कविता : मेरो डायरी!
मेरो डायरी!
बुवाका मल्हम जस्ता शब्दहरू,
साथीहरूले दिएको जिन्दगीको परिभाषा,
मनपर्ने मान्छेको सुवास...।
साँच्चै,
अचम्मको डायरी थियो त्यो।
ती प्रत्येक पन्नाहरू
मसँगै संवाद गर्थे र
मेरो मन हलुका पार्थे।
आहा ! त्यो दिनभरि मलाई छोएर
चिसो बतास पनि
मेरै वरिपरि हिँडिरहन्थ्यो।
तर कुनै बेला,
ती पन्नाहरू पर्लक्क पल्टिँदा
उत्ताउलो बर्खे भेल पसेको
भान हुन्थ्यो मलाई
त्यतिबेला मेरा आँखा
झरीलाई बिर्साउने गरी
एकोहोरो बर्सिरहन्थे।
नढाँटी भन्नुपर्दा,
आजसम्म त्यो डायरीभन्दा नजिक
मेरो आफ्नो कोही हुन सकेन।
सम्झना आलै छ नि,
एकदिन काठमाडौं
हुस्सु ओडेर निदाइरहेथ्यो,
त्यही बेला मेरो डायरी
लालुपातेको रंग पैंचो माग्न
भन्दै हिँडेको थियो।
मेरो डायरी फर्किआएको दिन
म कति पोखिन्छु होला...
एक डोको पीरहरू लुकाएर राखेकी छु,
थोरै खुसीका पुलिन्दाहरू पनि छन्।
ती सबैलाई लालुपातेसँग
मागिल्याएको रंगमा चोपलेर
खाली पन्नाहरू भर्नेछु।
त्यतिबेला, ऊ रमाउँदै भन्दो हो
‘अब तिम्रा अक्षरहरू टुहुरा हुँदैनन्।
हेर त, म छु नि !’
साँच्चै,
मेरो डायरी,
लालुपातेको छहारीमा
थोरै रातो रंग बोकेर
मलाई पर्खिरहेको थियो।