भ्रामक सूचनामा बालबालिका!

भ्रामक सूचनामा बालबालिका!

कोरोना महामारीले झन्डै तीन वर्ष संसार नै आक्रान्त बन्यो। यसले घरबाटै काम गर्ने र पढ्ने संस्कारको विकास गर्‍यो। विद्यालयका भौतिक कक्षा कोठा भर्चुअल कक्षामा परिणत भए। स्कुले बालबालिकाको कक्षा कोठा मोबाइल, कम्प्युटर र अन्य डिजिटल डिभाइसमा बन्यो। उसो त महामारी सुरु हुनु अगाडि नै बालबालिकामा डिजिटल लत लागिसकेको थियो। उनीहरू बाहिर खेल्ने, घुम्ने र रमाइलो गर्नेभन्दा पनि खेलको लतमा लागिसकेका थिए। यसले उनीहरूको भौतिक खेल र अभ्यासमा असर गरिसकेको छ।

कोरोना महामारीले बालबालिका र प्रविधिलाई झनै नजिक ल्यायो। प्रविधिको अधिक प्रयोगले बालबालिकामा पार्ने मनोवैज्ञानिक असरका सम्बन्धमा विगत एक दशकयता बहस भइरहेकै छ। विशेषत हिंसात्मक दृश्य, पोर्नाेग्राफी, अनलाइन गेमले बालबालिका पार्ने असरलाई कसरी न्यूनीकरण गर्ने भन्ने सम्बन्धमा बिभिन्न कोणबाट संसारभर बहस भइरहेकै छ। त्यो चुनौती अहिले पनि कायमै छ। त्यससँगै अब नयाँ र डरलाग्दो चुनौती थपिएको छ। त्यो हो– सामाजिक सञ्जाल, अनलाइन, युट्युब र कतिपय सन्दर्भमा स्थापित मिडिया हाउसबाट नै फैलने मिथ्या, भ्रामक र झुटा सूचनाबाट बालबालिकालाई कसरी जोगाउने ? अहिले घन्टौसम्म मोबाइलमा बस्दा उनीहरूले कस्ता विषय पढिरहेका वा हेरिरहेका छन् ? अनलाइनले उनीहरूलाई कुनै विषयमा ‘मिसलिड’ त गरिरहेको छैन ?

अहिलेसम्म यस विषयमा एकदमै सीमित र विशेषत मिडिया क्षेत्रमा मात्र बहस भइरहेको छ। त्यसबाहेक एकदमै शिक्षित वर्गमा समेत मिथ्या र सत्य सूचनाबारे जानकारी छैन। सामाजिक सञ्जाल प्रयोग गर्दा जेजस्तो फोटो, भिडियो र विषयवस्तु आउँछन्, त्यसलाई पूरै सत्य ठाने ठूलो जमात छ। परम्परागत रूपमा मिडियामा जे आउँछ, त्यो सही नै हुन्छ भन्ने बुझाई अहिले प्रविधिको प्रयोगमा पनि छ। गलत र मिथ्या सूचनाको उत्पादन कसरी हुन्छ र त्यो कसरी फैलन्छ भन्ने ज्ञान पढेलेखेका व्यक्तिहरूलाई समेत एकदमै कम छ। अभिभावकले नै जानेर वा नजानेर भ्रामक सूचना फैलाइरहेका छौं। विश्वसनीय मिडियामा काम गरेका स्थापित सञ्चारकर्मीलाई पनि यस विषयमा पर्याप्त जानकारी छैन। जानेर वा नजानेर उनीहरूले नै मिथ्या सूचना उत्पादन र प्रसारण गरिरहेका छन्।

अभिभावक र शिक्षकहरूलाई नै मिथ्या सूचनाका बारेमा पूर्ण जानकारी छैन भने बालबालिकालाई यो कसरी थाहा होस् ? कतिपय सन्दर्भमा बालबालिकालाई मिथ्या सूचना पढाइरहेका त छैनौं ? सरकार, सर्वसाधारण र सबैले गम्भीर भएर सोच्ने बेला आएको छ। सर्वप्रथम त आमरूपमै यस विषयमा जागरण फैलाउन आवश्यक भइसकेको छ। अनलाइन प्लेटफर्ममा फैलन सक्ने मिथ्या सूचनाका सम्बन्धमा एउटा अभियान नै सञ्चालन गर्नुपर्ने बेला भइसकेको छ। यसका लागि सरकारको भूमिका महत्वपूर्ण हु्न्छ। धेरै मुलुकले मिथ्या सूचनाबिरुद्ध लड्न राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइसकेका छन्।

यसका लागि उनीहरूले ठूला सूचना प्रविधिसम्बन्धी कम्पनीहरूसँग सहकार्यसमेत गरिसकेका छन्। मिथ्या सूचना पोष्ट भए पनि त्यसलाई तत्कालै हटाउने प्रबन्ध गरिसकेका छन्। तर, नेपालमा यो कसैको पनि प्राथमिकतामा छैन। दातृ निकायको सहयोगमा तथ्य जाँचसम्बन्धी केही काम सुरु भएका छन् तर त्यो जनस्तरमा पुगेकै छैन। विशेषत सञ्चार तथा प्रविधि मन्त्रालय, सूचना विभाग र प्र्रेस काउन्सिल नेपालले पहल लिनुपर्ने हो। तर, त्यो भइसकेको छैन। गलत र मिथ्या सूचनाले ल्याउने समस्याका बारेमा धेरैलाई ज्ञान छैन। मिथ्या सूचनासँग लड्ने कार्य केही परियोजना र कार्यक्रममले मात्र सम्भव छैन। यो एउटा दीर्घकालीन समस्या हो। त्यसैले त्यही अनुकूलको योजना बनाउन आबश्यक छ।

अब मिथ्या र भ्रामक सूचना के हो ? यसबाट कसरी जोगिने भन्ने सम्बन्धमा अब बालबालिकालाई विद्यालयदेखि नै पढाउन र बुझाउन आवश्यक भइसकेको छ। त्यसैले विद्यालयको पाठ्यपुस्तकमै यसबारे केही व्यवस्था गर्न आवश्यक भइसकेको छ। केही जनजागरण र सीमित कार्यक्रमले मात्र यो पर्याप्त हुँदैन। यसले उनीहरूलाई अनलाइन प्लेटफर्ममा आएका सूचनालाई कसरी फिल्टर गर्ने ? ज्ञान दिन्छ। यसका लागि देशभरका शिक्षक शिक्षिकालाई समेत जानकारी दिन आवश्यक छ। यसका लागि सरकार, विद्यालय र सरोकारबालाबीच सुदृढ सहकार्यको आवश्यकता छ।

फेसबुक, ट्वीटरलगायत सोसल मिडियालाई नेपालमा शाखा खोल्न आग्रह गर्न ढिलो भएको छ। जसले यो नियन्त्रण गर्नेछ। विभिन्न व्यक्ति र समूहले कुत्सित उद्देश्य पूरा गराउन मिथ्या सूचनाको सहारा लिन सक्छन्। जुन सही नहुन सक्छ तर बालबालिकाले त्यसैलाई सत्य मानेर कुनै विषयमा धारण बनाइरहेका हुन्छन्। कुनै विषयमा मिथ्या सूचना फैलाइएको हुन्छ तर बालबालिका सत्य ठानेर गलत बाटोमा लम्कन्छन्। कोभिड–१९ को उपचार, औषधि र भ्याक्सिनको सम्बन्धमा निकै गलत सूचना अनलाइन प्लेटफर्ममा फैलाइए। जसले नकारात्मक परिणाम उत्पन्न गर्न सक्छ।  हाम्रा बालबालिका अहिले नै भ्रामक र मिथ्या सूचनाको शिकार भइसकेका हुन सक्छन्। गम्भीर भएर सोचेनौं भने परिणाम जे पनि हुनसक्छ।

यतिबेला पढाइका लागि बालबालिकाले अत्यधिक रूपमा इन्टरनेटको प्रयोग गरिरहेका छन्। त्यससँगै उनीहरूले मिथ्या र गलत सूचना त लिइरहेका छैनन् ? भ्रामक र मिथ्या सूचनाले बालबालिकाको दिमागलाई हिंसात्मक समेत बनाइरहेको हुनसक्छ। बालबालिकामा के सत्य र के झुटो हो भन्ने छुट्याउन सक्ने क्षमताको विकास भइसकेको हुँदैन। त्यसैले सरकारले अब बालबालिकालाई यो प्रकोपबाट कसरी जोगाउने भन्ने सम्बन्धमा योजना बनाउन ढिलो गर्नुहुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.