‘म सांगीतिक क्षेत्रको सिकारु विद्यार्थी'

‘म सांगीतिक क्षेत्रको सिकारु विद्यार्थी'

विदेशका कार्यक्रम होस् या स्वदेशका मेला पर्व, महोत्सव; विभिन्न ठाउँमा हुने कन्सर्टमा गायक प्रमोद खरेल टुप्लुक्क पुगेकै हुन्छन् । श्रोतालाई उनको आवाज कर्णप्रिय लाग्छ । तर करिब दुई हजार गीतमा स्वर दिइसकेका खरेललाई भने धीत मरुन्जेल गीत गाउन पुगेकै छैन रे ।

ट्विटरमा ६६ हजार फ्यानफ्लोइङ छन् प्रमोदका । उनको स्वरमा महिला फ्यानहरू हुरुक्कै हुन्छन् । उनका वियोगान्त गीत सुनेर धेरै प्रेमीले आफ्नो मन टालेका छन् । आफ्नो गीत सुनेर जिन्दगीको कठिन अवस्था पार गर्ने फ्यानको अनुभव सुन्दा उनलाई आनन्द लाग्छ ।

नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीको चमेनागृह परिसरमा गफिँदै गर्दा कालो चस्मा, कालै टिसर्ट, कालो जुत्ता र पेन्टमा सजिएका थिए प्रमोद । उनको अनुहारमा कर्ली परेको लामो कपाल सुहाएको थियो । केही थकित देखिएका उनको मोबाइलमा घरिघरि बज्ने रिङटोनले उनको व्यस्तता देखाउँथ्यो ।

केही दिनमै सांगीतिक प्रस्तुतिका लागि क्यानडा प्रस्थान गर्ने तयारीमा रहेका उनले भने, ‘मलाई औपचारिक अन्तर्वार्ता खासै मन पदैन ।’ सुस्केरा हाल्दै उनले आफ्नो विचार पोखे, ‘सांगीतिक क्षेत्रको सिकारु विद्यार्थी मात्रै हुँ म । खासमा अझै धेरै गीत गाउनै बाँकी छ ।’

झापाको चन्द्रगढीमा जन्मेका प्रमोद स्कुल कलेजका अब्बल विद्यार्थी हुन् । आमाले जे भन्यो मान्ने, सानोमा खासै केही कुरा माग नगर्ने लजालु स्वभावका थिए उनी । विज्ञानमा स्नातकोत्तर उनी कुनै समय पीएचडी गर्न विदेश जाने सोचमा थिए । त्यसलाई थाती राखी कलेजको लेक्चरर, रेडियो प्रस्तोता हँुदै अहिले पूरै समय गायनमै सक्रिय छन् उनी ।

२०५६ सालमा आफ्नो पहिलो गीत बजारमा ल्याएका उनले ‘पलपल’ फिल्मको टाइटल गीत गए । त्यसपछि उनको माग बढ्न थाल्यो । फिल्मका मात्रै गीत गाउँदा सीमित घेरामा भएजस्तो लाग्यो उनलाई । त्यसैले अन्य गीतमा पनि आवाज दिए । जब उनको तेस्रो एल्बम ‘मेरो दिल छ पोखरामा’ बजारमा आयो, एकाएक प्रमोदको चर्चा ह्वात्तै चुलियो । यो गीत प्रमोद खरेलको उपनामजस्तो बन्यो । प्रमोद खरेल नाम सुन्नासाथ सबैले मेरो दिल छ पोखरामा गीतलाई नै सम्झन्छन् । यो गीत नगाएको कुनै कार्यक्रम छैन ।

नेपाली सुगम संगीतमा तपाईंको स्थान कहाँ छ ? भन्ने प्रश्नमा उनले केही बेर अल्मलिँदै जवाफ दिए, ‘आफूले आफैंलाई कसरी परिभाषित गर्नु ? सबै विधाको लागि म पर्फेक्ट नहँुला तर मैले जुन जनरामा गीत गाउँछु, त्यो खालको गीत सुन्ने नेपालीभाषीको संख्या धेरै छ ।’

प्रमोदले धेरैजसो भावुक गीतमा स्वर दिएका छन् । भन्छन्, ‘म प्रोफेसनल गायक हँु । सबैखाले गीत गाउनु मेरो काम हो ।’ उनको विचारमा चलेका गीत सबै राम्रा हुन्छन् भन्न मिल्दैन । कतिपय राम्रा गीत, मीठो मेलोडी, शब्द र संगीत भएका गीतहरू नचलेर गुमनाम भएका उदाहरण पनि छन् । हरेक गीतमा उत्तिकै मेहनत गरे पनि गीत कस्तो हुन्छ, बजारमा आइसकेपछि श्रोताको प्रतिक्रियाले नै थाहा हुने हो ।

प्रमोदले हरेक वर्षजस्तो आफ्नै लगानीमा सोलो एल्बम निकाल्ने गरेका छन् । भन्छन्, ‘संगीतले मलाई यहाँसम्म पु¥यायो भने मैले पनि यो क्षेत्रमा लगानी गर्न जरुरी छ । मेरो आफ्नो रोजाइको गीत गाउन, नयाँ नयाँ प्रयोग गर्न पनि मैले आफैं एल्बम निकाल्ने गरेको छु ।’

मेरो दिल छ पोखरामा, हंगामा भो, चल बतास चल, गोप्य कुरा, डुबायो पापी मायाले, झुम्कावाली लगायतका केही चर्चित गीतमा उनको आफ्नै लगानी छ । क्रिक्रेटप्रेमी प्रमोदले खेलकुदका प्रोमो, क्रिक्रेटकै गीत, राष्ट्रिय गीत, भजन, चलचित्र, वेस्टर्न सबै प्रकारका गीत गाएका छन् । उनको आफ्नो रोजाइमा भने हार्ड लभसङ पर्छ ।

अधिकांश गायकले गीत सुन्ने दर्शक घटे भन्ने गुनासो गरिरहँदा प्रमोदले यो कुराको खण्डन गरे । प्रविधिमा आएको व्यापकतासँगै नेपाली संगीतको क्षेत्र फराकिलो भएको उनकोे दाबी छ । उनी थप्छन्, ‘गीत निस्केको केही सातामै लाखौंले सुन्ने, भिडियो हेर्ने गर्छन् । यो त नेपाली संगीतप्रतिको रुचि, चाहना र एकखालको मोह भएर त हो नि ।’

उनको विचारमा केहीअघि डान्सिङ गीत भन्नासाथ हिन्दी गीत भन्ने हुन्थ्यो तर आज सयांै दमदार डान्सिङ गीत तयार भइसकेका छन् । नेपाली गीतसंगीतलाई माया गर्नुपर्छ है भन्ने अडियन्सको चेतना पनि बढेको छ । नेपालीपन जताततै झल्किन्छ । संगीतमा पछिल्लो समय लामो समय सिकेर, शास्त्रीय संगीत पढेर, निकै लगाव राखेर आउने नयाँ पुस्ता पनि तयार भइसकेको छ । उनी विकृति देखिएका केही चिजलाई छाडेर खोजी गरेर आएका गहन नेपाली गीत पनि बन्न थालेकोमा खुसी व्यक्त गर्छन् ।

नेपालमा खास कन्सर्ट नै भाएको छैन । लाइभ गीत गाउने, प्रत्यक्ष वाद्यवादन बजाएर बिना ट्र्याकमा प्रत्यक्ष गीत गाउने चलन चलाउन मन छ उनलाई । श्रोताको घरआँगनमा पुगेर प्रत्यक्ष भेटेर गाउन मन छ, जहाँ सबै बाजा स्टेजमै बजोस् । ट्र्याकमा गीत गाउन नपरोस् ।

‘प्रमोद खरेललाई महँगो गायक भन्छन् नि ? ’ प्रत्युत्तरमा मुसुक्क मुस्काउँदै भन्छन्, ‘हो म महँगै छु । गाउनेहरू आफ्नो लगाव र मेहनत गर्ने कुरामा पछि हट्नु हँुदैन । तर पारि श्रमिकको पक्षमा महँगो हुनैपर्छ । मपछिका नयाँ पुस्ताले पनि यो क्षेत्रमा राम्रो करिअर छ है भनेर आउने वातावरण बनोस् भन्ने म चाहन्छु ।’ उनी पैसाभन्दा पनि आफ्नो क्षमताको मोल लिने गरेको जनाउँछन् । पारि श्रमिकको हकमा खुल्न चाहेनन् उनी ।

कसैसँग चित्त दुखेको छ भने नबोली हिँड्छन् उनी । छिट्टै प्रतिक्रिया दिने, झगडा गर्ने बानी छैन । सांगीतिक क्षेत्रमा संघर्ष गर्ने बेलामा धेरै नमिठा अनुभव पनि छन् उनका । तर ती अनुभवलाई सिकाइका रूपमा लिएका छन् उनले । नराम्रो घटनालाई बेवास्ता गर्ने बानी छ उनको ।

प्रमोद प्रायः स्क्यान्डलबाट बच्न चाहन्छन् । संगीतमा केही विशेष गर्न चाहे पनि वर्षमा आधा समय त घरबाहिर नै बित्छ उनको । त्यसैले व्यवस्थित योजना बनाउन सकिरहेका छैनन् ।

उनको विचारमा पब्लिक पर्सन भएपछि केही गाह्रो त पक्कै हुन्छ तर हरेकले सम्बन्धलाई ख्यालचाहिँ गर्नैपर्छ । श्रीमान्– श्रीमतीबीचको माया, विश्वास र परिवार र फ्यानलाई बेग्लाबेग्लै ठाउँमा म्यानेज गर्न जान्ने हो भने फ्यान नै समस्याको रूपमा नदेखिने उनले बताए । कोही टाढाबाट भेट्न भन्दै आउँछन्, समय मिलाएर भेट्छन्, कफी खान्छन्, फोटो खिच्छन् ।

टिनएजमा कसैको दिवाना बने पनि गहिरो प्रेममा भने नपरेको उनले बताए । झापाकै दीपा सिटौलासँग मागी विवाह गरेका प्रमोदले आफूले घरपरिवारलाई प्रशस्त समय दिन नपाएको स्वीकार गरे । उनी श्रीमतीको प्रशंसा गर्दै भन्छन्, ‘मेरो सफलताको सम्पूर्ण जिम्मा उनलाई नै जान्छ । दीपा बुझक्की भएकाले पनि मलाई खासै समस्या परेको छैन ।’ यसरी वैवाहिक सम्बन्ध ठीकठाक नै चलिरहेको छ उनको ।

जस्तो व्यक्तिले पनि गीत निकाल्ने, गीतको नाममा जे पनि गाउने प्रवृत्तिप्रति भने प्रमोदको चित्त दुःखाइ छ । गायक हुन साधना हुनैपर्छ । केही क्षमता हुनैपर्छ । अश्लील शब्द प्रयोग गरिदिने, गीत भनेर जे पनि गाउने, जे पनि टेन्ड्रिङमा पर्ने चलनले गीतको मर्म मर्ने र संगीतका सही साधकलाई चोट पुग्ने उनको बुझाइ छ । चल बतास चल चल, अझै वेगले चल भन्ने हिट गीत दिएका उनी नेपाली संगीतमा निकै वेगले दौडिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.