कोरोना त्रास : चिडियाखान पनि बन्द
काठमाडौं : कोरोना (कोभिड १९) को संक्रमण रोकथामका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानासमेत बन्द गरिएको छ। शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो।
शुक्रबारदेखि सबै सर्वसाधारणका लागि आवातजावात बन्द गरिएको चिडियाखानाकी संरक्षण शिक्षा तथा सञ्चार अधिकृत लिना चालिसेले जानकारी दिइन्।
यो मुलुकको एक मात्र चिडियाखाना हो। हरेक वर्ष चैत महिनामा चिडियाखना घुम्नेको संख्या सबैभन्दा बढी हुन्थ्यो। विद्यार्थीहरुको स्कुल बिदा हुने भएका कारण यो महिनामा आगन्तुकको संख्या बढ्ने गरेको चालिसकेको भनाइ छ।
कोरोना संक्रमणको त्रास बढेपछि गत साता दैनिक एक हजारको हाराहारीमा मात्र आगन्तुक चिडियाखाना पुगेका थिए। भिडभाडमा कोरोना भाइरसको संक्रमण छिटो हुने भन्दै चिडियाखाना प्रशासनले बन्द गर्ने निर्णय लिएको हो।
चिडियाखानामा नौ सय प्रकारका जनावर र १ सय भन्दा बढी प्रजातिका चरा छन्।