धन्य हो मालिकार्जुन !

धन्य हो मालिकार्जुन !

मालिकार्जुन ज्योर्तिलिंग स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बसेको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख छ।

सुदूरपश्चिमको सुन्दर, रमणीय र विकट हिमाली जिल्ला दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित छ एउटा ज्योतिर्लिंग, मालिकार्जुन। यस मन्दिरलाई नेपाल सरकारले २०६५ सालमा देशकै सातौं धाम घोषणा गरेको छ। जहाँ विशेषगरी प्रत्येक वर्ष कात्तिक वा मंसिरमा जात्रा र भदौमा गौरा पर्व लाग्छ भने प्रत्येक वर्षको साउनमा शिखर पूजन जात्रा लाग्ने गर्छ।

मालिकार्जुन नजिकै श्री शैल्य शिखरधाम छ। जसमा विशेषगरी असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन जात्रा लाग्छ। शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान पाउने किंवदन्ती छ। मालिकार्जुनलाई वरदानी ढोकाको रूपमा लिइन्छ। जीव सन्तानीले सन्तान पाउने तथ्य छ। मालिकार्जुन गाउँपालिकामा लाटीनाथ, कैलपाल र बालिचन देवताको मन्दिर छ। लाटीनाथ मालिकार्जुनका सुपुत्र हुन् भने कैलपाल लाटीनाथ देवताका भाइ (मामाका छोरा) हुन् भनी बताइन्छ।

मालिकार्जुनलाई धार्मिक पर्यटन गन्तव्यस्थलका रूपमा विकास गर्न प्राचीन धार्मिक महŒव बोकेका ऐतिहासिक धरोहरहरूको अनुसन्धान, अन्वेषण तथा संरक्षणका लागि मालिकार्जुन पर्यटन पूर्वाधार विकास समिति क्रियाशील छ। मालिकार्जुनमा मुखिया स्वर्गीय रुद्रसिंह धामीपछि व्यवस्थित हुन नसकेको समितिका सचिव जनकसिंह धामी स्वीकार्छन्।

गौरापर्वका अधिष्ठाता पूजित देवता भनेका शिव र पार्वती हुन्। शिवजी र पार्वतीलाई मात्रै पुज्ने देवता मानेर गौरा पर्वको उत्पत्ति भएको कुरा स्कन्द पुराणको मानसखण्डमा उल्लेख छ। जसअनुसार यो मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतको कन्दरामा हिमालय पर्वतकी चेली गौरीले महादेव शिवलाई मात्र पति पाऊँ भनी बालुवाको शिवलिंग बनाइन्। १२ वर्षसम्म निर्जन हिमालयको कन्दरामा कष्टपूर्ण तपस्या र पूजा गरेर बसेको प्रतिफलमा उनले महादेवलाई पति पाइन्। ‘सुदूरपश्चिमका नारीले हिमालय पुत्री गौरीले त्यही शिव–पार्वतीसम्बन्धी विवाह विधि र पूजन अर्चन गरेको विषयलाई आधार बनाए। त्यसै बेलादेखि गौरीलाई गोःरा– गौरा–गमराको प्रतिमूर्तिका रूपमा शिवपार्वतीको पूजाआजा र व्रत उपवास बस्दै आए’, मालिकार्जुनका अग्रज दयाकृष्ण पन्त बताउँछन्।

शैल्य मालिकार्जुन देवता भारतको कत्युर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती पाइन्छ। भारतमा भएको धार्मिक दंगाका बखत १६औं शताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजित थियो। कर्णाली प्रदेशअन्तर्गत डोटी राज्यमा मल्लवंशका राजाहरू शासन गर्थे। भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतीय हिन्दूहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ। धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिंग र शालिग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भीमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आए। रिठामा बास बसे।

त्यहीं शिवलिंग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पूजन गरेको हो भन्ने पनि तथ्य साबित भएको छ। त्यतिबेला डोटी राज्य विस्तारका क्रममा भारतका गढवाल, देहरादुन आदि ठाउँ पुगेको इतिहास छ। डोटीका राजा नागी मल्लको पालामा विभिन्न ठाउँमा रहेका शक्ति केन्द्र र शक्ति पीठहरूमा मन्दिर, धर्मशाला र शिलालेख बनाइएको पनि देखिन्छ। यता शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिँड्ने क्रममा दुँहुको हुतीमा समेत बास बसेको निर्वतमान जिल्ला समन्वय प्रमुख करवीरसिंह कार्की बताउँछन्।

मालिकार्जुन ज्योर्तिलिंग स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बसेको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतिगानमा उल्लेख छ। मालिकार्जुनको शैल्य शिखर धाम मालिकार्जुन र शैल्य शिखर नगरपालिकाको ग्वानीको बीचमा पर्दछ। आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिँडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए। उनका अन्य साथीहरू प्रभुको ज्योर्तिलिंगको खोजीमा क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए। कहीँ कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिंग नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए।

यसरी इष्टदेव मालिकार्जुनको भक्तिभावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राति सपनामा दर्शन दिए। आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए। सपनामा अभयराज पाण्डेयलाई प्रभुले भनेछन्, ‘तिमी चिन्ता नगर, डिडेकोटमा बस्ने डिङे राजाले दैनिक पशुवलि गरेर वातावरण र मलाईसमेत दूषित बनाउने काम गर्न थाल्यो। उसको कोट उचाइमा छ र रिठामा बस्दा गहिराइमा परें। स्थायी रूपमा बास बस्ने योग्य र उचित ठाउँ शिखर पर्वत भेट्टाएको छु। तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौं। म तिम्रो घरमा बाघ पठाउनेछु। त्यो बाघको दायाँ खुट्टामा निंगालाको छुरा हुनेछ। नडराउनु र त्यो  निकाल्नू। बाघ बाटो लाग्नेछ। तिमी पनि बाघकै पछि–पछि आउनू। बाघले तिमीलाई मकहाँ पुर्‍याउने छ।’

त्यसपछि अभयराज पाण्डेको निद्रा खुल्छ। ब्यँुझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ। सपनामा भने जस्तै उसको अगाडि प्रभुले भने जस्तै खुट्टामा निंगालाको सुरा भएको बाघ देखिन्छ। बाघलाई देखेपछि अभयराजले बाघको खुट्टाको निंगालाको सुरा निकाली दिए। अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ। अभयराज पाण्डेय पनि बाघकै पछि–पछि लाग्छन्। बाघले उनलाई शिखर पर्वतको शिलामा पुर्‍याउँछ। त्यहाँ पुग्दा अभयराजले साँच्चिकै शिवलिंग पाउँछन्। अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्तिभाव प्रकट गर्छन्। त्यसैबेला अभयराजले वाणी सुन्छ। महाराज मालिकार्जुनले अभयराजलाई भने, ‘हे भक्तराज ! मेरो स्थायी बसोबास अबदेखि यही नै हुन्छ। अबदेखि तिमी यही आएर मेरो पूजन र दर्शन गर्न सक्छौ।’ अरू भक्तहरूलाई पनि यही आउन भनिदिनू भन्दै आकाशवाणी बन्द हुन्छ।

गंगा गौ मुख हो मडै शिखरको यो मुक्तिको धाम हो
पूर्णा पूर्ण अपूर्ण पूर्ण गरने मालिकार्जुन नाम हो।

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिँडेका अन्य भक्त भीमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खबर गर्न गाउँगाउँ मान्छे पठाउँछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यही पूजापाठ गर्नुपर्ने सन्देश दिएको पाइन्छ। साँच्चिकै शिखर पर्वतमा रहेको शिलाभित्रको अदृश्य गुफामा यस्तो महान् एवं अद्वैत शक्ति छ। जसको बयान गर्न हामीसँग पर्याप्त शब्द छैनन्। हामीसँग भक्तिभाव र समर्पण छैन। त्याग, तप र साधना छैन। महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रियोदशीका दिन विधिविधानबमोजिम पूजा र दर्शन गरिन्छ। विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पूजन र दर्शनले बिघ्न बाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा शतप्रतिशत विश्वास गरिन्छ।

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन
तोड्छन् बन्धन समस्त जनका दिन्छौ नयाँ जीवन
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलाशको
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको।

हिन्दूशास्त्र परम्पराअनुसार वैदिक मन्त्र र विधिका साथ पूजापाठ हुने यो ठाउँमा समस्त नरनारी मानवजगत् शुद्धता बर्तेर शिखर स्वामीको दर्शन गर्छन्। मालिकार्जुनको लीला र महिमा अपरम्पार छ। मन्दिरको दर्शन गर्ने जाँदा जति उचाइ चढ्नु पर्छ। सायद त्यति नै उचाइ शैल्य शिखर धुरा पुग्न लाग्छ।

पाण्डे वंशजबाट अन्य जाति थर छुट्टिएको पाइन्छ। जसमध्ये वृत्ताको काम गर्ने एउटा भाइलाई विठको उपाधि दिएको सुन्नमा आउँछ। विठ उपाधि पछिको अवस्थामा अप्रभंश हुन गई बिष्ट कहालिएको इतिहास छ। ती विठ उपाधि प्राप्त गरेका व्यक्तिका सन्तान बिष्ट हुन गए। ती शान्डिल्य गौत्र धारी थिए। ती बिष्टहरूका शाखा सन्तानमध्ये एकजनामा देवता चल्न थाल्यो (झाँक्री) देवता चल्ने व्यक्तिलाई स्थानीय र घरपरिवारबाट धामी नामबाट सम्बोधन गरिन थालियो। तिनै धामीबाट जन्मेका सन्तानहरूमा पनि देवता नै चल्न थाल्यो। त्यसरी ती धामीका शाखा सन्तान धामी थरमै रहे। धामी थर भएका मानिस र विठबाट बिष्ट भएका मानिसको गौत्र एउटै छ।

शाण्डिल्यभित्र बिष्ट, ब्राह्मण र धामी क्षेत्रीको एउटै आमाबुवाका सन्तान भएकाले बिष्ट ब्राह्मणलाई धामी क्षेत्रीहरूले दान दक्षिणा दिन नमिल्ने र बिष्टले लिन नहुने सामाजिक कथनहरू छन्। धामी बिष्ट, ब्राह्मण र बिष्ट क्षेत्री, खत्रीलगायत अन्य जातजाति सहगोत्री अर्थात् शाण्डिल्य गौत्र धारी हुन्। त्यतिमात्र नभएर  मिराजरा भट्ट धिराधारा सन्तानमा पनि देवता चल्न थाले। ती देवता चल्ने मानिसलाई धामी मानिन थालियो। बिष्ट, धामी, खत्री जातीय मानिसको कुल देवता श्री शैल्य मालिकार्जुन हुन्। मालिकार्जुनका मुख्य पुजारी बिष्ट ब्राह्मण परिवारबाट नियुक्त हुन्छन्। पूजापाठ पद्धतिलाई व्यवस्थापन सञ्चालन आदि महŒवपूर्ण भूमिकामा धामी जातिको जिम्मेवारी छ। ठाउँविशेष अनुसार हाम्रा जातजातिका मानिस अन्य इष्टकुलमा लाटीनाथ, गलैनाथ, कैलपाल, बैजनाथ, माता भगवती, हुनैनाथ, बालिचन, कालिचन आदि देवीदेवताको पूजा गर्ने चलन रहिआएको छ।

हिन्दूशास्त्र परम्पराअनुसार वैद्धिक मन्त्र र विधिका साथ पूजापाठ हुने यो ठाउँमा समस्त नरनारी मानवजगत् शुद्धता बर्तेर शिखर स्वामीको दर्शन गर्छन्। मालिकार्जुनको लीला र महिमा अपरम्पार छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.