चीनबाट फर्केकाको बयान
![चीनबाट फर्केकाको बयान](https://annapurnapost.prixacdn.net/media/albums/student-kharipati-cover_20200219065122_hPz4O6VRpU.jpg)
कोरोना भाइरसको ‘इपिसेन्टर’ वुहानमा पछिल्लो एक महिना कष्टकर र त्रासदीपूर्ण जीवन बिताउन बाध्य १ सय ७५ जना नेपाली आइतबार झिसमिसेमा काठमाडौँ ओर्लिए। त्रिभुवन विमानस्थलबाट भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन) मा पुगेपछि उनीहरूले सन्तोषको सास फेरे।
‘सरकारले ढिलै भए पनि कालको मुखबाट फर्काएको छ,’ चीनबाट फर्केका एक जना चिकित्सकले भने, ‘यस्तै बेला सरकार चाहिने हो। हामी घर आइपुगेका छौँ। यहाँको व्यवस्था पनि राम्रो रहेछ।’ उनको सुझाव थियो– ‘आगामी दिनमा अन्य नेपालीलाई यस्तै आपद् पर्दा सरकारले उद्धारमा यत्तिको ढिलाइ नगरोस्।’
के भन्छन्, चीनबाट फर्केकाहरू ?
‘कालको मुखबाट फिर्ता आइयो’
–चन्द्रभूषण यादव
म बस्ने होस्टलमा विभिन्न देशका ढेड सयभन्दा बढी विद्यार्थी थिए। होस्टल गुलजार थियो। तर, कोरोना भाइरसको संक्रमण सुरु भएपछि अन्य मुलुकका नागरिक देश फर्के। म भने होस्टलको भवनमा एक्लै परेँ। वुहानका ती दिन सम्झन पनि चाहन्नँ।
एक्लै होस्टलको छैटोँ तलामा थिएँ। मेरा लागि त्यो खण्डहर भइसकेको थियो। जेलको कैदीजस्तो थिएँ।
पहिले त सरकारले हामीलाई संक्रमितलाई झैँ व्यवहार गर्यो। घर फर्कनका लागि सबै खाले प्रयास गरियो। नेपालका सञ्चारमाध्यमले हामीबारे समाचार लेखेपछि अलिक सहज भयो। ढिलै भए पनि सरकारले हामीलाई ल्याएर ठूलो गुन लगाएको छ। कालको मुखबाट फिर्ता आएझैँ लागेको छ।
‘कारागारबाट छुटेझैँ लाग्यो’
–गौरव पोखरेल
‘अलिकति ढिलो भयो भन्ने गुनासो मात्र हो। तर, यहाँको तयारी राम्रो रहेछ। कारागारबाट खुला स्थानमा आइपुगेझैँ लागेको छ। खुला हावामा सास लिन पाएका छौँ। एक महिनादेखि भोगेको मानसिक तनाव समाप्त भएको छ। आफ्नो देशमा पूर्णतः सुरक्षित महसुस गरेका छौँ।
सरकारले तयार गरिदिएको बस्ने स्थान र खानाले आफू घरमै बसेको महसुस गर्न पाएका छौँ। तर, खरिपाटीका बासिन्दाले हामीले भाइरस लिएर आएजस्तो ठानेको सुन्दा अचम्भित भएका छौँ। हामी आफैँ सचेत थियौँ। त्यहाँ भाइरसको शंकासमेत भएका पनि यहाँ आउन नपाएको उदाहरण छन् नै।
यहाँको व्यवस्थापन राम्रो छ। तर, हामीलाई घर फर्काउन सरकाले गरेको ढिलाइ सम्झिँदा दुःख लाग्छ।
‘सरकारले गर्न सक्दो रहेछ त’
–प्रमिला देवकोटा
हामीले सोचेभन्दा राम्रो तयारी गरेको रहेछ, सरकारले। यहाँ बस्दा पालना गर्नुपर्ने नियम र खाने–पिउने समय तालिकासमेत हामीलाई उपलब्ध गराइएको थियो। लन्च बक्समा खाना बाहिर टेन्टमा व्यवस्था गरिएको थियो। कतै छुन नपर्ने तवरले मिलाइएको रहेछ।
हामी आफू पनि निकै सतर्क थियौँ। हाम्रो प्रयास थियो– जसरी भए पनि घर फर्कने। हाम्रो प्रयासमा सञ्चारमाध्यमले राम्रो साथ दिए।
यहाँ यो स्तरको व्यवस्थापन देखेर साँच्चै नेपालका राजनीतिक नेतृत्व र कर्मचारीमा धेरै नै सुझबुझ भएको महसुस गरेँ। मेरो एउटै गुनासो छ। सरकारले यति धेरै गर्न सक्ने रहेछ। तर, किन हामी यति धेरै कराउनुपर्ने अवस्था सिर्जना गरियो ? यो काम समयमा नै गरिदिएको भए हुन्थ्यो। तर, केही छैन, ढिलै भए पनि मुलुक फर्कन पाएका छौँ र दंग छौँ।
‘बल्ल ज्यानमा ज्यान आयो’
–अमृत शर्मा
कतै आफ्नो देश फर्कनै पो नपाइने हो कि भनेर अत्यास लागेको थियो। तर, सरकारले हाम्रो, जनताको र सञ्चारमाध्यमको कुरा सुनिदिएकोमा खुशी छौँ।
पछिल्लो समय वुहानमा चीन सरकारले लकडाउन बढाउने मात्र होइन, थप कडाइ पनि गर्दै लगेको थियो। हामी त्रस्त थियौँ। अब आफ्नो देश फर्किएपछि ढुक्क भएका छौँ। बल्ल ज्यानमा ज्यान आयो।
यति हुँदाहुँदै पनि सरकारले ढिलो गर्यो भन्ने गुनासो चाहिँ रहिरह्यो। यहाँ नेपालीलाई सर्छ भन्ने केही नेता र कर्मचारीको सोचको कारणले ढिलाइ भयो होला। जे होस्, अब सबै खाले तनावबाट मुक्त भइएको छ। सञ्चारमाध्यम र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिन चाहन्छु। ओलीले नै अडान लिएपछि र नियमित चासो देखाएपछि हामीलाई फर्काउने काममा तीव्रता आएको हो।
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/news/2981)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)