फरक विचारक प्रदीप गिरि

फरक विचारक प्रदीप गिरि

नेपालको वैचारिक राजनीतिक आन्दोलनमा प्रदीप गिरि फरक विचारक थिए। उनका हरेक विचार देश र समाज परिवर्तनप्रति मुखरित थिए। तल भुइँ सतहमा बसेर माथिका लागि सोच्ने राजनीतिक विद्वान् थिए। उनको नजिक बसेर आफ्नो समाज र राष्ट्रको वास्तविक अनुभूति गर्नेहरूको घुइँचो लाग्थ्यो। आफ्नो वास्तविक मुक्ति र अधिकारको अनुसरण गर्न नपाउने मानिसहरू गिरिलाई नै सम्झिने गर्थे। तर, राज्यका शासकहरूले कहिले पनि नागरिकसँग आफ्नोजस्तो व्यवहार गर्न सकेनन्। अधिकारको अनुभूतिबाट समेत बेखबर बनाई राखे। त्यसैले खबरदारीको अर्को नाम थियो, प्रदीप गिरि।

मधेसका दलित बाहुल्य बस्तीमा जन्मेहुर्केका गिरि मधेसी समाजमा रहेका दमन, शोषण, विभेद र उत्पीडन तथा छुवाछूत प्रथाका विरुद्धमा समेत वैचारिक अस्त्र छोड्थे। शासकद्वारा उत्पीडनमा पारिएका वर्ग र समुदायप्रति उत्तिकै चिन्ता र चासो राख्थे। एक मनुष्यले अर्को मनुष्यप्रति गर्ने अमनुष्यको व्यवहारले सबैभन्दा बढी गिरिकै बौद्धिकतामा घोच्थे। अनि सबैभन्दा बढी चिन्तित हुन्थे। किनभने उनी अम्बेडकरको असली फ्यान थिए। आवाजविहीनहरूको पनि आवाज थिए।

भारतको पटनाबाट समाजशास्त्र र दर्शनशास्त्रमा स्नातक गरेका गिरि साहित्यमा उत्तिकै अब्बल थिए। देशको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उनको फरक विचार र दृष्टिकोण थियो। किनभने समाजको धरातलसँग उनको गहिरो सम्बन्ध थियो। त्यही गहिरो सम्बन्ध, उच्च विचार र दृष्टिकोणले हरेक नागरिकलाई सुखी, समृद्ध र सम्पन्न बनाउन सकिन्थ्यो। तर, मुलुकको गलत राजनीतिक अभ्यासले गिरि कहिले पनि सत्ताको शिरमा पुग्न सकेनन्। न त आफ्नो सोचअनुसारको केही गर्न सक्ने अवसर नै प्राप्त गर्न सके। न त वर्तमान राजनीतिको छुद्र सत्ता र कुर्सी मोहको लोभमा फस्ने कुचेष्टा गरे।

गिरिको संघर्षले उनको वैचारिक आन्दोलन त सफल भयो। तर, व्यावहारिक आन्दोलन भने असफल नै रह्यो। किनभने नागरिक अझै पनि असल व्यक्ति र राजनीतिलाई पहिचान गर्न सकेको छैन। गिरि यसको ठूलै उदाहरण हुन्। गलत राजनीतिक अभ्यास गरिरहेका राजनीतिक दल र नेताहरू जनतालाई धोका दिएसँगै गिरिलाई पनि धोका दिए। आफू निरन्तर योगदान दिएका राजनीतिक दल नेपाली कांग्रेसले समेत उनको क्षमतालाई प्रयोगमा ल्याउन सकेनन्। गिरि पनि यहाँको विकृत राजनीतिक संस्कारबाट सधैं टाढा रहे। राज्यको भौतिक सुखसुविधाबाट नजरसमेत गाडेन। इमानदारीको राजनीतिक वैचारिक लडाइँमा डटेर लागिरहे। कहिले हार खाएनन्। आफ्नो इमान र जवानलाई तल झर्न दिएनन्। बरु आफ्नो जीवन समर्पण गरे। त्यसैले निष्ठाको अर्को नाम बन्यो, प्रदीप गिरि।

विचारका हिसाबले भारतका डाक्टर भीमराव अम्बेडकर, राममनोहर लोहिया र महात्मा गान्धीलगायत विचारकसँग नजिक थिए। संसारका शक्ति राष्ट्र र कमजोर राष्ट्रबीचको सम्बन्ध र अन्तरविरोधलाई समेत नजिकबाट नियाल्ने गर्थे। संसारमा रहेका विभिन्न किसिमका मानवीय विभेदलाई कसरी अन्त्य गर्न सकिन्छ भने सिर्जनात्मक दृष्टिकोण राख्थे। प्रकृति र मनुष्यबीचको सम्बन्धलाई कसरी युगसापेक्ष बनाउनु पर्छ भने दक्खल राख्थे। राजनीतिक, वैचारिक, दार्शनिक र साहित्य क्षेत्रमा उनको आफ्नै दक्खल थियोे। हरेक विषयलाई वैज्ञानिक र प्रकृतिसम्बद्ध तरिकाले उठान गर्थे।

दक्षिण एसियामा खासगरी भारत र नेपाली समाजमा संस्कारित बनेका जात व्यवस्थामा आधारित समाजमा डा. भीमराव अम्बेडकरले फरक र मजबुत बिम्बको रूपमा उदाए। त्यसरी नै नेपालमा अर्को अम्बेडकरको खाँचोको महसुस गर्थे गिरि। त्यसैले विचारको हिसाबले समेत उनी अम्बेडकरको फ्यान थिए। उनी दलित बस्तीहरूमा पुग्दा अम्बेडकरको बयान मात्र गर्दैनथे। नेपाली समाजमा खड्किरहेको नेपाली मौलिकताको अम्बेडकर प्राप्तिका लागि स्कुलिङ पनि चलाउँथे। गाउँघरमा बस्दा अधिकांश समय दलित मुसहर बस्तीमा गुजार्थे। उठबस खानपिनसमेत त्यही हुन्थ्यो। र, गरिब दलित बस्तीमा रहेर नयाँ सोच, चिन्तन र विचारसँग प्रेम गर्थे। प्रतिस्पर्धा गर्थे। खोला किनारमा रहेका आश्रममा बिराजमान हुन्थे। आश्रममा पनि काम गर्नेदेखि भान्सेसम्म दलितकै साथमा बिताउँथे। उनी थुप्रै दलितका सहारा पनि थिए। उनको मृत्युुमा अहिले ती दलित वस्तीहरू शोकमा छन्। असल अभिभावक गुमाएकोमा मूच्र्छित छन्।

नेपालको वैचारिक राजनीतिक आन्दोलनमा प्रदीप गिरि फरक विचारक थिए। उनका हरेक विचार देश र समाज परिवर्तनप्रति मुखरित थिए। तल भुइँ सतहमा बसेर माथिका लागि सोच्ने राजनीतिक विद्वान् थिए।

विचारका रूपमा गिरि द्वन्द्वात्मक वैचारिक शक्तिका रूपमा स्थापित थिए। समाजवाद उनको अनुसरण हुँदाहुँदै माक्र्स, लेनिन, माओ, एंगेल्सलगायत कम्युनिस्ट पारखी पनि थिए। अर्थात् हरेक सामाजिक राजनीतिक क्षेत्रको ज्ञानबाट निपुण थिए। त्यसैले उनलाई कांग्रेसभित्रका माक्र्सवादी चिन्तकका रूपमा समेत चिनिन्छ। उनको अनगिन्ती पहिचान र परिचय छन्। किनभने उनको सम्पूर्ण जीवन यिनै अध्ययन अनुभव र अनुसरणमा वितेका थिए। त्यसैले उनी सबैबाट सम्मानित पनि थिए। राजनीतिक हिसाबले कांग्रेसका नेता हुँदा पनि उनी अरू राजनीतिक दल र तिनका नेताहरूको गुरुका रूपमा समेत थिए। उसलाई कसैले पनि कांग्रेसको नेताको रूपमा मात्र स्वीकारेका थिएनन्। सार्वभौम व्यक्तित्वको रूपमा स्थापित थिए। कांग्रेसभित्र गिरिलाई दोस्रो बीपीका रूपमा पनि चिन्ने गर्छन्। उनले सोचेको कांग्रेस कहिले पनि बनेन। त्यसैले कांग्रेसभित्र मात्र नभएर बाहिर पनि एउटा कुशल आलोचकको रूपमा स्थापित थिए। जीवनमा कुनै किसिमको ठूलो लोभ लालच नभएपछि उनले गलतलाई गलत र सत्यलाई सत्यकै रूपमा वकालत गर्थे। त्यसैले उनीबाट गलत मानिसहरू सधैं टाढा रह्न चाहन्थे।

मुलुकमा कांग्रेसी आन्दोलन हुँदा उनी पाँच वर्षका थिए। उनका सारा परिवार कांग्रेस राजनीतिका हिमायती थिए। त्यसैले बीपीदेखि विप्लवसम्म नेपालका हरेक राजनीतिक आन्दोलनलाई उनले नजिकबाट नियालेका थिए। विद्यार्थी जीवनकालमा भारतको राजनीतिक परिवर्तनको आन्दोलनलाई समेत नजिकबाट नियालेका थिए। त्यसैले उनी नेपालको मात्र नभएर भारतको समेत एक कुशल विचारक थिए। राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरूको समेत खानी थिए। रामायणदेखि महाभारतलगायत पुरातन ग्रन्थ र इतिहासबाट समेत दीक्षित थिए। नेपाली, मैथिली, भोजपुरी, थारू, अंग्रेजी, हिन्दी, बंगाली, मगर, तामाङ आदि दर्जनौं भाषाका पारखी थिए। उनले हरेक शब्दमा जुनसुकै भाषामा उखान टुक्का, कथा, कहानी, चुट्किला भनेर मानिसलाई मक्ख पार्थे। सम्बोधन गर्न सक्थे।

कांग्रेसको आन्दोलनदेखि एमाले आन्दोलनसम्म, एमाले आन्दोलनदेखि माओवादी आन्दोलनसम्म, माओवादी आन्दोलनदेखि मधेसवादी आन्दोलनसम्म यस्तै विभिन्न आन्दोलनमा उनको प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागिता थियो। उनले परिवर्तनलाई सहज रूपमा स्वीकार्ने व्यक्ति भएकाले जीवनमा कहिले पनि समाजिक स्तरबाट कुनै किसिमको चुनौती झेल्नु परेन। त्यसैले समाजवादी व्यक्तिको रूपमा स्थापित थिए। सबैसँग उनको सम्मान व्यवहार थियो।

मधेसको चमार आन्दोलनलगायतमा समेत वैचारिक शिखरता प्रदान गरेका थिए। यसका लागि आफ्नै पार्टीका गलत नेता कार्यकर्ताविरुद्ध उभिए। उनले दलित समस्या दलितको समस्या नभएर राज्यको साझा समस्याका कारण यसलाई राज्यले नै जिम्मेवार लिएर समाधान गर्नुपर्ने तर्क राख्थे। दलित अधिकार र समस्या गैरदलितहरूले काँधमा बोकेर पुर्खाहरूले गरेको गल्ती कमजोरीको क्षतिपूर्तिको रूपमा समाधान गर्नुपर्ने उनी बताउँथे। त्यसैले दलित समस्याको नेतृत्व दलितले होइन, गैरदलित पक्षले गर्नुपर्नेमा उनको जोड थियो। मधेसी, दलित, थारू, आदिवासी, जनजातिलगायतका समस्यालाई राष्ट्रियकरण गरेर यसलाई इतिहासको रूपमा व्यवस्थापन गरी लोकतन्त्रलाई बलियो बनाउने दृष्टि उनमा थियोे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.