देव विकास बैंकका शाखा प्रबन्धकलाई साढे २१ करोड जरिवारना, ७ वर्ष कैद
![देव विकास बैंकका शाखा प्रबन्धकलाई साढे २१ करोड जरिवारना, ७ वर्ष कैद](https://annapurnapost.prixacdn.net/media/albums/cort-tulsipur_20220709065404_t89JOJujBz.jpg)
दाङ : देव विकास बैंकको १८ करोड हिनामिनाको मुद्दामा बैंकका शाखा प्रबन्धकलाई २१ करोड ५३ लाख जरिवाना र ७ वर्ष कैद सजाय तोकिएको छ।
उच्च अदालत तुलसीपुरले मंगलबार गरेको अन्तिम फैसलाले बैकको नारायणपुर शाखा प्रबन्धक समिर बुढाथोकीलाई १८ करोड ३ लाख जरिवाना र ३ करोड ५० लाख बिगो जरिवाना गरेर २१ करोड ५३ लाख रुपैयाँ जरिवाना र सात वर्ष कैद सजाय तोकिएको अदालतका रजिष्टार याम बहादुर बुढामगरले जानकारी दिए।
दाङमा केन्द्रीय कार्यालय रहेको साविक वेष्टर्न डेभलप्मेन्ट बैक मर्जपछि बनेको देव विकास बैकको नारायणपुर शाखामा १८ करोड हिनामिनाको मुद्दा उच्च अदालतमा परेको थियो। देव विकास बैंक नारायणपुर शाखा दाङमा १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीबारे उच्च अदालत तुलसीपुरले अन्तिम फैसला यसअघि सुनाए पनि शाखा प्रबन्धकको तीन वर्षभन्दा बढी कैद सजाय हुने भएपछि मंगलबार पूर्ण सुनुवाइ भएको हो।
त्यही सुनुवाइले शाखा प्रबन्धक बुढाथोकीलाई सात वर्ष कैद र २१ करोड ५३ लाख बिगोसहति जरिवाना भराउने फैसला गरेको छ।
समिर बुढाथोकीले साविक वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि १५ महिनासम्म कर्जा खाताको भौतिक फाइल नबनाई बैंकिङ सफ्टवेयर प्रणालीबाट ३६ वटा कर्जा खाता खोलेका थिए। ती खाताबाट १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा रकम सिर्जना गरेको पुष्टि भएको छ।
५६ जना प्रतिवादीमध्ये ३३ जनालाई जरिवाना र कैद सजाय अदालतले तोकिए सकेको छ। जसमध्ये ३३ जनालाई एकै साथ जरिवाना र कैदको फैसला भएको उच्च अदालतले जनाएको छ। अदालतका मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजुराम सिलवालको इजलासले बैंकका शाखा प्रबन्धकसहित अन्य ३३ जनालाई कैद र जरिवाना को फैसला सुनाएका हुन्।
तीन वर्ष पहिले घोराही उपमहानगरपालिका-१० नारायणपुर शाखा कार्यालय रहेको बैकमा हिनामिना भएको सार्वजनिक भएको थियो। त्यसपछि बैंकको केन्द्रीय समितिले बैंकका कर्मचारी र तत्कालीन अवस्थाका सञ्चालक समिति सदस्यविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको थियो।
मुद्दाको झण्डै तीन वर्ष पछि सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुरले ३३ जना प्रतिवादीलाई दोषी ठहर गर्दै कसुर अनुसारको कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला सुनाएको छ।
शाखा प्रबन्धक र अन्य खातावालहरु कारबाहीमा परेका छन्। प्रमाणको आधारमा न्याय सम्पादन भएको अदालतको भनाइ छ। यद्यपि सञ्चालक समिति र लेखा परीक्षक र केही कर्मचारीहरुले सफाइ पाएका छन्। शाखा प्रबन्धकले ३६ वटा नक्कली कर्जा खाता खोली बदमासी गरेका पाइएको फैसलामा उल्लेख गरिएको छ।
'बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसूरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालते गरेको छ। बुढाथोकीले अभियोग दाबीअनुसार बैंकिङ (कसुर तथा सजाय) ऐन, बमोजिमको कसुर गरेको देखिएकाले निज प्रतिवादी समिर बुढाथोकीलाई अभियोग दाबीबमोजिमको कसुर कायम हुने ठहर्छ' फैसलामा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)