योगमाया : भत्काइ, बनाइ र सिकाइ

योगमाया : भत्काइ, बनाइ र सिकाइ

भत्काइ  : सिसाकलम र योगमाया पुस्तक

खै के कामका लागि हो, मणि शर्माले बोलाए एक दिन। नाटकको कुरा निस्कियो। नाटक मञ्चनका लागि प्रकाशक मणि शर्माको अफरपछि प्रकेशसँग कुरा गरेँ। 
‘गर्न सके गज्जब हुन्छ हाउ सर, देश खाइहाल्छ नि।’ केही समय कुराकानी भयो। प्रकेशले सबैभन्दा ठूलो आकारको बूढीऔँला पठाए। 

असोजतिर सिसाकलम र पहिल्यै किनेको योगमाया लिएँ हातमा। मञ्चमा उतार्न सकिएला भन्ने आँटै आएन। पात्रहरू, संवादहरू चिनो लगाउँदै र दृश्य छुटाउँदै केलाउन थालेपछि आँट आयो। 
नीलम कार्की निहारिकाले फोन गर्नुभयो। ‘समाजमा योगमायाको कुरा आउनैपर्छ। नाटक गर्दा तपाईंहरूलाई नै राम्रो हुन्छ। चलचित्र पनि बनाउने हो, तपाईंहरूलाई सजिलो लाग्छ कि लाग्दैन ?’ कुराकानीमा यी प्रसंग आए। ‘फिल्मलाई बढी समय लाग्छ। बजेट पनि धेरै चाहियो। तपाईंहरू नाटक गर्नुस्, त्यसको एक दुई वर्षपछि फिल्म बन्ला, बनाउने राम्रो मान्छे भेटियो भने !’ नीलमजी प्रस्ट सुनिनुभयो।
नाटकको स्क्रिप्ट लेख्न आँट-जाँगर थिएन। नीलमजीलाई अनुरोध गर्दा भन्नुभो, ‘अरू नै काममा छु। स्क्रिप्टमा लाग्न भ्याउँदिनँ। त्यो बेला खुब दु :ख गरेँ, फेरि सक्दिनँ। डकुमेन्ट्री छ, त्यो हेर्नुस्। को-को मान्छेलाई भेट्ने भनौँला।’ नीलमजी पन्छिनुभयो। 
संवाद, पात्र र दृश्य केलाउँदै पढिसक्दा ऊर्जाले भरिएँ। समाज परिवर्तनका लागि सत्ताधारीसँग जुध्ने योगमाया नाटक हेरेर अहिलेका नेताहरूले के सोच्लान् ? यही प्रश्न लिएर सहरबजार डुल्दा पुलकित भएँ।
भत्काएका दृश्य, पात्र र संवादहरू जोड्न थालेँ। योगमायाले असमान सामाजिक संरचना यसरी भत्काउन खोजेकी थिइन्  :
सतीप्रथा, बोक्सीप्रथा, बालविवाह, असमान मानापाथी, जातभातका कुरा, गलत पुरेत्याइँलगायत थुप्रै मुद्दा उठाइन्। मजुवाबेसीका पुरेत ठूलाबडाहरू दुश्मन भए, बडाहाकिमलगायत राणाहरूसम्म पुगिन्। सुनुवाइ भएन। अग्निदाह गर्न खोज्दा जेल जानु पर्‍यो। अन्त्यमा आफ्ना अनुयायीहरूसँग जलसमाधि लिएर सत्ताधारीहरूलाई चुनौती दिइन्। 

बनाइ  : योगमायाको निर्देशक पो त !

मञ्चन मिति, स्थान तय भयो। सामाजिक सञ्जालको पोस्ट्पछि प्रतिक्रियाहरू आउन थाले। 
‘यत्रो मोटो किताबलाई नाटक बनाउने निर्देशक पो त !’ सहकर्मी साथीहरूले नै उडाए।
‘टंकेले योगमाया गर्ने ?’ सहकर्मी हुन् वा गुरु व्यंग्य गरे यसरी। 
‘टंकले के नाटक गर्छ भन्छन् साथीहरू, त्यस्तो हुँदैन साथी हो, निर्देशकको आआफ्नो काम गर्ने शैली हुन्छ भनेर सम्झाउँछु’, युवराज दाइले सुनाउनुभयो। आफू कति कमजोर निर्देशक हुँ, मनन गर्न यो प्रसंग पर्याप्त थियो। 
प्रकेशले पढेर दृश्यहरू जोड्ने र सहज बनाउने काम गरे, अनि लेखे यस्तो, ‘सर भद्रगोल छ, मेरो दिमागले भ्याएन हाउ ! यो नाटक पाँच घण्टाभन्दा माथि हुन्छ। कुन पात्र राख्ने, कुन हटाउने, कुन सिन राख्ने कुन नराख्ने। धेरै कुरा छन्। ती सबै राख्ने कि नराख्ने ? बरु सरले नै एकपटक फाइनल गर्दा सजिलो होला।’ 
योगमायाको भूमिकामा कसले अभिनय गर्ला ? धेरैको चासोको विषय बन्यो। पत्रकार सोध्थे, ‘योगमायाको भूमिकामा को हुनुहुन्छ ?’ 
नाट्यग्राफलाई आकार दिन तेस्रोपटक सुरु गरेँ। यो बसाइमा छोटाछोटा दृश्य र केही पात्र ‘मर्ज’ भए। ३५ जनाजति पात्र मेरुदण्डका रूपमा उभिए।
‘अनि हाउ, योगमायामा अभिनय गर्ने कलाकार पो त !’ ‘ओहो ! योगमायाको निर्देशक पो त !’ गुञ्जिन छोडेन।

क्रान्तिकारी योगमायाले १९९८ असार २२ गते आफ्ना अनुयायीका साथ जलसमाधि लिइन्। यत्रो वर्षपछि पनि प्रश्न यथावतै छ, आखिर न्यायपूर्ण समाज कहिले बन्छ ? 

नेपाली रंगमञ्चमा उत्साह दिने मान्छे प्राय : भेटिँदैनन्। कसैलाई पनि अरूले गरेको काम मन पर्दैन। सायद यो परम्परा गुरुकुलबाटै सुरु भयो कि ! गुरुकुलले आफ्नोबाहेक अरूको काम हेर्नै खोजेन। गुरुकुलको मञ्चमा सामान्य निर्देशकले टेक्न पाउँदैनथे। ‘नाटकको क्वालिटी घट्छ। दर्शक घट्छन्’ भन्ने साँचो ठम्याइ थियो। यही कुरालाई गुरुकुलीय शिष्यहरूले आफ्ना शिष्यहरूमार्फत फैलाए। अहिले पनि निवर्तमान गुरुकुलका कलाकारहरूसम्म अरूले गरेको काम सायदै पुग्छ ! मौलाउँदै गएको ‘ग्रुपइज्म’को जरा यही पो हो कि ! आफैँले गरेको काम चित्त नबुझाउने कोही कोही छन्। आफ्नै काम चित्त नबुझ्नेलाई अरूको कामको के वास्ता !
योगमायाको भूमिकामा देखिने कलाकारबारे नीलमजीको ‘अप्सन’ पनि नराम्रो थिएन। 
मिथिला दिदीलाई फोन गरेँ। उहाँ उत्साहितजस्तै सुनिनुभयो। दिदीसँग कुरा भएको तीन महिना नाट्य रूपमा झुत्ती खेल्दै बित्यो। ‘योगमायाको निर्देशक पो त ! योगमाया खेल्ने कलाकार पो त !’को गुञ्जनले मन रमायो। 
‘मर्ज’ स्क्रिप्ट हेर्न थाल्दा प्रकेश उत्साहित भए। योगमायाले उठाएका मुद्दाहरूसँगै नाटकलाई डेढ घण्टामा कसरी ल्याउने भन्ने मुद्दामा लड्यौँ। 

बनाइ  : मिथिलासँगको पहिलो भेट र रिडिङ

फोन गर्दा मिथिला दिदी अस्पतालमा बिरामी आमालाई कुरिरहनुभएको थियो।
‘भाइ, तपाईं पनि हराउनुभयो !’ योगमायाको कुरा निस्किनेबित्तिकै भन्नुभयो।
‘स्क्रिप्ट तयार पार्न समय लाग्यो।’ सजिलो-सस्तो जवाफ दिएँ। खासमा नाट्य रूप गतिलो बनाउन नसकेकामा अलमलमा थिएँ।
‘लागिहाल्छ नि भाइ, त्यत्रो किताब छ। भाइको फोन आएन, नगर्ने हुनुभयो भनेर बसेकी। केही समय दिनुहुन्छ भाइ ?’ 
कुरा भएको दस दिनपछि दिदी आफैँले फोन गर्नुभयो, ‘स्क्रिप्ट सकिएको हो भाइ ? सकिएको हो भने लिएर आउनुस्, पढौँ।’ 
त्यही दिन नाटकको स्क्रिप्ट लिएर गएँ। बिरामी कुरुवा बार्डबाट दिदी तल आउनुभयो। स्क्रिप्ट दिएँ। कुरा सुरु नभईकनै भित्रबाट नर्सहरूले बोलाए। 
‘भाइ, पक्कै आमालाई केही भयो। स्क्रिप्ट पढिसकेर फोन गर्छु’, दिदी आत्तिँदै जानुभयो। 
उहाँकी आमा त्यही दिन बित्नुभएछ ! 
रिडिङमा बस्दा फरक फरक पृष्ठभूमि, अनुभव सँगालेर आएका उत्साहित कलाकारको ठूलो समूह बन्यो। केही काम साथीहरूको उत्साहले नै फत्ते भयो। पछि कसैले रोल चित्त नबुझेर छोडे, कसैले नभ्याएर। 

पात्र छनोट भइसकेपछि सल्लाहमा संवाद काटकुट पार्दा नाटक साढे दुई घण्टाजति भयो। अझै एक घण्टा घटाउनु थियो। आफ्नो भाग नकाटियोस् भनेर कलाकारहरू संवाद गन्थे। 
किताब पढ्न, डकुमेन्ट्री हेर्न, योगमायासम्बन्धी लेखरचना पढ्न सबैले ध्यान लगाए। हरेक चरित्रलाई योगमायाको कुरा बलियोसँग भन्नु थियो।
नाटक सामूहिक काम हो। छलफलबाट निस्किएको कुरा नै राख्थ्यौँ। ‘भोलि यसरी यो काम गराउँछु’ भनेर तयारी गरेको कुरा कहिल्यै गराइनँ। कलाकारहरूसँगको छलफलबाट आफूले सोचेको भन्दा राम्रो कुरा निस्किन्थ्यो। अनुभवी कलाकारसँग काम गर्नुको फाइदा योगमायामा खुब लिएँ। निर्देशकलाई सहज लागेर हुँदैन, मञ्चमा उत्रिने कलाकारलाई सहज लाग्नु पर्‍यो। कलाकारले सहजै अभिनय गरिदिए भने दर्शकले मज्जा लिने हुन्।
नाटक दुई घण्टा बीस मिनेटबाट तल ओर्लिएन।

‘योगमायाले त्यत्रा मुद्दाहरू उठाएकी छन्, यति चाहिन्छ’, आफ्नो भाग हट्ला भन्ने डरले कसैले भने।
‘दुई घण्टासम्म ठीकै हो, यो ज्यादै लामो हुन्छ। निर्देशकज्यूहरूले सोचौँ न। मेरो सबै भाग गएछ भने पनि केही छैन’, ठूला पुरेत राजको सल्लाह आयो।
‘कथामा ठूलो पुरेत पनि थियो। योगमायालाई सबैभन्दा दु :ख दिने उही हो भनेर फोटो राखौँ हुन्न ?’, महानन्द, प्रह्लाद जिस्किए।

‘हुन्छ त्यो पनि। अनि ठूला पुरेतले लगाएको पुराण योगमायाले बिथोलिन् भनेर सानो पुरेतले भनिदिने ?’ ठूला पुरेतले गिभ एन्ड टेक मिलाए।  
कलाकारहरू बीचमा ‘गिभ एन्ड टेक’ भएन भने दर्शकले लिनुपर्ने आनन्द लिँदैनन्। सही समयमा सही ‘गिभ एन्ड टेक’ले मात्रै दृश्य जीवन्त बनिदिने हो। 
महानन्द, प्रेमनारायण र पुरेतहरूको भाग हटाउन मिल्थ्यो। तिनीहरू हटाउँदा उनीहरूको भूमिका कम हुने वा नरहने वा आवश्यक कुरा छुट्ने हो कि भन्ने डरले गर्दा सकेनौँ। 
योगमायले उठाएका मुद्दाहरूले नै नाटकको आकार घट्न दिएन।

‘यसो गरौँ साथी हो। योगमायाले प्रेमनारायणलाई बोलाउन पठाइन्। प्रेमनारायण आएन। त्यसपछि स्वाट्टै घटिहाल्छ’, महानन्दले प्रेमनारायणलाई जिस्क्याउँदा सबै हाँसे। 
‘साथी, अरूको रोल मात्रै च्याँ पार्न नखोजौँ न हो !’ प्रेमनारायण, प्रभाकरले जवाफ दिए।

‘योगमाया मजुवाबेसी आइन्। फेरि हराइन्। ध्यान गर्न गइन्। योगमायाले कुटी बनाइन् भनौँ, योगमायाले सतीप्रथाको विरोध गरिन् भनौँ, योगमायाले राणाहरूलाई पत्र लेखिन् भनौँ, योगमाया काठमाडौँको पशुपति पुगिन् भनौँ, योगमाया कैद भइन् भनौँ, योगमाया खोलामा हामफालिन् भनौँ, दर्शकले योगमायालाई खोज्दाखोज्दै नाटक सकियो।’ 

नाटकले बल्ल आकार लियो। सबै कलाकारमा योगमाया चढेको थियो। रिहियर्सल स्थल प्रज्ञा कुञ्ज स्कुलमा विद्यार्थी, शिक्षकले आफ्ना चरित्रमा मग्न भएका कलाकारहरू चियाउँदै हेर्न थाले।
कुटी, खोला, हिमाल र काठमाडौँको यात्रा कसरी देखाउने भनेर निकै छलफल गर्दा पनि चित्तबुझ्दो प्रयोग भेट्न सकेनौँ। नाटक, अभिनयमा के कुरा, कसरी देखाउने भन्ने महत्वपूर्ण हुन्छ। फरक फरक मनस्थिति लिएर आएका दर्शकहरू त्यही देखाएको कुराले ‘कन्भिन्स्ड’ हुनुपर्छ। निर्देशक, कलाकार र प्रविधिज्ञहरूको सबैभन्दा ठूलो संघर्ष नै ‘फरक’ प्रस्तुतिको खोजी हो।

सिकाइ  : अपेक्षा

प्रकाशकले अफर गरेको करिब दस महिनापछि शिल्पीमा नाटकको फाइनल रिहियर्सल सुरु भयो। केही रंगकर्मीलाई राखेर रिहियर्सल देखायौँ। 
अपेक्षाकृत नै घटाउनुपर्ने सुझाव आयो। युवराज दाइको सुझावले ‘ग्याप’हरू टाल्दै रिहियर्सलमा हटाउन नसकेको दृश्यहरू पनि हटायौँ। नाटक ठ्याक्कै डेढ घण्टामा आयो। आफ्ना सबै संवाद काटिएका प्रेमनारायणले चरित्रलाई मौन बनाए। 

‘साथी, सोको एक दिन अगाडि आएर सबै डायलग काटियो। अरू भए यो नाटक नै गर्दैनथे’, प्रेमनारायणले गुनासो गरे। उनको ‘मुड’ ठीक ठाउँमा आउन केही दिन लाग्यो। सो सकिन एक हप्ता बाँकी रहँदा प्रेमनारायणको ‘मुड’ फेरि अफ भयो। कारण पत्तै लागेन।
‘टंकले पास नै दिँदैन, त्यही भएर मेरा साथीहरूलाई बोलाउनै डर लाग्छ’, कसैले भने।
‘खोला पनि त्यस्तो हुन्छ ? अन्तिममा अरुण नदी बनाएको चित्तै बुझेन। बत्ती फु गरेर निभाएर पनि खोला हुन्छ ? किताबमा पढ्दा कस्तो बबाल इमेज आउँछ’, निराश दर्शकको प्रतिक्रिया थियो।

‘किताबमा अर्कै छ, नाटक अर्कै भएछ !’, अर्काे दर्शकको प्रतिक्रिया हो।
‘बडा हाकिमचाहिँ ठ्याक्कै यस्तै हुनुहुन्थ्यो !’, एकजना वृद्धले प्रतिक्रिया दिए।
‘कस्तो झुर नाटक ! तपाईंकै माधवी हेरेर नाटक हेरौँ हेरौँ लागेको, तपाईंकै योगमाया हेरेपछि नाटक नहेरौँ नहेरौँ भयो’, अर्काे दर्शकको प्रतिक्रिया यस्तो आयो।
‘योगमायाका कुटीहरू पनि विश्वासिलो भएन।’
‘जुद्धशमशेर पनि सुहाएन।’
‘बाढीपहिरोको सिन पनि चित्तै बुझेन।’

सबैसँग अपेक्षा हुन्थ्यो नै। सीमित ज्ञानको घेराभित्र रमाएको निर्देशकले कलाकार, प्रविधिज्ञ, दर्शकको अपेक्षा कहिल्यै पूरा गर्न सक्दैन। ‘फरक’ गर्न खोज्नु नै निर्देशक, कलाकार, प्रविधिज्ञको सिकाइको शृंखला हो। यो शृंखला कहिल्यै पूर्ण हुँदैन। 
योगमायाले सामाजिक संरचना भत्काएर न्यायपूर्ण समाज निर्माणको कल्पना गरेकी थिइन्। न समाज बन्यो, न त उनको क्रान्तिबाट कसैले पाठ सिक्यो ! न्यायपूर्ण समाजको योगमायाको अपेक्षा किन पूरा भएन ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.