दल बदलको नियति !
![दल बदलको नियति !](https://annapurnapost.prixacdn.net/media/albums/unity-politics_20211111035554_hc9HZ4DKHk.jpg)
२०४६ को आन्दोलनले वहुदलीय प्रजातन्त्रको स्थापना गर्यो। २०६२/६३ को बृहत आन्दोलनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो। त्योभन्दा अगाडि अग्रजले धेरै ठूलो योगदान दिए। राणा शासनको अन्त्य गरे। नेपाली दुनियाँमा प्रजातन्त्रको घाम झुल्क्याए। २०४६ र २०६३ मा पनि प्रजातन्त्रका लागि धेरैले जीवनको आहुती दिए। कति त अहिलेसम्म घाइते जीवन बाँचिरहेका छन्।
सुझबुझपूर्ण नेतृत्व र ती साहसी योद्धाहरूको बलमा भएका विभिन्न आन्दोलनले बहुदलीय व्यवस्थासंगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो। प्राप्त प्रजातन्त्र एवं गणतान्त्रिक लोकतन्त्रले नेपाली जीवनमा धेरै परिवर्तन ल्यायो। विकासका रूपहरू फेरिए। मानिसका सोचहरू बदलिए। रूपान्तरित आवाजहरू गुञ्जिए। नागरिकले वास्तविक स्वतन्त्रताको महसुस गरे। राम्रा पक्षहरूको जन्म भयो। साथमा स्वाद र स्वार्थले पनि आफ्नो रूप परिवर्तन गरिरहेको छ। विचार, निष्ठा, आदर्शका आधारमा राजनीतिक दलमा मानिसले जीवन समर्पण गरेका हुन्छन्। तर, सत्ता र चुनावी प्रतिस्पर्धाको मुखमा देखिएका राजनीतिक निष्ठा र विचारलाई स्वाद र स्वार्थको लेप लाग्ने गरेको छ।
चेतना र विवेकको प्रयोगमा सर्वशक्तिमान बन्न चाहन्छ मानिस। त्यसैले सबैलाई शक्तिसहितको आसन चाहिएको छ। स्वार्थले नै मानिसलाई जिउन सिकाउने पनि हो। स्वादले मानिसको सोच निर्धारण गर्छ। व्यक्तिले महसुस गर्ने स्वाद फरक फरक हुन्छ। व्यक्तिवादको स्वादमा स्वार्थ गासिँदा गलत प्रवृत्तिले जन्म लिन्छ। दलीय नेताहरूले राजनीतिक विचार र निष्ठा वोकेर समाजलाई डोहोर्याउने जिम्मेवारी काँधमा बोकेका हुन्छन्। तिनमा आएको विचलनले सामाजिक विचार र सोचमा पनि विचलन ल्याउँछ। यही स्वाद र स्वार्थको मिलनले टिकट पाए दल र टिकट नपाए दल बदल प्रवृत्ति मौलाउँछ।
स्वार्थमा गाँसिएको सम्बन्ध दिगो रहँदैन। सरकार गठन होस् या चुनाव जित्न नै किन नहोस्। पूर्वपश्चिम र उत्तरदक्षिण एउटै केन्द्रमा लामो समयसम्म रहिरहन्छ भनेर कल्पना गर्न सकिने होइन। विचार र निष्ठालाई पन्छाएर टेकेको टेको सानो हुरीमा पनि लड्न सक्छ। केही पाउन गाँसिएका सम्वन्धहरू स्वार्थको धरातलमा अडेका हुन्छन्। स्वार्थ र स्वादमा पर्ने असरले यस्ता सम्वन्धहरूलाई विच्छेद पनि गर्छ। यिनै विविध सन्दर्भका उपज हुन्, सत्ता गठबन्धन वा चुनावी तालमेल वा दल अदल बदलका प्रवृत्तिहरू।
सबै राजनीतिक दल र दलमा समर्पित सबै व्यक्ति एकै प्रकारका छन् भन्न खोजिएको होइन। आफूले पाउनु र गुमाउनुको अर्थ नराख्ने विचार र निष्ठावान् व्यक्तित्वहरू पनि यहीँ छन्। तेल पानीमा मिसाउँदा न तेलले आफ्नो अस्तित्व गुमाउँछ न पानीले। तर, त्यही पानीमा दूध मिसाउँदा नतिजा फरक आउँछ। यहाँ को कहाँ कसरी र किन विलय भए ? कति उदाउँदै छन् ? कति उदाउने प्रयत्नमा छन् ? यसको गणित पक्कै समयले राख्ला। बहुदलीय प्रणालीमा दलको विकल्प दल नै हुन्।
तथापि राजनीतिक दल र नेतृत्वका कार्यशैलीले नै होला, स्वतन्त्र उम्मेदवारहरू पनि जन्मिरहेका छन्। नजिक आइरहेको संघीय र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न दलले सहभागी जनाएका छन्। दलहरूको भिडमा स्वतन्त्र उमेदवारको लर्को पनि उत्तिकै छ। कोही निष्ठा र विचारका नाममा नयाँ दल दर्ता गरेरै संलग्न छन् त कति स्वतन्त्रका नाममा व्यक्तिगत उमेदवारी। कोही आफू आवद्ध दलबाट टिकट नपाउँदा दल फेरेर उम्मेदवारी दिइरहेका छन्। कोही बागी त कोही स्वतन्त्र। कोही दलसँगै निष्ठा र सोच पनि अदलबदल गरिरहेका छन्। शत्रुका शत्रु मित्र हुने नै भए मौकाको फाइदा उठाउन सबै पंक्तिमा लामवद्ध पनि छन्।
देश विकासका आधारहरू निर्माण र मुलुकलाई समृद्ध बनाउने सर्वोत्तम नीति राजनीति नै हो। विशुद्ध उद्योगी व्यापारी व्यावसायीहरू पनि राजनीतिक आवरण खोजिरहेका छन्। लामो समयसम्म राष्ट्रसेवकको रूपमा रहेर सेवापश्चात निवृत्तहरू पनि नेता बन्ने होडमै छन्। दलीय राजनीतिक विचारहरूको भिडमा खानदानी राजनीतिक वर्गको पहुँच पनि राम्रै छ। लामो समयदेखि प्रजातन्त्र र लोकतन्त्रका लागि समर्पित जमात पनि यहीँ छन्। सबैको चाहना एउटै हो, मुलुकलाई समृद्ध बनाउने।
यसरी हेर्दा मुलुकले विकासमा ठूलै फड्को मार्न पर्ने हो। तर यहाँ स्वाद र स्वार्थको खेल खेलिन्छ। राम्राभन्दा हाम्रालाई हेरिन्छ। नातावाद कृपावाद राम्रै मौलाएको छ। यसो भनिरहँदा स्वाद र स्वार्थभन्दा टाढा रहेका केही वर्ग तथा व्यक्ति पनि राजनीतिमा छन्। स्वाद र स्वार्थको बहुमतमा अल्पमतको आवाज हराउँदै जाने नै भयो। हरेक निर्वाचनमा दलहरूले घोषणापत्र तयार गर्ने समिति बनाउँछ। निर्वाचन जितेपछि भने आफूले जारी गरेका घोषणापत्र दोहोर्याएर हेरिँदैनन्। सर्वसाधारणले विकासका नारा सुन्न फेरि पाँच वर्ष प्रतीक्षा गर्नु नियति बनिसकेको छ।
असहमति तथा विमति पक्कै होला तर निर्वाचनको महामेलामा एउटा न एउटा राजनीतिक विचारमा छाप लगाउनु नै छ। झण्डा र निर्वाचन आयोगले दिएको चुनाव चिन्ह र आफ्नो घोषणापत्र राखेर चुनावी प्रतिस्पर्धाको दौडमा छन् दलहरू। कोही दलीय नेतृत्वप्रतिको वितृष्णाले स्वतन्त्र उमेदवारी दिइरहेका छन्। कोही आफ्नो दलबाट टिकट नपाएको झोंकमा दल परिवर्तन वा स्वतन्त्र उमेदवारको नाममा चुनावी दौडमा छन्। कोही बागी बनेर उठीरहेका छन्।
जे होस्, सबै आफूले दिएको उमेदवारीमा जित हाँसिल गर्न चाहन्छन्। २०७९ संघीय एवं प्रदेश सभाको निर्वाचन सत्ता गठवन्धन र चुनावी तालमेलले घेरिएको छ। आफूले चाहेको राजनीतिक विचार मिलेको उमेदवार मतदाताले नपाउन पनि सक्छन्। आफूले मत जाहेर गर्न चाहेको चुनाव चिन्ह नै मतपत्रमा नहुन पनि सक्छ। वर्तमान मात्र होइन, भविष्यलाई पनि हेरेर आफ्नो अमूल्य मत जाहेर गरौं। जसले दिगो विकासका आधार निर्माण गर्दै मुलुकलाई समृद्ध बनाओस्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)