भ्रष्टाचार नियन्त्रणमा नारी

भ्रष्टाचार नियन्त्रणमा नारी
सुन्नुहोस्

सन् १९०९ बाट महिलाहरूमा जागरण ल्याउने उद्देश्यले सुरु गरिएको यो दिवस सन् १९१४ देखि हरेक वर्षको मार्च ८ तारिखमा संसारभर मनाउन थालिएको हो। सन् १९१० मा कोपनहेगनमा भएको महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन्। त्यो पारित भएपछि सन् १९११ देखि ८ मार्चमा मनाइएको सो दिवस आजका मितिसम्म ८ मार्चलाई भव्यताका साथ संसारभर मनाइरहेका छौं। महिलालाई मताधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सुरु गरिएको यो दिवस आजका दिनसम्म आइपुग्दा अरू पनि धेरै क्षेत्रमा फैलिइरहेको छ। विश्वका अन्य देशहरूले ५०औं दिवस मनाइसकेपछि प्रधानमन्त्री बीपी कोइरालाको पालामा सन् १९५९ देखि नेपालले पनि यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो।

११३औं नारी दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नारा ‘डिजिटल ः इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ छ भने नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबारबाट हाम्रो राष्ट्रिय नारा ‘लैंगिक समानताको बलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने रहेको छ। विकासको आधार लैंगिक समानता भन्ने नारा सुरु भएकोे पनि धेरै वर्ष बितिसक्यो। तर लैंगिक समानता व्यवहार तथा प्रतिनिधित्वको हिसाबले कहाँ र कति भयो भन्ने यथार्थ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रत्येक वर्ष प्रकाशित हुने प्रतिवेदनहरूबाट पनि प्रष्ट भइसकेको छ।

देशको समग्र उन्नतिको बाधक संस्थागत रूपमा मौलाउँदै गएको भ्रष्टाचार रहेको छ। यसरी हेर्दा नागरिकको हैसियतमा भ्रष्टाचाररूपी महारोगबाट देश र समाजलाई मुक्त गर्नु नारी पुरुष दुवैको बराबर दायित्व ठहर्छ। राज्यका विभिन्न तह र तप्कामा उपस्थितिको हिसाबले महिलाहरूको प्रतिनिधित्व साह्रै न्यून छ। उनीहरू देशलाई खोक्रो बनाउने भ्रष्टाचारजस्तो खेलमा सहभागी रहेको देखिँदैन। यस अर्थमा सबै क्षेत्रमा महिला सहभागिता उत्साहजनक भएमा हाम्रो देशमा मौलाएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न धेरै हदसम्म मद्दत मिल्न सक्छ। बहालवाला प्रधानमन्त्री, मन्त्री, कर्मचारीलगायत बडासदस्य, मेयरदेखि कार्यालय सहयोगीसम्म कोही आरोपित त कोही भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। प्रत्येक पुरुषसँग आमा, दिदीबहिनी, श्रीमती, छोरी, बुहारी आदिका रूपमा महिलाहरू गाँसिएका हुन्छन्।

भ्रष्टाचारका घटनाहरूमा एकांकी रूपमा पुरुषमात्र जिम्मेवार छन् कि त्यसमा महिलाको सक्रिय वा मौन समर्थन पनि रहेको हुन्छ ? सूक्ष्म तरिकाले प्रत्येक भ्रष्टाचारका घटनाहरूलाई केलाउने हो भने पुरुषले भ्रष्टाचार गर्दा त्यो घरका महिला विशेषगरी आमा र श्रीमतीहरू अनभिज्ञ नै होलान् त ? अहिलेको डिजिटल प्रविधिको जमानामा आर्थिक कारोबारको विस्तृत विवरण मोबाइलमा आउने हुनाले महिला पनि बेखबर होलान् भन्न मिल्दैन। आफ्ना परिवारको सदस्यको व्यवहारमा आएको परिवर्तनबाट पनि गलत क्रियाकलापमा लागेको अन्दाज गर्न सकिन्छ। समाजमा जसरी पनि धनआर्जन गर्ने कुसंस्कृति मौलाउँदै गएको छ। सम्पत्तिको आधारमा उसको स्तरमापन गर्ने परिपाटी बढ्दो छ। जसले गर्दा समाज दिनानुदिन उच्छृंखल बन्दै गइरहेको छ। कतिपय अवस्थामा गृहिणीको र परिवारका सदस्यहरूको अनावश्यक माग र दबाबका कारण पनि भ्रष्टाचार गर्न अभिप्रेरित भएका घटनाहरू पनि सुन्नमा आएका छन्।

आफ्नो आयस्रोत र खर्चको अनुपात कस्तो छ ? कस्ता मान्छेहरूसँग उठबस छ ? कस्तो आनीबानी छ ? यी सबै कुराले घरका महिलाहरूले कतै आफ्नो मान्छेले गलत तरिकाले सम्पत्ति आर्जन गरेको त छैन ? भनेर विचार गर्ने र सचेत गराउन सके पनि केही हदसम्म भ्रष्टाचार न्यूनीकरणमा सघाउ पुर्‍याउन सकिएला। क्षणिक सुखको लोभले भोलि समाजमा भ्रष्टाचारी भनेर चिनिनु अगाडि नै महिलाहरू पनि सचेत हुने कि ! कालान्तरमा नातिनातिनाले आफ्ना पुर्खाको नाम खोज्दा गुगलमा भ्रष्टाचारीको रूपमा आयो भने ? त्यसो भयो भने देख्दै नदेखेका सन्ततिले कुन रूपमा परिभाषित गर्लान् आफ्ना पुर्खाहरूलाई ? आउने पिँढीका लागि भए पनि कलंकित हुनबाट जोगिने कि !

अहिले नौ जिल्लामा महिलालाई सिडियोको जिम्मेवारी दिएको समाचारले पक्कै पनि सकारात्मक परिवर्तनको संकेत गरेको छ। न्यून प्रतिनिधित्वका बाबजुद राष्ट्राध्यक्ष, सांसद, मन्त्री, न्यायाधीश, सचिव आदिजस्ता उच्च ओहोदामा बसेर राष्ट्र विकासमा योगदान पुर्‍याएको दृष्टान्त हाम्रोसामु छँदैछन्। पछिल्लो समयमा नेतृत्व तहमा महिलाहरूको उपस्थिति बाक्लिँदै गएको छ। फलस्वरूप उपल्लो दर्जामा पुगेर अब्बल काम गरेर महिलाले विश्वास जितेका छन्। मियो दह्रो भयो भने दाइँ गर्न सहज हुन्छ भने झैं नेतृत्व स्वच्छ छविको र आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सकारात्मक तरिकाले निर्वाह गर्ने भएमा मातहतका पात्रहरूले भ्रष्टाचार गर्ने आँट गर्न सक्दैनन् र अपेक्षित प्रतिफल प्राप्त हुन्छ। सक्षम महिलाहरूलाई नेतृत्व तहमा पुर्‍याउन राज्य सफल भयो भने पक्कै पनि राज्यको हित हुन्छ र देशमा लैंगिक सन्तुलन पनि कायम हुन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७८÷७९ को रिपोर्ट÷प्रतिवेदनलाई आधार मान्ने हो भने गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका प्रायः सबै मुद्दामा पुरुषहरूको नाम रहेको छ। यसरी मौलाएको गलत प्रवृत्तिलाई रोक्न महिलाहरू सहयोगी तथा निर्णायक शक्ति सिद्ध हुन सक्छन्। पितृसत्ताको बाहुल्यले देशलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्मै डुबायो अब नेतृत्व तहमा सक्षम महिलालाई अवसर दिएर भ्रष्टाचारजस्तो घातक रोगबाट देशलाई उन्मुक्ति दिने हो कि ? ११३औं नारी दिवसको अवसरमा संसारभरका नारीहरूको समग्र उन्नतिको शुभकामना ! साथमा भ्रष्टाचार नियन्त्रण गर्न आजैबाट आफ्नै घरबाट अभियान सुरुआत गरौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.