राजनीतिमा दाननीति

राजनीतिमा दाननीति

वैदिक युगको अत्यन्त तेजस्वी बालक थिए, नचिकेता। कठोपनिषद् भन्छ, नचिकेता वाजश्रवसका नाति र वाजश्रवस ब्राह्मणका छोरा थिए। एक समयमा नचिकेताका पिता वाजश्रवसले विश्वजित यज्ञको अनुष्ठान गरेका थिए। विश्वजित यज्ञको अर्थ हो, आफूसँग भएको सबै कुरा दान गर्नु। नचिकेताले बाबुको भव्य यज्ञ र दान गर्ने कार्यको सूक्ष्म अवलोकन गरिरहेका थिए। उमेर सानै भए तापनि विद्वान् पिता, घरको वातावरण र आफ्नै प्रतिभाका कारण उनी निकै बुद्धिमान् थिए।

आफूसँग भएको सिरिखुरी दान गर्ने भनेर प्रारम्भ भएको यज्ञमा बाबुले कहिल्यै नब्याउने गरी बेत पसेका गाईहरू दान गरिरहेका थिए। अन्तिम दूध दुहिसकेका जीर्ण गाईहरू दान गरेको देखेर नचिकेता आश्चर्यचकित बने। दान पाउनेले उल्टै झन्झट व्यहोर्नुपर्ने त्यस्ता वृद्ध गाईहरू भिराएर पठाउनु अत्यन्त अनैतिक कर्म थियो। बाबुले नचिकेतालाई दूध पिलाउनुपर्छ भन्ने मनसायले दुहुना गाई राखेर वृद्ध र मरन्च्यासे गाई दान गरिरहेका थिए। विश्वजित यज्ञमा सर्वस्व दान गरिने हुँदा नचिकेता स्वयं पनि दान भएर जाने सम्पत्ति थिए। उनले मनमनै सोचे, के गर्दैछन् यी मेरा पिता ? यो त दुनियाँलाई निकै दानी भएको देखाउने कपटी यज्ञ हो। मेरा पिता यो लोकमा अपयश र परलोकमा दण्डका भागी हुने भए।

बाबुको आडम्बर र पाखण्ड देखेर दिक्क भए। उनले भने, ‘हे पिता ! विश्वजित यज्ञमा आफ्नो स्वामित्वमा रहेको सारा सम्पत्ति दान गर्नुपर्छ। पुत्रमाथि पिताको स्वामित्व हुने हुँदा म पनि दान हुने वस्तुमा पर्छु। मलाई कसलाई दान दिएर पठाउने विचारमा हुनुहुन्छ ? छोराले बारम्बार यही प्रश्न गर्न थालेपछि वाजश्रवस धेरै क्रोधित भए। रिसको झोकमा उनले भनिदिए, ‘म तँलाई दान गरेर मृत्युको देवता यमराजकहाँ पठाउँछु।’ नचिकेताले पिताको घोषणाबारे बडो गम्भीरतापूर्वक सोच्न थाले। जुनसुकै परिस्थितिमा गरिएको भए तापनि पिताको घोषणालाई कार्यरूपमा परिणत गर्न सहयोगी बन्नु असल पुत्रको कर्तव्य हो। उनी बाबुले 

पश्चात्ताप गरेर रुँदै ‘नजा नजा !’ भन्दा पनि नमानेर यमलोकको द्वार पुगे। द्वारमै उभिए। यमराज बाहिर कतै गएका थिए। द्वारपालहरूले उनलाई भित्र छिर्न दिएनन्। नचिकेता अन्न र जल ग्रहण नगरी तीन रातसम्म द्वारमै बसिरहे।

तीन दिनपछि यमराज आइपुगे। एउटा बालक तीन दिन तीन रातसम्म भोकै र प्यासै द्वारमा बसेको थाहा पाएर उनी बडो गम्भीर भए। यमले बालकलाई यमलोकमा आउनु र यसरी द्वारमा बसेर सत्याग्रह गर्नुको प्रयोजन सोधे। नचिकेताले आफ्नो परिचय दिँदै यमपुरीमा आउनुको कारण बताए। बालकको अठोट र धैर्य देखेर यमराजले भने, ‘तिमी तीन रातसम्म शान्त चित्तले धीर भएर भोकभोकै द्वारमा बसेको थाहा पएर म बडो प्रभावित भएको छु। त्यसबापत म तिमीलाई तीनओटा वरदान दिन्छु। माग।’ नचिकेताले पहिलो वरदान ‘पितृपरितोष’ मागे। ‘मेरा पिता प्रसन्नचित्त तथा क्रोधहीन होऊन् र मलाई पूर्ववत् माया गरुन्।’ फेरि नचिकेताले भने, ‘स्वर्गलोकमा भय, रोग, वृद्धावस्था, मृत्यु र शोक छैन। दिने नै भए पृथ्वीलोकका निवासी सबैलाई पनि स्वर्गमा झैं सुख प्राप्त हुने साधन बताउनुहोस्।’ यमराज बालकको लोककल्याणकारी माग सुनेर झनै प्रसन्न भए। उनले पृथ्वीमा पनि स्वर्गमा झैं सुख प्राप्त हुने साधनरूप अग्निविज्ञानको वरदान दिए। गलाको माला निकालेर नचिकेतालाई पहिराइदिए।

नचिकेताको तेस्रो मागले यमराजलाई झस्काइदिए। मृत्यु के हो ? किन मर्नुपर्छ ? मरेपछि के हुन्छ ? मृत्युपछि सबै कुरा समाप्त हुन्छ कि सोभन्दा पर पनि केही छ ? मृत्यु आफैंमा भयंकर किन छ ? मलाई तŒवज्ञान दिनुहोस्। यमराजले बडो नम्र शब्दमा भने, ‘धेरै विद्या पढेका र ज्ञानी व्यक्तिले पनि बुझेर नसक्ने यस्तो गुह्य कुरा तिमी बुझ्न सक्दैनौ बालक ! बरु तिमी सम्पत्ति, सन्तति, नोकर चाकर, हात्ती घोडा, जमिन, शक्ति र स्वर्गका अप्सरा माग। ब्रह्मज्ञानको ढिपी गर्नु मनासिव छैन।’ जति नै सम्झाउँदा पनि नचिकेताले मानेनन्। यमराज बालकलाई तŒवज्ञान दिन बाध्य भए। वाजश्रवसको दान र हाम्रो राजनीतिको रबैया उस्तैउस्तै देखिन्छ। वाजश्रवसले केवल सान देखाउने र नाम कमाउने नियतले असली र मूल्यवान् वस्तु आफैंसँग राखेर फुकिढल बूढा गाई दान गरेका थिए। हाम्रो राजनीतिले निर्दोष जनतालाई दान गरेर के दियो ? माटो बगाउने र पहिरा जाने ‘डाँडाकाँडामा डोजरे समृद्धि’ले उल्टै हानि पुर्‍याइरहेको छ। यहाँ चुनावको समयमा गरिबीको फाइदा उठाएर रक्सी, मासु र केही रकमको मूल्यमा मतदातालाई खरिद गरिन्छ।

नचिकेताको तेस्रो मागले यमराजलाई झस्काइदियो। मृत्यु के हो ? किन मर्नुपर्छ ? मरेपछि के हुन्छ ? मृत्यु आफैंमा भयंकर किन छ ? मलाई तत्तवज्ञान दिनुहोस्।

राष्ट्रिय सम्पदा र स्रोतको जगेर्ना हुनेभन्दा तत्कालीन तुष्टीकरणका लागि क्षणिक र अनुत्पादक कामहरू गरिन्छन्। जनताको अज्ञान, सरलता र सोझोपनको फाइदा उठाइन्छ। समृद्धि प्राप्त हुन नसक्ने कुरा दान दिनु भनेको वाजश्रवसले जीर्ण र लखतरान गाई दान गरेजस्तै हो। यो दान पाउनेलाई गरिएको ठगी र निष्ठुर अपमान हो। दुहुना गाई जति थपक्क आफूसँग राखेर निर्दोष जनतालाई घाँडो भिराए जस्तै हो तत्काल तुष्टीकरणको प्रपञ्च। यहाँ नचिकेताहरू दान भएर खाडी मलेसिया पुगेका छन्। तथापि उनीहरू हर्ताकर्ता खुसी हुने गरी रेमिट्यान्स पठाइरहेछन्। नेपाली नेतारूपी वाजश्रवसहरूलाई लोकतन्त्रले सत्ता र शक्ति दियो। परन्तु यिनीहरू राष्ट्रनिर्माणको यज्ञमा असफल भए। लोकतन्त्रको रक्षा गर्न सकियो भने यसले पनि वाजश्रवसहरूको रक्षा गर्ला। निरन्तर र मरणोन्मुख गाई मात्र दान गर्ने हो भने त त्यस्ता गाईले कति दिन वाजश्रवसको इज्जत धान्न सक्लान् ?

‘ॐ सह नाववतु सह नौ भुनक्तुसह वीर्यं करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै। ॐ शान्तिः शान्तिः शान्तिः।’ यो हो कठोपनिषद्को शान्ति वाक्य। ‘हे ईश्वर ! हामी शिक्षक र शिष्य दुवैको बराबर रक्षा गर। हामी दुवैको सँगसँगै पोषण गर। हामी दुवैलाई उस्तै पराक्रमी र तेजवान बनाऊ। हामी गुरु र शिष्य आपसमा द्वेष नगरौं।’ यहाँ शिक्षक र शिष्यको प्रसंग छ भने राजनीतिमा नेता र जनताबीचको सम्बन्धको कुरा हुन्छ। लोकतन्त्रको मूल मर्म नै राजनीति र जनताबीचको समन्वय र सहअस्तित्व हो। समाजका सबै व्यक्तिमा राजनीतिक अगुवा बन्ने क्षमता हुँदैन। कतिपय क्षमतावान्हरूमा इच्छा हुँदैन। इमान्दार र विवेकवान् मानिसहरू राजनीतिमा गए भने जनताको हकमा दुहुना गाईको व्यवस्था गर्छन्। टपरटुइयाँहरू अगुवा बने भने बूढाखाडा र थारा गाई मात्र जनताको गोठमा पुग्छन्। नचिकेता बालक थिए तापनि सुझबुझपूर्ण प्रश्न गरेका थिए। 
नेपाली जनता त प्रश्नहीन बनेर फगत दलीय बफादारीमा निमग्न छन्। ‘राज्ञ धर्मिणी धर्मिष्ठाः पापे पापाः समे समाः। राजा नमनुवर्तन्ते यथा राजा तथा प्रजाः।’ जस्ता राजा त्यस्तै प्रजा भन्ने उखान चरितार्थ भएको छ यहाँ।

आजभन्दा ४०, ४५ वर्ष अघिसम्म राजनीतिमा लागेका करिब सबै व्यक्तिको अभीष्ट न्याय र समानता नै हुने गर्दथ्यो। तर सत्तारूढ वातावरणमा भिज्दै जाँदा नियतले कोल्टे फेर्दै गयो। सार्वजनिक सम्पत्तिको वितरणको जिम्मेवारी पाउँदै जाँदा चञ्चल मन विचलित हुन थाल्यो। राजनीति राष्ट्रनिर्माणको यज्ञ हो भन्ने कुराको हेक्का हराउँदै गयो। धरातलीय वास्तविकताभन्दा तिलस्मी कुरा प्यारो लाग्न थाल्यो। कसैले पनि शासकीय ढंग जान्नु परेन। जनतालाई गुमराहमा राखेर मूर्ख बनाउने कलामा मात्र माहिर भयो राजनीति। राष्ट्रनिर्माणको यज्ञ सफल हुन त्यसको हर्ताकर्ता इमान्दार हुनुपर्छ भन्ने चेतना तिरोहित भयो। निर्मलता र निर्दोषिता गुमाउँदै जाँदा वाजश्रवस प्रवृत्ति हाबी हुँदै गयो। सारा भोलापन, सरलता र सादगी खत्तम हुँदै गयो।

नियमसम्मत तरिकाले राज्यलाई कर तिरेर धन कमाउने अधिकार सबैलाई छ। पैसा हुनेले मोजमज्जा गरुन् आपत्ति छैन। हुनेले सुविधासम्पन्न निजी अस्पतालमा उपचार गराए भयो। महँगा विद्यालयमा सन्ततिलाई पढाए हुन्छ। परन्तु यो राष्ट्र सबैको हो। यो राष्ट्रको सम्पत्ति सबैको हो। सबैलाई राज्यबाट स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी पाउने हक छ। सबैलाई यो राष्ट्रको सम्मानित नागरिक भएर जिउने हक छ। देशको हरेक नागरिकलाई धनी बनाउन सकिन्न। किन्तु सहअस्तित्वको रक्षाका लागि बहुतै धेरै गर्न सकिन्छ। सबैलाई राज्यको नियम मुताविक वैभवशाली हुने हक छ। तर राज्यको सम्पत्तिको दुरुपयोग र तथानाम गरेर होइन। सबैलाई तेजवान र पोषितहुने हक छ तर अरूको भोको पेटको मूल्यमा होइन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.