पौडीमा रमाएका आदर्श

पौडीमा रमाएका आदर्श

आदर्श कार्कीको सिंगो परिवार पौडीमा होमिएको छ। उनका बुवा शंकर कार्की पौडीका मुख्य प्रशिक्षक छन्। उनकै परिवारका ईश्वर कार्की, विष्णु कार्की, करिश्मा कार्की र किरण कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभाव छाडेका थिए।

उनीहरूको पदचाप पछ्याउँदै कार्की परिवारमा अर्का पौडीवाज उदाएका छन्–आदर्श कार्की। पौडी प्रशिक्षक शंकर कार्कीका छोरा आदर्श १४ वर्षको उमेरमै नेपालका चर्चित खेलाडीका रुपमा उदाएका हुन्। लिटिल एञ्जल्र्स पौडी प्रतियोगितामा कक्षा १ मा पढ्दापढ्दै पानीसँग खेलेका आदर्शले कान्छो खेलाडीको पहिचान बनाएका थिए। पहिलो सहभागितामै नसोचेको उपलब्धि बनाएका आदर्शले त्यसपछि भने पछाडि फर्कनु परेको छैन। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्।

उमेरगत समूहको यू–८, यू–९ र यू–१० मा पौडीबाट पदक जित्न सफल आदर्शले नौ वर्षको उमेरमै पहिलो किड्स ट्रायथोलनमा प्रथम स्थान हासिल गरेका थिए। उनले सन् २०१६ मा इटालीको रोममा भएको मोडर्न प्यान्टाथोलनमा तेस्रो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा युरोपका १० राष्ट्रको सहभागिता रहेको थियो। सन् २०१६ मै भारतको गोवामा भएको वल्र्ड टुर लेजर रनमा आदर्शले स्वर्ण पदक जितेका थिए भने यही वर्ष सिंगापुरमा आयोजना भएको सिंगापुर टुरमा पनि रजत पदक जितेका थिए। इजिप्टमा आयोजना भएको वल्र्ड पेन्टाथलन च्याम्पियनसिपमा समेत सहभागी आदर्श चौथो भएका थिए। उनले शीर्ष तीन स्थान हासिल गरेको भए वल्र्ड च्याम्पियनसिपमा छनोट हुने सम्भावना हुन्थ्यो। यस बाहेक उनले दक्षिण कोरियामा आयोजना भएको पेन्टाथलन कोर्समा पनि सभागी भइसकेका छन्। पेन्टाथलनमा विभिन्न स्पर्धा हुन्छ। रन र सुट समावेश लेजर सुट, रन, सुट र स्वीम समावेश स्पर्धा ट्रायथलन हुन्छ। यसैगरी रन, सुट, स्वीम, फेन्सिङ र हर्स राइडिङ समावेश इभेन्ट चाहिँ पेन्टाथलन हो।

गत बैशाखमा प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा पनि सहभागी उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। पौडीको नियमित प्रशिक्षण गर्दै आएका आदर्श प्यान्टाथोलनका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुँदै आएका छन्। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल पुलिस क्लबबाट प्रतिस्पर्धा गरेका आदर्श १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा पनि छनोट भएका थिए। उनी अन्तिम समयमा मात्रै सागको टोलीबाट बाहिरिएका थिए। सागको बन्द प्रशिक्षणबाट आफू बाहिरिँदा दुःख लागे पनि आफ्ना साथीले पदक जित्दा भने खुसी लागेको बताए।

भक्तपुरको सल्लाघारीमा रहेको राज श्री गुरुकुलमा कक्षा ८ मा अध्ययनरत आदर्श हरेक उमेर समूहका राष्ट्रिय च्याम्पियन हुन्। सुरुमा आफ्नो स्वास्थ्यका लागि पौडन थालेका आदर्श अहिले भने खेलाडी बन्नका लागि पौडिरहेका छन्। उनले लिटल एन्जल्स, हिम्सलगायतका स्कुलका प्रतियोगितामा लगातार पदक जित्दै आइरहेका छन्।

पौडी र पेन्टाथलन बाहेक आदर्श फुटबल पनि राम्रो खेल्छन्। राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विज्ञान प्रतिष्ठान (सान) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेका प्रशिक्षण पनि आदर्श उत्कृष्ट खेलाडी घोषित भएका थिए। अन्तर विद्यालय फुटबल प्रतियोगिता र फुटसल प्रतियोगितामा धेरै पटक उत्कृष्ट स्ट्राइकर बनिसकेका उनी अब भने धेरै खेलमा नलागी एउटै खेलमा ‘फोकस’ हुने बताउँछन्। ‘धेरै खेलमा लागेर पछि राम्रो गर्न सकिँदैन’, उनी भन्छन्, ‘अब एउटै खेलमा फोकस गर्छु।’

तीन पुस्ता नै पौडीमा लागेकै कारण आदर्शले सानै उमेरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आदर्शका बुवा शंकर बताउँछन्। ‘सानै उमेरदेखि पानी छुन पायो। पानीमै रमायो। त्यही कारण पनि हुनसक्छ आदर्शले लगातार सफलता हासिल गरिरहेको छ’ शंकरले भने ‘मैले र काकाले गर्न नसकेका काम आफूभन्दा अघिल्लो पुस्ताले सानै उमेरमा गरेको देख्दा खुसी लागेको छ।’ उनले तीन पुस्ता नै एउटै खेलमा लाग्दा सवैवीच सुमधुर सम्बन्ध स्थापित भएको बताए। ‘धेरैले कार्की परिवार पौडीका लागि जन्मिएको त होइन भन्ने प्रश्न पनि गर्छन्। सबै परिवार एउटै क्षेत्रमा लाग्दा सवैवीच सुमधुर सम्बन्ध स्थापित भएको छ’ शंकरले भने।

आदर्श पनि आफ्ना बुवा र हजुरबुवा पौडीकै प्रशिक्षक भएकाले पनि आफूलाई अगाडि बढ्न सहयोग पुगेको बताउँछन्। ‘हाम्रो परिवार नै पौडीमा सक्रिय छौं। त्यही कारण पनि आफूलाई अगाडि बढाउन सहज भएको छ’, उनी भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.