तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या

तस्करको तारोमा थिए दिलीप,  ५० हजार लिएर हत्या

 जनकपुरधाम : क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ। उत्खनन रोक्न गएका दिलीपको हत्या गरेको आरोपमा क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले किच्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो।

किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर हत्या गरिएको थियो। श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा-गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।

पक्राउ परेकालाई सार्वजनिक गर्दै एसपी बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा-गिट्टी चोरी गरिरहेको थाहा पाएपछि ओमप्रकाश र रोशन गए। टिपर चालकसँग केही बेर भनाभन भयो। सोही क्रममा लिभरले दाहिने कोखमा हानी घाइते बनाए। अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो।’

दुई वर्षदेखि उत्खननविरुद्ध आन्दोलनमा थिए दिलीप
 
छोराको हत्यापछि चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन। चन्द्रकलाको आँखाबाट झरेका आँसु पुच्छनेहरूको पनि आँसु रोकिएको छैन। गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा तस्करको समूहको टिपरले किचेर शुक्रबार बिहान चन्द्रकलाको २४ वर्षीय छोरा दिलीप (ओमप्रकाश) महतोको शुक्रबार बिहान हत्या भएको हो।

छोरो ओमप्रकाशको हत्यापछि चन्द्रकला रोइरहेकी छन्। उनलाई सान्त्वना दिन आएका इष्टमित्रले घर आँगन भरिभराउ छ। चिच्याउँदै चन्द्रकलाले भनिरहेकी छन्,‘राजा बेटाके देखा दे, सोना बेटा के देखा दे (राजा छोरालाई देखाई दे, सोना छोरालाई देखाई दे)।’

क्रसर डनले खोलामा अवैध रूपमा बालुवा-गिट्टी निकाल्दै थिए। शुक्रबार बिहान करिब ४ बजे साथी रोशन यादवसँग उत्खनन रोक्न ओमप्रकाश घर नजिकैको औरही खोला गएका थिए। तस्करको समूहले कुटपिट गरी उनलाई टिपरले किचेर हत्या गरे। धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश सामाजिक गतिविधिमा रुचि राख्थे। गैरकानुनी कामको खुलेर विरोध गर्थे। सकारात्मक सामाजिक कार्यमा अग्रसर हुन्थे। दुई वर्षअघि अवैध खोला उत्खननविरुद्ध आन्दोलन चर्काएका थिए। जनकपुरबाट पत्रकार बोलाएर क्रसर डनको कर्तुत नङयाएका थिए। उनलाई तस्करले आँखाको तारो बनाएका थिए।

चुरेको भावर क्षेत्रमा भइरहेको उत्खननको ओमप्रकाशले दुई वर्षदेखि विरोध गर्दै आएका थिए। चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोले उनलाई ज्यान मार्ने धम्की दिएका थिए। महतोले बाबु रामजीवनलाई घरमै पुगेर छोरालाई नसम्झाए ‘एक दिन जिउमै टिपर चढाइदिन्छु’ भन्दै धम्क्याएका थिए। ओमप्रकाशको हत्यापछि प्रहरीले ज्यान मार्ने धम्की दिने विपिनलाई पक्राउ गरेको छ।

ओमप्रकाश चन्द्रकलाका जेठो छोरा हुन्। छोरीपछि दिलीप जन्मिएका थिए। त्यसपछि उनले पाँच छोरी जन्माइन्। रामजीवनले छोरो ओमप्रकाशलाई इन्जिनियरिङ पढ्न भारतको भोपाल पठाएका थिए। खेती किसानी गरेर जीवन चलाउँदै चन्द्रकला छोरालाई पढाएर जागिर खाएको हेर्न चाहन्थिन्।

श्रीपुर गाउँदेखि करिब ३ सय मिटर पूर्वतर्फ छ औरही खोला। वर्षामा चुरिया भेगबाट उर्लेर खोलामा बाढी आउँछ। अरू समय खोला सुख्खा रहन्छ। खोला किनारमै पश्चिमपट्टि विपिन महतो र उनको समूहले चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालन गरेका छन्। उद्योगका लागि गैरकानुनी रूपमा खोलाबाट राति-राति तस्करी गरेर कच्चा पदार्थ ल्याउने गरिन्थ्यो। धेरै गहिरोसम्म उत्खनन गर्न सुुरु गरेपछि दुई साताअघि पढाइबाट बिदामा घर आएका ओमप्रकाशले त्यसको विरोध गर्न सुरु गरेका थिए।

औरही खोला उत्खनन गर्दा बालीनाली बाढीले बगाउँथ्यो। खोलाको बाढीले गाउँ नै डुबाउने खतरा बढिरहेको थियो। क्रसर उद्योगीसँग खोला उत्खनन नगर्न आग्रह गरे। त्यसलाई नसुनेपछि खोला उत्खनन गर्नेहरूको टिपर रोक्न थाले।

गाउँलाई डुबानबाट बचाउन खोज्दा उनले टिपरबाट किचिएर ज्यान गुमाउनुपरेको छ। गाउँलेले ओमप्रकाशको हत्या गर्नेलाई कारबाही माग गरेका छन्। बुवा रामजीवनले भने, ‘मेरो छोराको हत्यारालाई कडा कारबाही हुनुपर्छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.