विकासको संवाहक ‘मिनी नेपाल’
नेतृत्व पंत्तिमा स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्तिको अभाव हुनु, आधुनिक (प्रविधि) युगमा आइपुग्दा पनि मानिसको अन्तरमनमा गढेर बसेको जातीय विभेद नहट्नु र पितृसत्ताात्मक सोचजस्ता कुरा गाउँ, समाज र देश विकासका मुख्य बाधक वा समस्या हुन् भन्ने कुरा उपन्यासले स्पष्ट पारेको छ।
देश विकासमा देखिएका समस्या र विकृति औंल्याउन होइन, यसको दीर्घकालीन समाधानका लागि मार्गनिर्देशन गर्न सिर्जना गरिएको उपन्यास हो, ‘मिनी नेपाल’। जसका सर्जक हुन्, मनोहरि खड्का। यस उपन्यासलाई उनले ‘विकासको संवाहक’ भनेर चिनाएका छन्। नाटक लेखन तथा निर्देशनमा छुट्टै पहिचान बनाएका खड्काको यो पहिलो उपन्यास हो। यसबाट पनि उनले आफूलाई एक उपन्यासकारसँगै विकासको मोडेल दिएर विकासका मार्गनिर्देशकका रूपमा समेत उभ्याएका छन्।
नेतृत्व पंक्तिमा स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्तिको अभाव हुनु, आधुनिक (प्रविधि) युगमा आइपुग्दा पनि मानिसको अन्तरमनमा गढेर बसेको जातीय विभेद नहट्नु र पितृसत्तात्मक सोचजस्ता कुरा गाउँ, समाज र देश विकासका मुख्य बाधक वा समस्या हुन् भन्ने कुरा उपन्यासले स्पष्ट पारेको छ। यस्ता अन्धविश्वास तथा जातिवादी संकीर्ण सोच, असक्षम नेतृत्वबाट विकास हुँदै गएका चाकडी, घुस्याहा प्रवृत्ति र यस्ता समस्या हटाएर देशलाई समृद्ध बनाउने उपाय दिनु यस उपन्यासको आशय हो।
उपन्यासमा लह नामक एक गाउँ छ। जुन नेपाल जस्तै सुन्दर र शान्त छ। लहभन्दा उच्च भागमा डाँडा गाउँ र खोलापारि दाहाल गाउँ छ। लह गाउँमा विभिन्न जातजातिका मानिसको बसोबास छ भने दाहाल गाउँ बाहुनहरू मात्रै भएको बस्ती हो। जहाँ देवी दाहाल, गोपी दमाई, पण्डित धरणीधर दाहाल, कुलबहादुर, जगनाथ, राम्री दिदी, लक्ष्मी, रमा, पेम्बा लामा, गुरुप्रसाद, लीलाधर, प्रवीण लगायतका पात्रहरू छन्। उनीहरूकै प्रयोग गरी उपन्यासकारले एक ‘मिनी नेपाल’को परिकल्पना गरेका छन्।
दाहाल गाउँबाट लह गाउँमा पण्डित धरणीधरलाई धूमधामसँग ल्याइन्छ। मुख्यका कथा यहीँबाट सुरु हुन्छ। धरणीधरकी बुहारी, लीलाधरकी श्रीमती देवीको छिमेकी गोपी दमाईसँग माया बस्छ। तर, उनीहरूको जात नमिलेकै कारण आफूमाथि केही दुर्घटना हुन्छ भनेर भूमिगत हुन्छन्। र, जीवनभर डर, त्रासले लुकेर बस्न बाध्य छन्। केही समयपछि लीलाधर सीडीओ भएर आएपछि गोपी नागरिकता बनाउन जान्छ। उसले नागरिकतामा लीलाधरकै सल्लाहले थर परिवर्तन गर्छ। त्यस्तै, देवीले आफूलाई सानोमा देवी भन्दाभन्दै ‘मिनी’ भनेको कुरा सपनामा देख्छे। र, समाजमा व्याप्त जातीय विभेदले आफूलाई दुःख परेको कुरा सम्झिन्छ। हामी सबै एक जात हौं भनेर ‘मिनी नेपाल’ नामबाट नागरिकतामा लिन्छे। यो प्रसंगबाट पनि सर्जकले जातीय विभेदबाट माथि उठ्न नसकेको समाजमा सबै मानिस समान हौं भन्ने सन्देश दिन खोजेका छन्।
त्यस्तै, उपन्यासले राजनीतिलगायत विविध क्षेत्रमा आफूमा क्षमता नभएपछि अरूको चाकडी तथा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाएको कुरा छर्लंग पारेको छ। राजा आउनुअघि गाउँमा के–के बन्दोबस्त भयो भन्दै प्रधानमन्त्री अवलोकनमा आउँछन् र नेता जगन्नाथलाई भन्छ, ‘ठाडो खोलादेखि लह गाउँको गाविस भवनसम्म हिजै बेलुकी पूरै पाकेको गोलभेँडाका बोट, अनि त्यसको तल लहलहाउँदा काउलीका बोट दुवैतिर रोपिएका छन्। गोलभेँडाको बोटमा पात पनि छैन। काउलीको डाँठ पछि छैन। हिजो रोपेर हिजै फलेको हो कि के हो ?’ एक दिनका लागि गरिएको विकासले चाकडियाहरूको आधा रकम झ्वाम पारेको प्रसंगले देशको विकास हुँदैन यथार्थ उपन्यासमा व्यक्त भएको छ।
उपन्यासकी एक महत्वपूर्ण पात्र हुन्, राम्री दिदी। जो विदेश (कलकत्ता) मा गाउँका केही युवतीलाई लिएर जान्छिन्। उनीहरूलाई यौनधन्दामा लगाउँछिन्। तर, जबर्जस्ती होइन। उनीहरूकै इच्छाबमोजिम। साथै, अन्य सीप सिकाएर पठाउँछिन्। राम्री वर्षमा एकपटक गाउँ फर्किन्छिन्। तर, फर्किँदा गाउँमा चर्पीका छाना बनाउन जस्ता पाता लिएर आउँथिन्। राम्री दिदीको यस प्रसंगले ‘जहाँ गएर काम गरे पनि आफ्नो गाउँठाउँको विकासमा हामी नै लाग्नुपर्छ’ भन्ने सन्देश उपन्यासले दिन खोजेको छ।
राम्रीसँगै कलकत्ता गएकी लक्ष्मी देह व्यापारमा लाग्छिन्। तर, उनलाई यो पेसा मन पर्दैन। पछि उनी कलकत्तामै लुगा सिउने सीप सिक्छिन्। गाउँमा आएर टेलर खोल्छिन्। पछि च्याङ्बा लामासँग प्रेम हुन्छ र विवाह पनि हुन्छ। तर, च्याङ्बाले आफ्नो भाइमार्फत लक्ष्मीले कलकत्तामा यौनधन्दा गरेको थाहा पाउँछ। र, लक्ष्मीलाई अस्वीकार गर्छ। उपन्यासको यस प्रसंगले एकतिर हाम्रो पितृसत्तात्मक समाजलाई इंगित गर्छ भने अर्कोतिर विदेशमा गएर सीप सिकेर आएकाहरूको सीपलाई सम्मान गर्न आवश्यक भएको देखाउँछ।
लह गाउँका चार सय घरधुरी छन्। गाउँमा बाटो ल्याउने सल्लाह भएपछि सबैलाई एक–एक घडेरी बाटोमा चाहिने। तर, कसैले आफ्नो जग्गा मिच्न नदिने सोचाइ थियो। एकाएक सबैमा बाटो हामी सबैका लागि हो भन्ने भावना जागेपछि बाटोभन्दा पछाडि जग्गा हुनेले अगाडिलाई पनि दिने भनेर सहमत हुन्छन्। यसरी लह गाउँमा बाटोको विकास पनि छिटो भएको देखिन्छ। तर, नेपालमा भने देश विकास गर्ने आइडिया जनतालाई दिन नसक्दा देशमा विकास हुन नसकेको उपन्यासले प्रस्ट्याउँछ।
बाटोघाटो, बिजुली, पुलपुलेसा, पार्क, गेट, मन्दिर बनाउँदा सार्वजनिक निजी साझेदारी ‘पीपीपी’ मोडेल अपनाउन उनी यसको नाम ‘मिनी नेपाल’ राखिन्छ। जुन निकै समृद्घ देश बन्छ।
गाउँलेहरूमा विकास गर्नुपर्छ भन्ने चेतना आएपछि लह गाउँ एकाएक विकसित हुन्छ। लह गाउँ ‘आदर्श गाउँ’का रूपमा पनि चिनिन थाल्छ। हरेक छलफलमा लेखकले विभिन्न पात्रका माध्यमबाट गाउँको विकास गराउने उपाय बताउँछन् र गाउँलेहरू त्यसको अनुसरण गर्छन्।
लह गाउँको अनौठो चलन छ। चैत मसान्तमा छलफल सुरु हुन्छ। छलफलमा जिल्लाबाट सीडीओ, एलडीओ, डीई, डीएसपीलगायतलाई आमन्त्रण गरे पनि प्रमुख अतिथि भने गाउँकै विद्यालयमा प्रधानाध्यापकलाई बनाइन्छ। प्रअलाई नै उनीहरू माननीय भनेर सम्मान गर्छन्। वास्तविक नेपालमा देशका मुहार फेर्न शिक्षा क्षेत्रमा कार्यरत वा शिक्षकलाई सम्मान नगरिने प्रवृत्तिको अन्त्य गर्न सके देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। त्यतिमात्रै होइन, गाउँलेहरूलाई प्रअहरूलाई सहकारीबाट ऋण लिएर भन्सार छुटमा गाडी सुविधा पनि दिएका छन्। यसबाट सहकारीमा लगानी गर्ने किसानहरूको पनि प्रगति भएको प्रसंग बडो रोचक ढंगले उतारिएको छ।
अमेरिकाबाट एमबीएस गरेर गाउँ आएका प्रवीण नामका एक पात्र छन्। जसले गाउँको विकास देखेर निकै खुसी छन्। तर, गाउँलाई अझै, धार्मिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले कसरी विकास गर्न सकिन्छ भन्ने कुरा गाउँले सामु सुनाउँछन्। बाँझो खेत वा उब्जनी कम हुने खेतलाई कसरी मूल्यवान् बनाउने, धानखेतीको मूल्य कसरी बढी बनाउने, सेयरमा लगानी लगाएर उद्योगमा लागनी कसरी गर्ने भन्नेबारे सल्लाह दिन्छन्।
बाटोघाटो, बिजुली, पुलपुलेसा, पार्क, गेट, मन्दिर बनाउँदा सार्वजनिक निजी साझेदारी ‘पीपीपी’ मोडेल अपनाउन उनी सबैलाई सल्लाह दिन्छन्। उनको सल्लाहमा सबै सहमत हुन्छन्। त्यसपछि उनकै सल्लाहबमोजिम लह, दाहाल गाउँ र डाँडा गाउँलाई मिलाएर यसको नाम राख्छन्। ‘मिनी नेपाल’ राखिन्छ। जुन निकै समृद्ध देश बन्छ। यस प्रसंगमार्फत लेखकले राजनेताहरूमा दृढ दृष्टिकोण र इच्छाशक्ति भए नेपाललाई मिनी नेपालजस्तै विकास गर्न सकिन्छ भन्ने कुरा दर्शाएका छन्।
उपन्यासको मेरुदण्ड भाषा, शैली र विषयवस्तु हुन्। यस उपन्यासको बलियो पक्ष भनेको विषयवस्तु नै हो। विषयवस्तु अति संवेदनशील, विशिष्ट छ। यद्यपि, सरल भाषाशैली हुँदाहुँदै कहीँ कतै हिज्जेको समस्या देखिन्छ।