बा. २ ज ५११

बा. २ ज ५११

‘लकडाउन’ घोषणा हुँदा केही दिन भन्दै मन बुझायो कृष्णमोहनले। विकल्प नभएपछि ट्याक्सीमा परिवारै गाउँ गयो। चालक अरू पनि थिए गाउँ फर्किने। गाउँमा बसोबास भएका केही मानिसले सहर छाडे।

कृष्णमोहनको गाउँ घुमाइ नमज्जा भएन। फोन गर्दा निःशुल्क बज्ने कोरोना सन्देश झन् गज्जब मान्यो। सन्देश सुन्न पनि आफ्नाले आफ्नैलाई घन्टी बजाए। सरकारले जारी गरेको सामाजिक दूरीको आदेश पनि रमाइलोको माध्यम बन्यो।
‘ऊ सहरबाट कोरोना आए’, केही गाउँलेले जिस्क्याए।

‘ओइ कोरोना ! नजिक नआइज है’, एकले अर्कोलाई घचेटे।
‘दुई मिटर है, दुई मिटर’, हातमा लट्ठी लिएर नजिक आएकालाई घोच्दै जिस्किए कोही।
‘फलानो विदेशबाट कोरोना बोकेर आएको छ रे !’, चियोचर्चो गर्नेहरू घुमिरहन्थे।

हेर्दाहेर्दै गाउँकै स्कुल क्वारेन्टाइन स्थल बने। विदेशबाट आएकालाई त्यहीँ राखियो। गाउँमा दुईचार दिन खुब रमाइलो गरे, डर कम हँसिमजाक बढी भयो।
कृष्णमोहनका परिवारले शक्ति बढाउन बेसार पानी, जीरा पानी, कागती पानी सुनेजति सबै थोक खाए। भुटेको धनियाँको धुलो प्रयोग गर्न थाले, चियापत्तीको साटो। बोझोको टुक्रा मुखमा हालेर चुसेनन् कि !

गाउँपालिकाले दिएको राहत दस किलो चामल, पाँच किलो दाल, तीन लिटर तेल, बेसार, मसला, कृष्णमोहनले पनि ल्यायो। खसी काटे, गाउँलेले बेमौसममा दसैं मनाए। भारतबाट फर्किनेहरू महाकाली नदीमा हामफालेर नेपाल पसेको समाचार हेरेर सरकारलाई एक झमट गाली गरे गाउँलेले। गाउँमा कसैले मास्क पनि लगाइटोपले। साबुन किने, केही दिन मिचिमिची

हात धोए पनि। सहरमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई पुलिसले ठिंगुर्‍याएको देखेर दंग परे।
‘बेलैमा गाउँ आएर बुद्धि पुर्‍याइएछ !’, कृष्णमोहनले चिया पसलमा भन्यो।
‘सहरमा खान नपाए गाउँ सम्झिन्छौ’, चियापसलेले मुखभरिको जवाफ दियो।

‘आफ्नो घर, खेतबारी यहीँ छ, नआएर कहाँ जानु बुढा ?’, कृष्णमोहनले प्रतिकार गरे पनि ट्याक्सीको किस्ता र ब्याजको चिन्ताले मन भत्भती पोलिरहेको थियो।
छट्पटिएर गाउँको खुला ठाउँमा पार्किङ गरेको ट्याक्सी हेर्न आइपुग्थ्यो ऊ। पुछपाछ गथ्र्याे अनि स्टार्ट गरेर एकछिनपछि फर्किन्थ्यो।
कृष्णमोहनको बिहानबेलुकाको छाक किनेरै टार्नु पथ्र्यो। सबै कुरा जोरजाम पार्दा झन् धेरै खर्च भयो। सरकारी राहत पनि स्वाहा !

‘लकडाउन’ थपियो। गाउँ फर्किएकाहरूको रमाइलो कम हुन थाल्यो। कृष्णमोहनको खल्ती रित्तियो। गाउँमा कोरोना संक्रमित पनि देखिए। मास्क च्यातियो। काठमाडौंमा २५ रुपैयाँमा किनेकै हुलियाको मास्कलाई तीन सय तिर्न पर्‍यो गाउँमा त झन्।

‘लकडाउन’को अवधि थपिएपछि चालकहरू झन् गम्भीर भए, छलफल त्यस्तै। 

‘गाउँपालिकामा पास मागेर काठमाडौं नै फर्किने हो कि के हो ?’, कृष्णमोहनले सल्लाह माग्यो।
‘तेरो ससुरो छ गाउँपालिकामा... ! गएर के गर्छस्, ट्याक्सी चलाउँछस् ?’, ६०६१ को चालकले बेस्मारी झपार्‍यो।

कृष्णमोहनको निद्रा हरायो। पानी पिइरहन्थ्यो। कोरोनाबाट होइन, कोठाको भाडा, छोराछोरीको स्कुलको फी, बैंकमा तिर्नुपर्ने गाडीको किस्ताको रकमले झस्कियो।

‘हामीलाई मात्रै परेको हैन, सबै मान्छेलाई कति घाटा लागेको छ ! अरूलाई हेरेर मन बुझाउनु न’, पिरोलिएका श्रीमान्लाई श्रीमतीले सम्झाउन खोजी। केही खुकुलो भयो ‘लकडाउन’। परिवार छोडेर राति नै काठमाडांै हानियो कृष्णमोहन।
सहर पस्दाको खुसी साट्न नपाउँदै ऊ खस्रक्क भयो। ट्याक्सीको स्टार्ट बन्द भयो। ठेलेर छेउ लगायो। मोबिल÷पानी चेक गर्‍यो। सबै ठीक थियो। जानेजति गर्‍यो तर स्टार्ट भएन। सधैं बनाउने गरेको मिस्त्रीको फोन पनि उठेन।

रात पर्‍यो। सबैतिर सुनसान भयो। आफ्ना बाध्यता पुलिसलाई बतायो। झुपुक्क निद्रा नलागुन्जेल ट्याक्सी धकेल्यो। भक्तपुरको ठिमी आइपुगेछ ! ट्याक्सीमा भोकै सुत्यो। बिहान ठिमीको गल्लीमा चिया पसल खुल्यो। चिया र बिस्कुट खायो। रात परुन्जेल पख्र्याे, ट्याक्सी धकेलेर ग्यारेज पुर्‍यायो। भोलिपल्ट साँझ कोठा जान लाग्दा पुलिसले एक घण्टा नियन्त्रणमा लियो।
‘कोठामै क्वारेन्टाइनमा बस्नू’, पुलिसले धम्क्यायो। गाउँमा भए बोल्ने मान्छेहरू हुन्थे। सहरमा एक्लो भयो। झन् निराश !

‘यस्तो संकटमा पनि उधारो !’, सधैं सामान किन्ने पसलले सामान दिएन। खाना खाने होटल बन्द थियो। केही पार्टी प्यालेसमा कहिलेकाहीँ खान खुवाउने कुरा सुन्यो। ऊ लाइन लाग्यो। उसको घरबेटीले लाइन नलागी खानाको प्याकेट पायो।

महिना पुग्नु पाँच दिनअघि नै बैंकले हरेक दिन किस्ता तिर्ने म्यासेज पठाउँथ्यो। म्यासेजलाई थाहा नपाएझैं गर्‍यो उसले आज पनि।

घरबेटी भाडा माग्न आएको रात उडुसले टोकेर सुत्नै सकेन। आफ्नै ओछ्यान खुब बिझायो। पसिना पसिना भयो। राति नै उठेर ओछ्यानभरि मेटासिट छर्कियो। बिहानपख आँखा झुपुक्क लागेछन्। बिउँझिँदा घाँटी दुख्यो। ज्वरो पनि आयो। कृष्णमोहनको सात्तो गयो। डराउँदै डराउँदै ग्यारेज पुग्यो। हालखबर सोध्ने कोही थिएनन्। ग्यारेजमै झोक्राएर बस्यो। दस बज्नेबित्तिकै बैंकबाट फोन आयो। ट्याक्सीको किस्ता तीन महिनादेखि रोकिएको थियो। फोन गर्ने बैंककी कर्मचारीलाई दिने जवाफ भेटेन।

अचानक टाउको दुख्यो उसलाई। रिँगटा लाग्यो। आँखा तिरमिराए। ‘दुईवटा थिनआरारोट बिस्कुट देऊ देऊ श्याम दाइ, पैसा छैन है पछि दिन्छु’, पसलेले पैसा माग्दामाग्दै कुरै नसुनी ऊ ग्यारेजतिर लाग्यो। आफू भोकै भए पनि बिस्कुट कुकुरलाई खुवायो।

नखाएको दुई दिन भइसकेको थियो। झुस्स दाह्री फुलेको अनुहार ट्याक्सीको ऐनामा हेर्‍यो। अनुहार कालो देख्यो। लुगा मैलो भएछ ! ट्याक्सीलाई प्रेमले सुम्सुम्यायो।
उसको मुटुको चाल छिटो चल्यो। ग्यारेजबाट निस्कँदा कुकुर पछिपछि लागे। त्यही बाटोमा थुचुक्कै बस्यो ऊ। दुवै कुुकरको घाँटीमा कन्याइदियो। दुइटै कुकुरले चाटे, निधार, जीउ र मुखतिर।

कुकुरलाई फेरि ग्यारेजमा पुर्‍याएर फर्कियो। दुइटै कुकुर ‘कुइँकुइँ’ गर्दै कराए। सुनसान सहर हेर्दैहेर्दै कोठाबाट ग्यारेज फर्कियो। धकेलेर ट्याक्सी ग्यारेजबाहिर सडकमा ल्यायो। चालक सिटमै बस्यो। बोत्तलको मेटासिट सबै घुट्क्यायो।

कुकुर ‘कुइँकुइँ’ गर्दै कराए। सबैतिर चाटे, मुखबाट निस्किएको सेतो फिँज पनि। कृष्णमोहनले लामो, निकै लामो मौनता रोज्यो। हो, सरकारलाई एक शब्द पनि गाली नगरी उसले ट्याक्सीभित्रै आफूलाई कहिल्यै नउठ्ने गरी सुताइदियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.