुले कालापाहाडबाट पैसा पठाइदिए दुई छाक टर्छ, नुन तेलको जोहो हुन्छ। नत्र अरू केही उपाय छैन’ चन्द्रकलाले भनिन्।

जिल्लाभरका २१ वटा स्वास्थ्य संस्थाबाट कुपोषित बालबालिकाको बहिरंग उपचार केन्द्रमार्फत उपचारको व्यवस्था मिलाइएको छ। तर, जगतिपुरमा कुपोषित बालबालिकाका लागि उपचारको व्यवस्था नभएको सिनियर अनमी निर्मता रावतले बताइन्। उनले वेदराजलाई नजिकको कुदु स्वास्थ्यचौकीमा लिएर उपचार गराउन सल्लाह दिएको बताइन्। यद्यपि, अहिलेसम्म कुपोषित ती बालकको उपचार गरिएको छैन। 
गर्भवती भएको बेलामा महिलाले पोसिलो खानेकुरा नपाउँदा त्यसको असर जन्मने बच्चामा पनि पर्छ। १२–१३ वर्षमा विवाह हुने र १६–१७ वर्षमा छोराछोरी पाउँदा पाठेघर राम्रोसँग धेरै विकास नभएकाले समस्या हुने गरेको जिल्ला अस्पताल जाजरकोटमा कार्यरत स्टाफ नर्स नेप्लिजा पुनले बताइन्। 

राष्ट्रिय जनगणना २०६८ अनुसार जाजरकोटमा विवाह गरेका सबै उमेर समूहका ७६ हजार ३ सय ३५ मध्ये ६५.३२ प्रतिशत अर्थात् ४९ हजार ८ सय ६२ जनाले १९ वर्ष नपुग्दै बिहे गर्ने गरेका छन्। यो तथ्यांकमा २०६८ सालको जनगणना गर्दा जिल्लाका सबै उमेर समूहका विवाहित व्यक्तिको विवरण समावेश गरिएको हो। यो तथ्यांकले पनि जिल्लामा बालविवाहको दर उच्च रहेको देखाउँछ।

नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन र १९ प्रतिशतमा कम तौलको समस्या छ। दिगो विकास लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्म पुड्कोपन १५, ख्याउटेपन ४ र न्यून तौल १० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। 

राजनीतिक एजेन्डा बनेन कुपोषण    

कर्णालीमै सबैभन्दा बढी पुड्कोपना ३६ प्रतिशत, ख्याउटेपना ८ प्रतिशत, कमतौल ३६ प्रतिशत र रक्त अल्पता ४८ प्रतिशतमा छ। दिगो विकास लक्ष्य हासिल गर्न यो प्रदेशले पनि सन् २०३० सम्म पुड्कोपन १५ प्रतिशतमा, ख्याउटेपन ४ प्रतिशतमा र न्यून तौल १० प्रतिशतमा झार्नुपर्छ। तर, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा ३४ प्रतिशतसम्म कुपोषित बालबालिका छन्। कुपोषणको समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले काम गरेर मात्रै नपुग्ने ठानेर सन् २०११ मा राष्ट्रिय योजना आयोगले बहुक्षेत्रीय पोषण योजना बनायो। यस योजनाले कुपोषण हुन नदिन खानेपानी तथा सरसफाइ, कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत सातवटा मन्त्रालयले थप काम गर्नुपर्ने ठान्यो। तर, यो कामले अझै अपेक्षित नतिजा दिन सकेको छैन। 

स्रोतको परिचालनमा सबै मन्त्रालय चुकेकाका कारण अपेक्षित नतिजा आउन नसकेको नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ। सरकारले सडक बनाउन धेरै बजेट विनियोजन गर्ने तर रोजगारमा आधारित पूर्वाधार विकासमा बजेट छुट्ट्याउन नसक्दा कुपोषणको समस्या समाधान हुन नसकेको उनको भनाइ छ। शाहले भने, ‘सरकारको ध्यान मन्दिर, टावर बनाउने र चुनावमा मत पाउन सडक बनाउनेमा मात्र छ। मानिसको हातमुख जोड्न के खुवाउने र कसरी रोजगार सिर्जना गर्ने भन्नेमा ध्यान छैन।’ अहिलेको अवस्थामा कुपोषण राष्ट्रिय समस्याको रूपमा भए पनि राजनीतिज्ञले यसलाई एजेन्डा नै नबनाएको उनको भनाइ छ। 

पोषण पुनस्र्थापना केन्द्र नहुँदा समस्या

जिल्लामा कुपोषणको समस्या उच्च रहेको र नयाँ तौल लिएका २ वर्षमुनिका शिशुहरूमध्ये जोखिम तथा अति जोखिम अवस्थाका बालबालिकाहरू एक हजारभन्दा बढी छन्। त्यसैले पोषण पुनस्र्थापना गृह स्थापनाका लागि स्वास्थ्य सेवा कार्यालय जाजरकोटले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा टेकुलाई आवश्यक बजेट तथा पहलका लागि आग्रह गरेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक नवराज कँडेलले बताउँछन्। जाजरकोटमा अहिलेसम्म पुनस्र्थापना केन्द्र छैन। त्यसैले भेरी करिडोरअन्तर्गत डोल्पा, रुकुम, सल्यान र सुर्खेतको पूर्वी भेगसमेत समेट्ने गरी अहिले ५० शय्याको अस्पताल सञ्चालन भइरहेको भवनमा केन्द्र स्थापना गर्न परिवार कल्याण महाशाखालाई आग्रह गरेको कँडेलले बताए। 

हाल सञ्चालन भइरहेको अस्पताल केही समयमा नयाँ भवनमा सर्दैछ। पोषण पुनस्र्थापना गृह स्थापनाका लागि कम्तीमा ५० लाख बजेट आवश्यक पर्ने उनले बताए। ‘जिल्लामा गरिबी र चेतनाको अभावमा कुपोषणको समस्या उच्च छ। त्यसैले पुनस्र्थापना केन्द्रको आवश्यकता रहेको छ,’ उनले भने। तत्कालीन जिल्ला विकास समिति जाजरकोटले २०७२ मा सार्वजनिक गरेको जिल्लाको वस्तुगत विवरण जिल्ला पाश्र्वचित्रमा ५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक छ। गरिबीकै कारण पोषिला खानेकुराको अभावमा गर्भमै कुपोषित हुने र जन्मिसकेपछि चाहिने आवश्यक शिशु स्याहारको अभावमा कुपोषित बालबालिकाहरूको संख्या धेरै रहेको कँडेलले बताए। ‘बालविवाह, बेरोजगारी, पर्याप्त मात्रामा कृषि उत्पादन नहुनुलगायतका कारण सन्तुलित आहार खान नपाउँदा कुपोषणको समस्या निम्तिरहेको छ’, उनले भने। 

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. औशरसिंह राठौरका अनुसार मानव मस्तिष्कको विकास गर्भावस्थामा ३० प्रतिशत, जीवनको पहिलो वर्षमा २५ प्रतिशत र दोस्रो वर्षमा थप २५ प्रतिशत गरी जन्मेको दुई वर्षभित्रमै समग्र विकासको ८० प्रतिशत विकास भइसक्ने मान्यता छ। बाँकी विकासमध्ये जीवनको तेस्रो, चौथो र पाँचौं वर्षमा थप १० प्रतिशत र बाँकी रहने १० प्रतिशत विकास जन्मिएको पाँच वर्षपछि हुने मानिन्छ। ‘यसरी हेर्दा गर्भावस्थादेखि जन्मेको दुई वर्ष मस्तिष्क विकासको हकमा अत्यन्त महत्वपूर्ण देखिन्छ। यो अवधिमा मस्तिष्क राम्ररी विकास नभए त्यसको क्षतिपूर्ति पछि सम्भव हुँदैन,’ डा. राठौरले भने, ‘यतिबेला हामीले बालबालिकाहरूको पोषणमा ध्यान दिन सकेनौं भने पछि गरेको पहलले खासै फरक पार्दैन। त्यसैले जन्मेको दुई वर्षको समयमा नै सम्भव भए जतिको प्रयास गर्नुपर्छ।’

जाजरकोटमा गरिबी र चेतनाको अभाव धेरै छ। यसकारण पनि कुपोषणको समस्या उच्च छ। त्यसैले बालबालिकाको उपचारका लागि कुपोषण पुनस्र्थापना केन्द्र बनाउन सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ।
नवराज कँडेल, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक, जाजरकोट

महिलाले गर्भवती हुँदा स्याहार पाउँदैनन्। पोषिलो खानेकुरा नपाउँदा गर्भमै शिशु कुपोषणको शिकार भइरहेका छन्। यसकै कारण आमा र बच्चाको ज्यान जोगाउन चुनौती थपिएको छ। कुपोषणको समस्या सामान्य छैन।
नेप्लिजा पुन, स्टाफ नर्स, जिल्ला अस्पताल जाजरकोट

सरकारको ध्यान मन्दिर र टावर बनाउनेमा मात्र छ। नागरिकको हातमुख जोड्नका लागि के खुवाउने र कसरी रोजगार सिर्जना गर्ने भन्नेमा ध्यानै छैन। कुपोषण राष्ट्रिय समस्याका रूपमा छ।
राजेन्द्रविक्रम शाह - नागरिक अगुवा, जाजरकोट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.