कांग्रेस महाधिवेशन प्रभावित : क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

कांग्रेस महाधिवेशन प्रभावित : क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन

काठमाडौं : कोरोना भाइरसको जोखिमका कारण नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो। यसअघि नै पार्टीका ठूला सभा–सम्मेलन नगर्ने निर्णय गरिसकेको कांग्रेसले महाधिवेशनसम्बन्धी गतिविधि भने रोकेको थिएन।

सरकारले कोरोना संक्रमणको जोखिमबाट बच्न अत्यावश्यकबाहेकका सबै सेवामा रोक लगाउने निर्णय गरेसँगै कांग्रेसले पनि क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगित गरेको हो। क्रियाशील सदस्यता वितरण र पार्टीको समायोजन रोकिएसँगै महाधिवेशनको समग्र कार्यतालिका प्रभावित हुने देखिएको छ।

महाधिवेशन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि चैत मसान्तसम्म क्रियाशील वितरण र नवीकरण कार्य सम्पन्न गर्ने उल्लेख छ। संघीय व्यवस्थाअनुसार पार्टीको आन्तरिक संगठन समायोजन पनि प्रभावित हुने भएको छ।

पार्टी प्रवक्ता एवं सूचना, संचार एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले चैत मसान्तसम्म महाधिवेशन तयारीसम्बन्धी कार्य पनि स्थगन गरिएको जानकारी दिए। ‘प्राणघातक कोरोना भाइरसको जोखिम दृष्टिगत गरेर ठूला भेला र सम्मेलन यसअघि नै स्थगित गरिए पनि १४ औं महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन) कार्य जारी थिए,’ प्रवक्ता शर्माले भने, ‘तर पछिल्लो समयमा अझै बढेको जोखिमबाट थप सतर्कताका लागि चैत ९ देखि लागू हुने गरी ती कार्य चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन्।’ यसअघि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गर्ने उल्लेख थियो। समायोजनको काम लम्बिएपछि कार्यतालिका संशोधन गरिएको थियो। फागुन १५ सम्म ३५ जिल्लाको मात्र पार्टीको संगठन समायोजन काम सकिएको थियो। अझै एक तिहाइ जिल्लामा समायोजनको काम बाँकी छ।

कांग्रेसको १४ माघमा बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जनसहित सार्वजनिक गरेको थियो। ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतबाट सार्वजनिक गरेको कार्यतालिकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएपछि संशोधन गरिएको थियो। संशोधित कार्यतालिकामा विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण फागुनदेखि चैत मसान्तसम्म गर्ने उल्लेख छ। त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची अर्काे वर्ष वैशाख मसान्तभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरणउपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अन्तिम अवधि जेठ १५ गतेसम्मका लागि तोकिएको छ। यस्तै क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले साउन १५ गतेभित्र निर्णय गरिसक्नुपर्नेछ।

नयाँ क्रियाशील सदस्यता र नवीकरणको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई साउन २५ गतेभित्र बुझाइसक्नुपर्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ। केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई साउन मसान्तभित्र बुझाइसक्नुपर्नेछ।

कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन अर्काे वर्ष कात्तिक १६ गते, गाउँ/नगर अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते हुनेछ। एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते सम्पन्न गर्ने गरी कार्यतालिका परिमार्जन भएको थियो।

कांग्रेसले महाधिवेशन तयारीसम्बन्धी कार्यहरु स्थगन गरिए पनि कोरोना सम्बन्धी सचेतना फैलाउन पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ। ‘सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता भने सतर्कतापूर्वक विविध ढंगले जारी रहनेछ,’ प्रवक्ता शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला, क्षेत्र, गाउँ/नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्न दल, समुदाय र स्वास्थ्यकर्मीसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निर्वाह गर्नुहुनेछ।’ पार्टीका सांगठनिक गतिविधि रोकिए पनि केन्द्रीय कार्यालय खुला रहने कांग्रेसले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.