चलचित्रका राजा : राजामौली
कोरोना कहरपछि चलचित्रहलले दर्शक पाउँछ भन्ने आशामा ठूलो बजेटका नेपाली फिल्महरु धमाधम प्रशारण हुन थाले, हुने लाइनमा छन्। कुन चलचित्र सफल हुन सक्यो, सकेन दर्शकलाई त्यति वास्ता भएन। ट्रेलर हेरेर चलचित्र हेर्न जानेहरु, त्यही भएर नेपाली फिल्म हेर्नै मन लाग्दैन भन्दै हलबाट निस्किदै गरेका भेटिन्छन्।
कलाकारहरु पनि त अलिकति नमिठो खाना खाउ, तर नेपाली नै खाना खाउ न, अलिकति नराम्रो फिल्म हेरौँ, तर नेपाली नै हेरौँ न भन्दै आफ्नो चलचित्रको प्रचार गरिरहेका हुन्छन्। आफूहरु राम्रो चलचित्र नबनाउने अनि दर्शकले चाहिँ अलिकति नराम्रो भए पनि नेपाली फिल्म हेर्दिन पर्ने, तरिका हो।
यही मेसोमा १८ गते शुक्रबार प्रदर्शनमा आयो एक अति नै प्रतिष्ठित चलचित्र आरआरआर। निक्कै नै तामझामका साथ, करोडौं खर्चेर बनाएको चलचित्रको प्रतिक्षा दर्शकलाई व्यग्र थियो, कारण यस चलचित्रका निर्देशक एसएस राजामौली। राजामौलीले कुन-कुन चलचित्र बनाए भनेर कसैलाई मतलब थिएन। तर अब हुन थालेको छ। मख्खी, मगधिराजस्ता चलचित्र सफल भए पनि बाहुबलीले हिन्दी चलचित्र जगतमा एक नँया इतिहास कोर्न सफल भएको थियो। चलचित्र हेरेपछि हरेक दर्शकको मुखमा केवल एक प्रश्न झुण्डिएको थियो, 'कटप्पाने बाहुबलीको क्यु मारा'?
चलचित्र हेरेर हल बाहिर ननिस्कदै दर्शकहरु बाहुबलीको सेकेण्ड पार्टको पर्खाइमा पुगिसकेका थिए। बाहुबली: दी बिगिनिङपछिको पर्खाइलाई खेर जान नदिई राजामौलीले बाहुबली: दी कनक्लुजनमा पनि उस्तै स्वाद पस्किए, अझ स्वादिष्ट पस्किए।
एक सफल चलचित्रपछि त्यस चलचित्रमा भएका कलाकारहरु बढी सफल मानिन्छन्। कलाकारहरुको नाम चल्छ र बजारमा बिक्न थाल्छन्। बाहुबलीमा प्रभासको सफलतापछि उनको माग बलिउडमा पनि उत्तिकै रह्यो। उनले महँगो बजेटमा साहो, राधेश्यामजस्ता चलचित्रमा अभिनय गरे। तर उक्त चलचित्रहरुले अपेक्षित बजार पाउन सकेन, भनौँ प्रभासले दर्शकको चित्त बुझाउन सकेनन्। तर बाहुबलीपछि राजामौलीको क्रेज अहिले स्टारभन्दा माथि छ। साउथकामात्र हैनन्, बलिउडका ‘ए’ ग्रेडका कलाकारहरु पनि अहिले उनीसँग काम गर्न चाहन्छन। कारण, राजामौली एक ब्राण्ड बनिसकेका छन्।
कमर्सियल लभ स्टोरी मुभी बनाउँछु भनि चल्तिका कलाकारका लागि लाखौँ खर्चेर फिल्म बनाउनुभन्दा फिल्मका कथा तथा संवादमा ध्यान दिन जरुरी छ, अभिनयमा ध्यान दिन जरुरी छ, मेकअप, पार्श्व ध्वनि, छाँयाकन, सम्पादनलगायतका कुरामा ध्यान दिन जरुरी छ।
दर्शकहरु पनि अब चलचित्रमा उनले लिने कलाकारका नामको कारणले नभई उनको ब्राण्डको कारणले नै हलसम्म पुग्छन। र, राजामौलीले यसपटक पनि दर्शकलाई निराश बनाएनन्। उनको चलचित्र आरआरआर अहिले एक उत्सव बनेको छ।
म चलचित्र र वेवसिरिज हेर्न एकदमै रुचाउन मान्छे। सिधा अर्थमा नाटक हेर्न रुचाउने मान्छे भनौं। तर नाटकीय नाटक भने म हेर्नै सक्दिनँ। चलचित्र प्रेमी भए पनि चुजी पनि उत्तिकै। चलचित्रका जनराहरुमा एक्सन, कमेडि, प्रेम-रोमान्स, फिक्सन, हरर मलाई मन पर्दैन्न। किनकि मलाई मन पर्ने चलचित्र भनेको नाटक नगरिएको नाटक हुनुपर्छ। ‘नो एक्टिङ, प्लिज।’
बलिउडका मूलधारका हिन्दी भाषाबाहेक सबै खाले चलचित्र मेरा लागि साउथ इन्डियन मुभी हुन्थे। ती साउथ इन्डियन फिल्म त म हेर्नै सक्दिनँ। त्यसमा भएका नक्कली प्रेम, अथाह देशभक्ति, रोनाधोना, छेउ न टुप्पाको एक्सन मलाई फिटिक्क मन नपर्ने। आजसम्म मैले कुनै पनि साउथ इन्डियन मुभी पूरा हेरेको छैन, बाहुबलीबाहेक।
मलाई साथीहरुले हेर्न सुझाएका बब्बालै छ क्या भन्ने चलचित्र पनि मन पर्दैन, हुन त मलाई स्वाद लाग्ने चलचित्र पनि मेरा साथीहरुले मन पराउँदैनन। त्यही भएर हलमा साथीहरुसँग जाने माहौल मेरो खासै बन्दैन। प्रोमो नै मन नपरेका चलचित्रका लागि बुधबार नै भए पनि हलमा गएर डेढ सय पनि खर्च गर्न मन नलाग्ने।
बाहुबलीको मैले प्रोमो पनि हेरेको थिइन। कारण, मेरो लागि बाहुबली एउटा साउथ इन्डियन मुभी नै थियो। सबैले कटप्पा ने बाहुबलीको क्यु मारा भनिरहँदा पनि मलाई बाहुबली हेर्न कुनै चासो थिएन। तर कोरोनाकारण लगाइएको लकडाउनमा समय कटाउन युट्युबमा बल्ल बाहुबली हेरियो। अनि बल्ल बुझे, ‘मुभी इज लार्जर द्यान लाइभ’।
आरआरआर म हलमा गएर हेर्दिनँ, किनकि यो चलचित्र मेरो मनपर्ने जनराभित्र पर्दैन। तर यस चलचित्रको क्रेज देख्दा राजामौलीको तारिफमा दुई शब्द खर्चिन मन लागेको हो, खर्चिन नभनौ, ब्यक्त गर्न। नेपालका सबै हलहरु अहिले हाउसफुल छन्। महँगोमा टिकट किन्छुभन्दा समेत नपाइरहेको अवस्था छ। चलचित्र हेर्न जाँदाको उमग त दर्शकमा छदै छ त्यसबाहेक चलचित्रको गीतमा र चलचित्र समाप्त भइसकेपछि पनि हलभित्रै दर्शकहरु नाचिरहेको देख्दा चलचित्र मनोरञ्जनको कति ठूलो हिस्सा हुनसक्छ भन्ने देखाएको छ।
आरआरआरबाट अब नेपाली चलचित्रकर्मीले केही सिक्नुपर्छ, अब बुझ्नुपर्छ, फिल्म चल्न कन्टेन्ट चाहिन्छ जसमा नयाँपन होस। कमर्सियल लभ स्टोरी मुभी बनाउँछु भनि चल्तिका कलाकारका लागि लाखौँ खर्चेर फिल्म बनाउनुभन्दा फिल्मका कथा तथा संवादमा ध्यान दिन जरुरी छ, अभिनयमा ध्यान दिन जरुरी छ, मेकअप, पार्श्व ध्वनि, छाँयाकन, सम्पादनलगायतका कुरामा ध्यान दिन जरुरी छ। लुट चलचित्रले जुन इतिहास रचेको थियो, म चाहन्छु त्यस्ता इतिहास नेपाली चलचित्र क्षेत्रमा बारम्बार दोहोरियोस्। होइन भने, अलिकति नराम्रै भए पनि नेपाली चलचित्र नै हेरम न भन्ने पक्षमा म छैन।