घाटामा उड्डयन प्राधिकरण

घाटामा उड्डयन प्राधिकरण

काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल उड्डयन प्राधिकरणको सञ्चालन खर्च घाटामा गएको छ। प्राधिकरणले आन्तरिक तथा बाह्य व्यावसायिक उडानवापत लिने गरेको ल्यान्डिङ, पार्किङ, हाउजिङ, पसल–कवल वापत शुल्क उठ्न बन्द भएपछि मासिक करिब ९० करोड रुपैयाँ सञ्चालन घाटा व्यहोरिरहेको बताइएको छ। लकडाउनका कारण रेस्क्यूबाहेक अन्य उडान बन्द हुँदा प्राधिकरण घाटामा गइरहेको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

कोभिड १९ महामारीको रूपमा फैलिन थालेपछि सरकारले संक्रमित मुलुकमा मार्च ९ बाट अनअराइभल भिसामा रोक, मार्च १३ तारिकबाट त्यस्ता मुलुकमा अन्तर्राष्ट्रिय उडान बन्द र मार्च २३ तारिकबाट लकडाउन गरेपछिबाट विमानस्थल बन्द भएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २९ एयरलाइन्सले करिब ६५ अन्तर्राष्ट्रिय उडान र ३ सयभन्दा बढी आन्तरिक उडान गर्दै १२ हजार भन्दा बढी यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले प्रायः शून्य चहलपहल देखिन्छ। लकडाउनयता अन्तर्राष्ट्रिय रेस्क्यू उडान भने भइरहेका छन्।

प्राधिकरणको मुख्य आम्दानीको स्रोत भनेको एयरपोर्ट ट्याक्स हो, जुन प्रत्येक यात्रुबाट उठाउने गरिन्छ। अन्तर्राष्ट्रिय पर्यटक नेपाल आउँदा करिब ११ सय रुपैयाँ एयरपोर्ट ट्याक्स र विमानस्थल विकास शुल्कवापत १ हजार रुपैयाँ उठाउने गरिएको छ। आन्तरिक उडानको हकमा भने एयरपोर्ट ट्याक्स २ सय रुपैयाँ तोकिएको छ।

यस्तै, पार्किङ वापतको शुल्क अन्तर्गत १ हजार किलोको १ डलर तिर्नुपर्ने प्राधिकरणको भनाइ छ। यो ६ घण्टाको अवधिका लागि हुने र आन्तरिक तथा बाह्य दुवै जहाजको हकमा लागु हुने गरेको छ। अन्तर्राष्ट्रिय जहाज ७७ हजार किलोग्रामभन्दा बढी तौलका हुने गरेको बताइन्छ। यता, हाउजिङको सम्बन्धमा पनि ओगटेको जमिनको वर्गकिलोमिटरको आधारमा शुल्क तिर्नुपर्ने हुन्छ। विमानस्थलभित्र बुद्घएयरलाइन्स, यती एयरलाइन्स, नेपाल वायुसेवा निगम र केही हेलिकप्टरको ह्यांगर तथा सेड रहेको छ।

विमानस्थलमा अन्तर्राष्ट्रियतिर २० वटा र आन्तरिकतिर करिब ७ वटा पसल तथा कवल सञ्चालनमा छन्। जहाज ल्यान्डिङको शुल्क भने जहाजको तौललाई वर्गीकरण गरेर त्यसैअनुरूप प्राधिकरणले लिने गर्छ।

उडान नै नभएपछि यी शुल्क उठ्नसक्ने कुरा नै भएन भन्दै प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा प्राधिकरणको आम्दानी प्रभावित भएको बताए। कुल आम्दानीको करिब ९० प्रतिशत आम्दानी अन्तर्राष्ट्रिय उडानले धानेको हुन्छ। आन्तरिक उडान भर्ने विमानस्थलले सञ्चालन खर्च नै उठाउन नसक्ने गरेको उनी बताउँछन्। धेरै उडान हुने लुक्ला, पोखरा, वीरगन्ज, भैरहवाजस्ता केही विमानस्थलले मात्र सञ्चालन खर्च उठाउने गरेको र बाँकि सबै सधैं नै घाटमा गइरहेको क्षेत्रीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.