गठबन्धनको बलमा होइन, आफ्नै तागतमा चुनावमा जाने हो : प्रचण्ड
रोल्पा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नै पार्टीको तागतमा चुनावमा जाने र परिणाम आफ्नो पक्षमा पार्ने बताएका छन् । 'गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको तागतमा स्थानीय चुनाव जाने हो । लामो समयपछि रोल्पा आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, 'गठबन्धन र तालमेल गर्नेबारे पनि ध्यान दिइनेछ ।'
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराको मेबाङस्थित घर पुगेका अध्यक्ष दाहालले पत्रकारसँग बोल्दै देश सम्पूर्णरुपमा चुनावमा गएको बताए । सबै दलले चुनावबाट आफ्नो पक्षमा परिणाम ल्याउन लागि परेका छन् , अध्यक्ष दाहालले भने, 'हामीले पनि आफ्नो पार्टीले आफ्नै खुट्टामा टेकेर, आफ्नै बलको तागतमा चुनावमा जाने हो । गठबन्धनको भर परेर होइन आफ्नै तागतमा चुनाव लड्ने हो ।'
उनले गठबन्धन र तालमेल समेत गर्न सकिने बताए । महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुनेबारे छलफल चलिरहेको बताए । कांग्रेसको केन्द्रीय समितिको बैठकका अधिकांश सदस्यले समेत तालमेल र गठबन्धन गरेर जानेबारे बोलिरहेको तर्फ संकेत गर्दै गठबन्धन हुनेतर्फ संकेत पनि गरे ।
विषेश राजनीतिक परिस्थितिमा बनेको गठबन्धन भएको जिकिर गर्दै प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको समेत आरोप लगाए । जनयुद्धले ल्याएका उपलब्धिलाई समेत उल्ट्याउन खोजिएको समेत दावी गरे । रोल्पा नगरपालिकाले रोल्पाको अग्लो डाँडा सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यु टावर उद्घाटन गर्न आइपुगेका अध्यक्ष दाहालले प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा संक्षिप्त बोले ।
अध्यक्ष दाहालले जनयुद्धको तयारी, आधार क्षेत्र रोल्पालाई बनाएको र अन्तिम समयमा दुई वर्ष रोल्पामा बसेको समेत स्मरण गरे । उनी शान्ति प्रक्रियायता भने सात वर्षपछि रोल्पा आएका हुन् । हेलिकोप्टरबाट आएका दाहाल सिधै महराको घर पुगे । महराका पत्नी सीता महराको सम्झनामा निर्माण गरिएको सीता स्मृति पार्कको समेत अवलोकन गरे । अध्यक्ष दाहालसँगै नेता महरा, लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल र रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी समेत थिए ।
अध्यक्ष दाहालले जनयुद्ध स्मृति भ्यु टावर उद्घाटनसहित नेकपा माओवादी जिल्लाले सदरमुकाम लिबाङमा आयोजना गर्ने खुला सभालाई सम्बोधन गर्नेछन् ।