संसार घुमाउने सिर्जना

समीक्षा

संसार घुमाउने सिर्जना
सुन्नुहोस्

जीवनरूपी यात्रालाई व्यवस्थित र आनन्दपूर्ण बनाउन साहित्यिक एवं सांस्कृतिक यात्रा गर्नु आवश्यक हुने रहेछ। 

संस्मरण : यात्रा’ पुस्तक सुधा भट्टराईको आत्मकथाको प्रकाशन हो। पुस्तकमा यात्रा र संस्मरणात्मक लेखहरू एकै ठाउँमा छन्। जसभित्र केही संस्मरण, केही यात्रानुभूति, केही आत्मचिन्तन, यात्रा सन्दर्भ र त्यससँग जोडिएका प्रसंग समावेश छ। एक दशक पहिले जीवनका पाइला कविता संग्रह प्रकाशित गरेर उनी नेपाली साहित्यमा प्रवेश गरेकी हुन्। उनको यो दोस्रो कृति ‘संस्मरण : यात्रा’ ओरियन्टल पब्लिकेसनले २०७८ मा बजारमा ल्याएको हो।

‘जीवनको आरम्भ’देखि ‘ओहो ! मेरो प्रिय भान्सा’सम्म गरेर २६ भिन्न शीर्षकमा लेखिएको यो पुस्तकमा एउटी नारीको जीवनका विविध पाटा अटाएका छन्। साहस र उर्जाले भरिपूर्ण सकारात्मक सोच बोकेकी एउटी किशोरीको बाल्यावस्थादेखि सेवानिवृत्तसम्मको सन्दर्भ पुस्तकमा पढ्न पाइन्छ। जीवन जिउने क्रममा आएका अनेकौं अप्ठ्यारालाई सम्याउँदै, छोराछोरी हुर्काउँदै, छुटेको पढाइलाई निरन्तरता दिएर अघि बढ्दै, आज यो सम्मानित स्थानसम्म आइपुग्नु आफैंमा ठूलो उपलव्धी भएको पुस्तकमा छ। शिक्षाको महत्त्व बुझाउने असल श्रीमान्को साथ र सहयोग अवर्णनीय छ। समयको परिवर्तनसँगै रूपान्तरित हुन सक्ने साहसी नारीलाई अध्ययन कर्मले नै सुधा भट्टराई बनाएको हो।

यात्राका अनुभवले जीवनलाई थप उर्जा प्रदान गर्छ। प्रकृतिको अनुपम सुन्दरतामा डुबेर लेखिएको पाथीभरा दर्शन लेखले ताप्लेजुङ जिल्लाको भूबनोटबारे विस्तृत जानकारी दिएको छ। चितवन र पाल्पाको साहित्यिक यात्राका रमाइला प्रसंगले पाठकलाई आफैं पुगेको आभास मिल्छ। मलेसिया, क्यानडा र अस्ट्रेलिया पुगेको यात्रा वर्णनमा भने विज्ञान र प्रविधिसँग जोडिएका प्रसंगलाई समावेश गरिएको छ।

अरू देशको विकास सुनेर, देखेर पनि हाम्रा नेताले देशलाई उँभो लगाउनै चाहेनन्। सुधाले अस्ट्रेलिया यात्रामा देखेको क्राउन प्लाजाभित्रको क्यासिनोको वर्णनले मलाई भने देश सम्झायो। नेताको लुछाचुँडीमा भाग नमिल्दा बन्द भएका हाम्रो देशका क्यासिनोहरू सबै बन्द भएका छन्। साहित्यिक कार्यक्रममा आसाम गएका बेलाको लेखले त्यहाँका लेखकलाई चिनाउन मद्दत गरेको छ। बनारसमा बसेका बेलामा गरेको राजनीतिक गफ पढ्दा मज्जा आउँछ।

पढ्नका लागि नजिकै स्कुल नहुँदा उकालो–ओरालो हिँड्दै धेरै टाढा पुग्नुपर्ने अवस्थाका कारण, गाउँबाट सँगै जाने कुनै साथी नभएकाले नै उनले पढाइलाई निरन्तरता दिन नसकेको कथाले पाठकलाई बेचैन बनाउँछ। त्यो बेलाको समाजमा देखिएको छोरा र छोरीबिचको विभेदको जरोले उनलाई पनि नछोइरहन सकेन। छोरी भएकै कारण ६ कक्षामा पढ्दापढ्दै पढाइ छोड्नुपरेको तीतो सत्यले उनलाई सधैं दुखाइरहन्थ्यो। पढाइको तिर्खा बोकेर बसेकी सुधाको जीवनमा ‘तिमी आँट, म पुर्‍याउँछु’ भनेजस्तै गरेर शिक्षित परिवार र विद्वान् जीवनसाथीको प्रवेश भयो। लेख्छिन्, ‘आँखाभरि पढ्ने सपना बुनेर बसेकी मलाई पढ्नुपर्छ, म पढाउँछु भन्ने श्रीमान् भेट्दा देवतै भेटेजस्तो भयो। विवाहपछि सँगै बनारस लगेर पढ्ने व्यवस्था मिलाएको त्यो क्षण सम्झेर भाग्यमानी सम्झन्छु। पढाइको भोक मेटिदिने पतिदेवप्रति नतमस्तक छु।’

जीवनरूपी यात्रालाई व्यवस्थित र आनन्दपूर्ण बनाउन साहित्यिक, सांस्कृतिक एवं आध्यात्मिक यात्रा गर्नु अत्यन्त आवश्यक हुने रहेछ। साँच्चै घरपरिवारभित्रै खुम्चिएर बस्नु भनेको एक प्रकारको जेलमा बस्नुसरह नै हो भन्ने निष्कर्ष निकालेकी छन् सुधाले। आसाम यात्रा गरेर फर्किएपछिको एउटा सन्दर्भमा यात्राले एकप्रकार धेरै दिनसम्म आनन्दित तुल्याएको वर्णन छ। यात्राले साँच्चै मानसिक सन्तुष्टिसँगै जीवन स्वतन्त्रता र जीवनमुक्तिको समेत सुखद् अनुभूति गराउने रहेछ। पर्यटकीय गन्तव्य, गाउँले रहनसहन र संस्कृति सबै समेटिएको मिठासपूर्ण लेखनले संग्रह ओझिलो बनेको छ। आफूले भोगेका बिमारका बारेमा ‘वैतरणी उपचार र निदान’ नामक शीर्षकमा लेखिएका कुरा पढ्दा मन सिरिङ्ग हुन्छ। मान्छेलाई मृत्युले पटक पटक जाँचबुझ गरिरहन्छ, अनेक प्रकारका विमारको नाममा। धेरैपटक मृत्युलाई नजिकबाट नियाल्ने सुधा एक ठाउँमा यस्तो लेख्छिन्, ‘उमेरले ७० छेउपुग्दा पनि निराश र आत्मबलहीन बनेकी छैन। मानिसले जीवनमा कहिल्यै पनि निराश हुनुहुँदैन, आत्मबल सुदृढ बनाइरहनुपर्छ।’

साँच्चै जीवनलाई नजिकबाट नियाल्दा नियाल्दै मान्छे एकदिन संसार छोडेर बिलाइजान्छ। कृतिसँगै नाम भने बाँचिरहन्छ पृथ्वीमा, मनुष्यको अस्तित्व रहुञ्जेल। यदि उनले बाल्यकालदेखिको संस्मरणात्मक पुस्तक प्रकाशित नगरेको भए, आजका दिनमा हामीलाई कसरी थाहा हुन्थ्यो र यो संघर्षको कथा ? ‘साहित्य ओखती हो’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई स्मरण गर्न चाहें। साहित्यभित्र डुब्नु र अरूलाई पनि डुबाउनु, यस्तो चरम आनन्द अन्तकहाँ ?

एकप्रकार शून्यबाट प्रारम्भ गरेर स्नाकोत्तरसम्मको अध्ययन पूरा गर्नु र शिक्षण पेशामा संलग्न हुन सक्नुलाई उनी जीवनको दोस्रो पुनर्जन्म भएको ठान्छिन्। विद्यावारिधिसम्म अध्ययन गर्ने इच्छा यो उमेरमा पनि सुशुप्त अवस्थामा छँदै छ उनीसँग। लेख्छिन्, ‘सम्भवतः खानेकुराको भोकभन्दा पनि शिक्षाको भोक प्रवल भएकाले हो कि ! अथवा जीवनलाई सार्थक बनाउन गरिने प्रयास र परिश्रमको अगाडि अरू कुनै तिर्खाले छुन नसकेको पनि हुनसक्छ।’ छोराछोरीको कर्तव्य पूरा गर्दागर्दै बाबुआमा ज्येष्ठ नागरिकको सिँढीमा चढिसक्दा रहेछन्। केही स्थायी रोगहरूको पनि शरीरमा बास भइसक्दोरहेछ। स्वतन्त्र रूपमा घुमफिर गर्ने र केही नयाँ काम गर्ने हिम्मत पनि छुटिसक्दोरहेछ। नारीको जीवन छोराछोरीकै लागि सकिन्छ तर यो यथार्थ सन्तानले बुझ्न नसक्दा उल्टो समस्या छ। यी सन्दर्भ पनि पुस्तकमा छन्।

‘सबैतिर हेर्छु, को सुखी रहेछ र ? मनको बहलाई दबाएर, असक्ततामै अस्पतालको बेडबाट आफ्नै घरको बित्तो (दिनचर्या) सम्झन्छु, अनि सम्झन्छु पतिदेव। मानिसका आआफ्नै समस्या हुन्छन्। ती समस्या सहज रूपमा टार्न सक्नु नै बुद्धिमानी रहेछ’ यस्ता अनुभव लेखकमा उब्जिएको पुस्तकमा पाइन्छ।

आँखा खोलेदेखि अहिलेसम्म मेरो दैनिकीमा खासै परिवर्तन छैन। आफ्ना शरीरका अंगले छोड्न थाले तर पनि भान्साकोठाको धन्दाले छाडेको छैन। म भान्साभित्रकी परिचारिका हुँ। यी मेरा प्रिय डाडुपन्यु, चम्चा, ग्लास, कप, प्लेट, थाल, बटुका, कराही...। बिजुली चुलाले सजिलो पारेको छ। यसो भन्न पाउँदा आमाभन्दा आफू धेरै सुखी भएझैं ठान्छु। जीवनभर नथाकी एउटी नारीले कसरी आफ्नो संसार चलाउँछे ? पुस्तकमा छर्लंग छ।

लैंगिक असमानताको पीडा व्यक्त गरेकी सुधा प्रश्न गर्छिन्, घरभित्रका मसिना कुरालाई विषय बनाएर लेख्ने पुरुष स्रस्टा पनि छन् त नेपालमा ? समाजले उनीहरूलाई महान् पुरुषको बिल्ला लगाइदिएको छ। घरभित्रको काम सघाउने अधिकारसम्म छैन तिनलाई। त्यसैले नेपाली समाजका ९० प्रतिशत पुरुषलाई भान्साकोठाले चिन्दैन। र त उनीहरू यस्ता कृति लेख्न सक्दैनन्। कृति पढेपछि लाग्यो, यात्रा र संस्मरण लेखहरू दुईवटा किताब बनाएको भए अझै राम्रो हुनेथियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.