बाका दु:ख, आमाका संघर्ष

बाका दु:ख, आमाका संघर्ष

हामीले सहरमा बसेर गरेको पत्रकारिताभन्दा कति भिन्न छ, गाउँको कथा ! कति अलिखित र ओझेलमा छन् गाउँका दु:ख।

‘भतिज ! बाहरू नुन बोकेर कुन बाटो आउनु भएको अरे ?’ दुई दशकअघि गाउँछिमेकका अंकलले यस्तै प्रश्न सोध्थे। मैलो सेतो सर्ट, खुम्चिएको नीलो पाइन्ट र हातमा कापी बोकेर तोतेबोली फक्रँदै गरेको बालक स्कुलतिर जाँदै गर्दा उत्तर दिएथ्यो– ‘खै ! ममीसँग कुरा भएको सुनिन अंकल।’ त्यसबेला बा कुन बाटो, कसरी र कति दिनमा, कहाँ यात्रा गर्नु हुन्थ्यो। तोते बालकलाई थाहा हुँदैनथ्यो। आमासँग कुरा गर्दा सुनेका कुरा नै हाम्रा लागि आधार हुन्थ्यो।

‘त्रिवेणी बिस्कुट ल्याउनु भएको थियो ?’ अंकलले कसरी थाहा पाउनु भयो ? बाले त्रिवेणी बिस्कुट ल्याएको ? जवाफ थियो, ‘अँ। नरिबल पनि मिसिएको थियो।’ ‘ए, उसो भए चतराको बाटो त्रिवेणी हुँदै आउनु भएको रहेछ।’ अहिले बाँचेको जीवनभन्दा करिब दुई दशकअघि फर्किएर आफूलाई सम्झने प्रयास गरें। त्यसबेला बाहरू (मेरा बासहित गाउँलेहरू पनि) नुनको भारी बोक्न भोजपुरबाट सुनसरीको चतरा आउनु पथ्र्यो। उमेरले ठूलो हुँदै जाँदा बाले गरेका दु:ख र आमाले गरेका संघर्षका कथा आमाकै मुखबाट गुञ्जयमान बन्थ्यो, कहिलेकाहीँ घरमा। खासगरी पाहुना आएको बेला आमाले आफूले भोगेको जीवनका कथा सुनाउनु हुन्थ्यो। हामीले त्यही कथाबाट जानकारी पाउँथ्यौं, बाका दु:ख, आमाका संघर्ष।

खासमा बाहरूले त्यसबेला नुनको होइन, दु:खको भारी बोकेका रहेछन्। यस्तै अनुभूति गर्दैछु। बाले दु:खको भारी बोकेर हिँडेको अक्करे भीरमा पहिलोपटक यात्रा गरें। बाले हिँडेका पदचापहरूलाई पछ्याउँदै जाँदा बाका पैतालाका डोबहरू यतैकतै रहेजस्तो अनुभूति गरें। अक्करे भीरमा बाहरू कहरले दु:खको भारी बोक्न हिँड्थे। हामी रहरले सहरबाट उन्मुक्त हुन हिँड्यौं।

२०७९ माघ २१। बाक्लो हुस्सु छ। मन उडेर पुगिसकेको छ, चतरातिर। इटहरीबाट चतरा करिब १८ किलोमिटरको दूरी हो। मोटरसाइकलमा करिब आधा घण्टा लाग्ला। तर, बाक्लो हुस्सुका कारण मोटरसाइकलको गति तीव्र छैन। बिहानै धरानबाट सरला रेग्मी इटहरी झरेपछि म पनि यात्रा तय गर्न तम्तयार छु। केहीबेरको मोटरसाइकल यात्रापछि चतरा पुग्यौं। चतरामा पर्खिरहेका थिए, पत्रकारद्वय भीषण राई र नवराज विष्ट। सँगै थिए, स्थानीय युवराज भट्टराई र गोकुल थापा। पाँच महिनाअघि भीषण र नवराजले नेतृत्व गरेर ‘चतरा हाइकिङ’ नाम दिइएपछि अहिले निरन्तर पदयात्रा भएको छ।

पदयात्राका क्रममा युवराजले वनस्पतिकामहत्त्वबारे बुझाउँछन्। त्यसैले पनि पदयात्रा स्मरणीय बन्छ। हिँड्न उत्प्रेरित गर्न र पत्रकारितासँगै साहित्यमा सक्रियहरूलाई ‘क्रियटिभ’ बनाउने उद्देश्यले पदयात्रा सुरु गरिएको हो। चतराबाट प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र मन्दिर हुँदै धनकुटाको त्रिवेणीसम्म पदयात्राको तय छ। बराहक्षेत्र मन्दिर पुगिसक्दा घाम हामीसँगै हिँडिरहेको छ। घरीघरी हाम्रो अघि, घरीघरी हामीलाई नै पछ्याइरहेको छ, घामले। बराहक्षेत्र मन्दिरबाट दक्षिणतर्फ लागेपछि भने म विगतमा बाले गरेका दु:खको भारीमा अल्झिएँ।

अप्ठ्यारो बाटो अक्करको भीरको। तलतिर सप्तकोसी नदी। माथितिरबाट बर्खायाममा खसेको पहिरो। पारिपट्टि भयानक पहाड। जता हेरेनि उराठलाग्दो। यस्तो कठिन बाटोमा बाहरूले कसरी बिताए होलान् दशकौंसम्म दु:खको भारी बोकेर ! बाटोमा भेटिने घरहरू रित्तिएका छन्। कुनै बेला यी घरमुलीहरूले कति ढाक्रेहरूलाई आवास दिएका थिए। कतिलाई गाँस दिएका थिए। आज बाटो गाउँ–गाउँसम्म पुग्यो। त्यसैले रित्तिए यी घरहरू। यी बस्ती। र, यी मानिसका गरिखाने उपार्जन पनि रित्तियो। र, बसाइँ सरेर पुगे, कहाँ–कहाँ। सोही कारण आजकल यो बाटोले गुमाएको छ, ठेगाना।

दृश्यमा देखिन्थ्यो, सप्तकोसी नदीमा बाँसको चेफामा आएकाहरू। बेलाबेला चेफाबारे जानकार नभएकाहरू सोधिरहन्थे, चेफाको कथा। आजकल सप्तकोसीमा जेटबोट सञ्चालन छ। घण्टौं लाग्ने बाटोको यात्रा छाडेर जेटबोटमा यात्रा गर्नेहरू करिब आधा घण्टामै भोजपुरको सिम्लेबाट सुनसरीको चतरा आइपुग्छन्। तर, विडम्बना ! कतिपय यात्रीहरू अहिले पनि यही बाटो हिँड्छन्।

कथा अलिक फरक छ। पहिलेपहिले नुनको भारीसँगै जीवन धान्नका निम्ति ढाक्रे र भरियाहरू हिँड्थे, यो बाटो। अहिले आफन्त भेट्न हिँड्छन्। भोजपुरको हतुवागढी–४ घोडेटारबाट इटहरीको तरहरामा आफन्त भेट्न हिँडेका गंगाबहादुर खड्कालाई केहीबेर अक्करे भीरमै रोकें। ‘अहिले पनि यही बाटो हिँड्नुहुन्छ ?’ ‘के गर्नु पैसा नहुनेलाई १५ मिनेटको बाटोमा ७-८ सय तिर्नुपर्छ।’ उनको उत्तरले मलिन बनें। उनी त्यतिमै रोकिएनन्। थपे, ‘आधा घण्टाको बाटो गाडीमा १५ सय लाग्छ, कहिले त १९ सयसम्म लिन्छ।’

उनले आफूले विगतमा यही बाटोबाट नुन बोकेको कुरा स्मरण गरे। ‘अहिले त गाडीले नुन पुर्‍याउँछ, पहिले त कति हिँड्यौं नि यो बाटो’, उनी सुनाउँछन्, ‘अहिले गाडी र बोट गाउँसम्मै पुगे पनि पैसा नहुने मान्छेलाई पत्तो लाग्यो त ?’ लौरोको सहारामा कालो ब्याग बोकेका उनी रातो ज्याकेटसँगै नेपाली ढाका टोपीमा यात्रारत थिए। उनको उत्तरबाट नवराज र म केहीबेर गन्थन गर्‍र्यौं। हामीले सहरमा बसेर गरेको पत्रकारिताभन्दा कति भिन्न छ, गाउँको कथा ! कति अलिखित र ओझेलमा छन् गाउँका दु:ख।

भीषण राईका अनुसार ढाक्रेहरू ओहोरदोहोर गर्ने यो बाटोको यात्रामा घुम्तीखोला र ताङ्केरा गाउँ आउँछ। घुम्तीखोला आसपास रहेका दर्जनभन्दा बढी घर अहिले रित्ता छन्। ‘ढाक्रेहरूका कारण व्यापार, व्यवसाय हुन्थ्यो, ढाक्रेले खाना बनाएर खादा दाउरा बिक्री गरिन्थ्यो। त्यसबेला अहिलेको जस्तो होटलमा खाना खाने चलन नै थिएन’, उनी करिब डेढ दशकअघि फर्किए, ‘यात्रा गर्दा पकाउने सामान आफैं बोक्ने र घरमुलीहरूसँग दाउरा र भाँडाकुँडा मागेर बाटोको यात्रा गुजाथ्र्यौं।’

अहिले सप्तकोसीबाट गाउँसम्मै जेटबोट र गाडी पुगेका कारण यो बस्ती उजाडिएको छ। ताङ्केरा गाउँमा भने न्यून बस्ती अझै पनि छ। यहाँका मानिस भीरपाखामा काम गरेर दैनिकी गुजारिरहेका छन्। सुनसरीबाट तमोर पुल तरेपछि धनकुटा आउँछ। कुनैबेला मामा घर जाँदा तरेको सावाँ खोलाको पुल सम्झिएँ। सोहीबमोजिम पुलमा पाती चढाएँ। अहिले यो पुल धरापमा छ, यस विषयमा सरकार पनि मौनजस्तै छ। तर, धरापको पुलले पनि अझै वारपारका मानिसको सम्बन्ध जोडिरहेको छ।

पुल तरेपछि धनकुटाको सहिदभूमि गाउँपालिकामा पर्ने त्रिवेणी पुग्यौं। ‘पहिलेपहिले पुल तर्दा खेवा तिर्नुपथ्र्यो,’ भीषणले भने, ‘तमोर तरेर जाँदा, चाराना, आठाना तिर्नुपथ्र्‍यो।’ राई भाषामा खेवा भनेको पैसा हो। पहिले पुल तर्नका लागि ठेक्का लाग्थ्यो। यो पुल तरेबापत बटुवाहरूले पैसा तिर्थे। घडीमा दिउँसोको साढे १ भइसकेको छ। सप्तकोसीबाट बतास आइरहेको छ। बतासको संगीतले शरीर चिसो महसुस गरिरहेको छ। तर पनि बतासको संगीतले मुग्ध बनाइरहेको छ।

त्रिवेणी आसपास खासगरी राई जातिको बाहुल्य छ। यहाँका बासिन्दाले खाद्यान्न जेटबोटमार्फत चतराबाटै ल्याउने गरेका छन्। यहाँका बासिन्दाको आम्दानीको स्रोत भने बाँस तथा अहिले जेटबोटका कारण पर्यटनको चहलपहल बढेकाले होटल व्यवसाय हो। तमोरबाट र्‍याफ्टिङ आउनेहरू रातमा यहाँ बास बस्छन्। तर, अझै व्यवस्थित होटलको आवश्यकता देखिन्छ। त्रिवेणीमा खाना खाइसकेपछि अब जेटबोटतिर जाने कार्यक्रम तय भइसक्यो। केहीबेर कोसीको बालुवामा धनुषबाण (आर्चरी) खेल खेल्नतर्फ उत्सुक भयौं। चतराबाट युवराज भट्टराईले आर्चरी खेलका लागि सामान ल्याएका छन्। केहीबेर निसाना बनाएर हामीले धनुष हान्ने प्रयास गर्‍यौं। केहीबेरमै जेटबोटमा चढेर चतरा आइपुगेका छौं। आँखाबाटै क्षणभरमा ओझेल पर्‍यो सप्तकोसी पनि।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.