नाटकमय राजधानी

नाटकमय राजधानी

काठमाडौं : ‘सामाजिक रूपान्तरणका लागि कलात्मक अभिव्यक्ति’ भन्ने नाराका साथ फागुन १३ गतेदेखि २० गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव सञ्चालन हुँदैछ। नेपाल, भारत, नर्बे, श्रीलंका, डेनमार्क, इटाली बंलादेशलगायत नौ देशका ३० वटा नाटक महोत्सवमा प्रदर्शन गरिँदैछ। यसका लागि १३ देशका करिब दुई सय रंगकर्मी राजधानीमा उपस्थित भइसकेका छन्। 

अन्तर्राष्ट्रिय नाटक महोत्सवको पूर्वसन्ध्यामा राजधानीका थिएटर बेहुलीजस्तै सजाइएका छन्। नाटकघरको मञ्च पनि सजाइएको छ। नाटक हेर्न जाने दर्शक तथा पाहुनाका गाडी पार्किङका लागि निश्चित ठाउँको व्यवस्था गरिएको छ। पाहुनालाई सकेसम्मको आतिथ्यता प्रदान गर्न सम्पूर्ण टिम लागिपरेको रंगकर्मी तथा महोत्सव निर्देशक राजन खतिवडाले जानकारी दिए। यसका लागि करिब एक सयजना स्वयमसेवक खटाइएको छ। प्रत्येक थिएटरमा आफ्नै टिम पनि तम्तयार छ। 

उनका अनुसार महोत्सवमा नाटकका विभिन्न तस्बिरसमेत प्रदर्शन गरिनेछ। यसका अलावा रंगमञ्चमा विविध विषयमा अन्तत्र्रिmया र वर्कसपसमेत सञ्चालन गरिँदैछ। थिएटरमा प्रदर्शन गर्न दुई सयभन्दा बढी नाटकका तस्बिर छनोट गरिएको छ। 

कार्यशालाका लागि ललितपुरको पुल्चोकस्थित फ्रान्सेली केन्द्र तोकिएको छ। त्यहाँ अर्जेटिना, फ्रान्स, इटली र भारतीय रंंगकर्मीले रंगमञ्चका अनेक आयाममा चारवटा कार्यशाला सञ्चालन गर्दैछन्। विभिन्न स्वदेशी विदेशी रंगकर्मी नाटकको रिर्हसलमा व्यस्त छन्। मण्डला नाटकघर, शिल्पी थिएटर, कौसी नाटकघर र कीर्तिपुर थिएटर गरी राजधानीका चारवटा नाटकघरमा विभिन्न विषयका नाटक प्रदर्शन गरिँदैछ। राजधानी बाहिर विराटनगर, जनकपुर, पोखरालगायतका ठाउँमा पनि विभिन्न नाटक मञ्चन हुँदैछ। 

रंगकर्मी, कलाकार, निर्देशक तथा नाटक निर्माता सबैजना एक्साइटेड छन्। नेपाली नाटक पनि एक से एक अब्बल प्रस्तुति दिने होडमा छन्। महोत्सव अवधिभर १२ वटा नेपाली र १८ वटा विदेशी नाटक मञ्चन हुँदैछन्। आयोजक थिएटरको उत्पादनमा रहेको कुनै पनि नाटक महोत्सवमा समावेश छैन। किन त ? महोत्सव संयोजक सोमनाथ खनालका अनुसार देशका विभिन्न ठाउँमा रहेका नाट्य समूहलाई प्रोत्साहन दिन आयोजकले आफैं नाटक तयार नगरिएको हो। 

भारतीय नाट्य टोलीले प्रायजसो महिला केन्द्रित नाटक मञ्चन गर्दैछ। ‘इन् टान्जिट’ नामक नाटकमा निर्देशकदेखि सबै कलाकार महिला नै छन्। यस्तै राजनीतिक, मानवीय संवेदना, बेपत्ता नागरिकको कथा, सामाजिक रूपान्तरणको सन्देशलगायतका विषयमा धेरैजसो नाटक केन्द्रित रहेका छन्। नेपालबाट जोखना, गैडा टाइम्स, माङगेना, भोकोघर, किशोरी, ममोरी यार्ड, माई फादर इज अ मर्डरलगायतका नाटक मञ्चन हुँदैछन्। 

केही नाटक बिनासंवादका पनि छन्। टु वी, पाँच, मोक्षदा, इन् टान्जिटलगायतका नाटकमा संवाद छैन। सुन्न नसक्ने व्यक्तिलाई यस्ता नाटक विशेष उपयोगी हुने आयोजकको दाबी छ। यसका साथै नाटकमा विभिन्न नयाँ प्रयोग गरिएको छ। 

स्वदेशी तथा विदेशी कलाकारलाई खाने बस्नेलगायतको व्यवस्था आयोजकले गरेको छ। केही गेस्ट नाटकको रूपमा पनि मञ्चन हुँदैेछ। सोलो नाटकलाई प्रतिनाटक ५० हजार र सामूहिक नाटकलाई प्रतिनाटक एक लाखका दरले उत्पादन खर्चको साथमा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने गर्ने संयोजक सोमनाथ खनालले जानकारी दिए। 

सोमबार दिउँसोको साढे ४ बजे महोत्सवको उद्घाटन मण्डला थिएटर अनामनगरमा हुनेछ। महोत्सवमा नेपाली रंगकर्ममा लामो समयदेखि योगदान पुर्‍याएका १२ जना रंगकर्मीलाई सम्मान पनि गरिँदैछ। यसका साथै शताब्दी पुरुष सत्यमोहन जोशीको नाटक सुनकेशरी पनि विमोचन हुँदैछ। महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.