चेतनाविहीन ब्युँझाइ

जनता निर्बल, उत्साहहीन, लाचार र निर्बोध छ। नेताहरूले सबै पाए, मुलुक र जनताले धेरै गुमाए।

चेतनाविहीन ब्युँझाइ
सुन्नुहोस्

प्राचीन मगध राज्यका राजा धनानन्दले महामन्त्री सकटारलाई बोलाएर सोधे, ‘कुनै भ्रष्टाचारीको हात मगधको राज्यकोषसम्म पुगेको छ भन्ने थाहा छ कि छैन ?’ महामन्त्रीले विनम्र प्रश्न गरे, ‘कहाँ के भयो र राजन ?’ राजा धनानन्दले क्रोधित हुँदै भने, ‘राज्यकोषबाट सुविधा पाउने राजकुलका प्रत्येक व्यक्तिको थैलीमा एक पण कम छ। यसका लागि जिम्मेवार व्यक्ति को हो ?’

सकटारले उत्तर दिए, ‘जम्मा एक पण ? हे राजन! पानीमा बस्ने कुन माछाले कहिले र कति पानी खायो भन्ने कुरा थाहा नभएजस्तै मुद्रा विनिमय गर्ने कर्मचारीले कुन बखतमा मुद्रा हडप गर्छ भन्ने पत्तो पाउन कठिन छ। यहाँ एक पण लुप्त भएकोमा सारा मन्त्रिपरिषद् चिन्तित छ। 

परन्तु राज्यकोषबाट जुन लाखौं सुवर्ण मुद्रा लुप्त भएको छ, त्यसका लागि जिम्मेवार को ?’ महामन्त्रीले पदीय उत्तरदायित्वको मर्यादा राखी राजकुलका प्रत्येक व्यक्तिलाई कम हुन गएको एक पण व्यक्तिगत रकमबाट फिर्ता गर्दै भने, ‘राजकुलको गायब भएको एक एक पण फिर्ता गरेको छु। किन्तु लुप्त पारिएको एक-एक राष्ट्रिय धनको हिसाब माग्नेछु।’

यो छोटो लेखको उद्देश्य ससाना हिसाबको खोजखबर हुनु हुँदैन भन्ने किमार्थ होइन। राज्यकोषको सानो रकम लुप्त हुनु पनि दण्डनीय नै हो। यस लेखको उद्देश्य केवल यहाँ चलायमान प्रवृत्तिको लेखाजोखा गर्नुमात्र हो। यहाँ ससाना हिसाबको खोजी निकै नै हुन्छ। ससाना मानिसहरू दण्डित पनि भइरहेका छन्। 

राज्य चुप लागेर बसेको छैन भन्ने छनक दिने क्रममा केही दुर्दशा लागेका मानिसहरू फन्दामा परेका छन्। केही निर्दोषहरू बदनामीको सिकार भइरहेका छन्। केही ससानो लोभ नियन्त्रण गर्न नसकेकाहरू पनि अवश्य छन्। 

किन्तु यहाँ उच्च स्तरमा अनावश्यक सल्लाहकार राख्नेदेखि लिएर ‘मिलाएर’ गरिने राज्यकोषको दोहन उराठलाग्दो छ। कुन हैसियतका सल्लाहकार राखिए ? तिनले के सल्लाह दिए ? के ती नियुक्तिहरू राज्यका अनिवार्य आवश्यकता हुन् ? यहाँ राज्यको उच्चतम ओहोदामा आसीनले समेत निर्लज्ज तरिकाले ‘बग्दो गंगामा हात धोइरहेका’ छन्।

भगवान् श्रीकृष्णले अर्जुनलाई मात्र गीता पढाएका होइनन्। त्योभन्दा अगाडि नै दुर्योधनलाई भेटेर बारम्बार सम्झाएका थिए। परन्तु भाँडो रित्तो भए पो त्यसमा भरिदिन सकिन्थ्यो। दुर्योधन त आफैं भरिभराउ थिए। दुर्योधन भन्छन्, ‘जानामि धर्मं न च मे प्रवृत्तिर्जानाम्यधर्मं न च मे निवृत्तिः। केनापि देवेन हृदि स्थितेन यथा नियुक्तोऽस्मि तथा करोमि।’ अर्थात् मलाई धर्म के हो भन्ने थाहा छ, किन्तु त्यसमा मेरो मन जानै मान्दैन। 

म अधर्म के हो भन्ने पनि जान्दछु, किन्तु अधर्मबाट निवृत्त हुनै मन लाग्दैन। मेरो हृदयभित्र कुनै त्यस्तो देव छ, उसले जे गर् भन्छ, म त्यही गर्न विवश छु।’ के यस्तो निश्चयको अवस्थामा रहेको मानिसको प्रवृत्तिमा सुधार आउला ? किमार्थ आउँदैन। अहिले हाम्रो मुलुकको बागडोर यस्तै निश्चयात्मक हालतका व्यक्तिहरूको हातमा छ।

सदाचारको आफ्नो नियम, परिभाषा र मान्यता हुन्छ। राष्ट्रको कुशलता, स्वास्थ्य र योगक्षेम देशको राजनीतिको इमान, सदाचार र कर्मण्यतामा निर्भर हुन्छ। हाम्रो राजनीतिले सदाचारलाई आफ्नो निहित स्वार्थको पिञ्जडामा पालेर राखेको सुँगा बनायो। 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आरम्भ भएको आठ वर्ष पुग्दैछ। संविधान आरम्भ भएको एक वर्षभित्र बन्नुपर्ने संघीय निजामति विधेयक आजसम्म अलपत्र छ। नागरिकता विधेयकको हरिबिजोग छ। प्रदेशले यथेष्ट अधिकार पाउन सकेका छैनन्। साझा अधिकारको सूचीमा रहेका विषयमा प्रदेशहरूले अत्यावश्यक कानुनहरू पाएनन्। परन्तु एउटा प्रदेश मन्त्रीले चार थान मोटर भने सहजै पाउँछ।

यहाँ राज्यको उच्चतम पदमा आसीन व्यक्ति, जनताका प्रतिनिधि, पूर्वपदाधिकारीहरू र तिनका अनुचरहरूसमेत यसैगरी नै राज्यकोषमा चर्दै जाने लक्षण देखिएको छ। राज्यको सर्वोच्च पददेखि प्रदेशको मन्त्रीसम्म ‘म निष्ठावान् हैन, ऋणी हुँ’ भन्ने भावनाबाट प्रेरित गठबन्धनको राजनीतिले देशलाई नै बन्दी बनायो। 

राष्ट्रको आत्मालाई अपमान गर्ने प्रवृत्ति हाबी भयो। जब असल र खराबको सीमा सकिएर सबै कुरा गोलमाल हुन्छ, सम्झनु कि संकट आसपासमै छ। परन्तु त्यो संकटले कोकसलाई बढार्ने हो र मुलुकको अवस्था के हुने हो ? अनुमान गर्न कठिन छ।

प्रदेशले समृद्धिका काम गर्न नसकेकोमा चिन्ता छैन। बरु प्रदेशको ‘न्वारान गर्नेको नियतमाथि’ चिन्ता छ। हामीमा भावुकता धेरै र चैतन्य थोरै छ। आपसी वादविवादमा उम्दा छौं तर बुद्धि परीक्षामा पुछारमा। धेरै वाचाल छौं किन्तु दिमागबिनाका देहजस्ता। जनता निर्बल, उत्साहहीन, लाचार र निर्बोध छ। नेताहरूले सबै कुरा पाए किन्तु मुलुक र जनताले धेरै गुमाए। यहाँ केही मानिस टाठा र चतुरजस्ता देखिएका मात्र हुन्। 

सच्चारूपमा भित्री अन्तरात्मा जागेर आफ्नो आवाज सुनाउन बाँकी नै छ। यहाँ सबैलाई सबैतिर दुख्छ, किन्तु देश दुख्दैन। नेपाली निद्राबाट बिउँझेका मात्र हुन्। निद्रा खुल्नुमात्र जागरुक भएको प्रमाण होइन। नेपाली जनतामा अधिकार र कर्तव्यको बोध हुन बाँकी नै छ। बिउँझिनु र होसमा आउनु फरक कुरा हो। यो चेतनाहीन बिउँझाइले झुन्डको सदस्यमा मात्र सीमित पार्नेछ।

हाम्रो सरकार हाम्रो चेतनाको प्रतिनिधि हो। मन्त्रीहरू मतका प्रतिबिम्ब हुन्। २० वर्ष भयो, मन्त्रीहरू पालैपालो सडकका खाल्डाखुल्डी पुर्ने निर्देशन दिइरहेछन्। यो हाम्रो चेतना र काम गर्ने योग्यताको जल्दोबल्दो प्रमाण हो। कृषिका कुरा गर्दागर्दै पहाड त के मधेसका जग्गासमेत बाँझा हुन थाले। हाम्रा सरकारहरू बनिरहेका छन् अनि ढलिरहेका छन्। 

हामी कहिले ताली बजाउने र कहिले गाली गर्नेमा सीमित छौं। हाम्रो चैतन्यको सीमा नै यही हो। थुप्रै मानिस अनापसनाप बोलिरहेका छन्। बोलीमा कुनै तुक र तार्किकता छैन। तैपनि थुप्रै मानिसले पत्याइरहेका छन्। केही युवा क्षमतावान् र वैचारिक दृष्टिले प्रस्ट देखिन्छन्। परन्तु तिनको नाक छेडिएको छ। 

लगाम नेताको हातमा छ। प्रश्न गर्‍यो कि सीमान्तमा धकेलिने डर छ। अन्त्यमा, बिउँझनु सम्भावनाको द्वारमात्र हो। फगत बिउँझाइले चैतन्यको द्वार खोल्दैन। चैतन्यको द्वार खुल्न होसियारी र खबरदारीको ग्रन्थी चाहिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.