निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि लिएको ‘भजाइनल स्वाब’ संकलन नै त्रूटीपूर्ण

निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि लिएको ‘भजाइनल स्वाब’ संकलन नै त्रूटीपूर्ण

 काठमाडौं : निर्मला पन्तको हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमुना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ।  राष्ट्रिय मानवअधिकार आयोगले डीएनए नमुना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो।  

‘मृतक निर्मला पन्तको शरीरबाट डीएनए परीक्षणका लागि ‘भजाइनल स्वाब’ लिँदा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘मूलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।’ 

यो प्रक्रियाबाट डीएनए परीक्षण गर्दा परिणाम सही नआउने प्रतिवेदनमा  उल्लेख गरिएको छ।  ‘यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिन्न’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो।’

अनुसन्धानका क्रममा वाई/एसटीआर प्रविधिबाट मात्र डीएनए परीक्षण गरिएको खुलेको छ।  सामान्यतया वाई-एसटीआर प्रविधिबाट  डीएनए परीक्षण गर्दा वंश/समूह पहिचान गर्न सघाउ पुग्ने तर व्यक्ति पहिचान नहुने प्रतिवेदनमा उल्लेख छ।  ‘हाल तीन किसिमका डीएनए परीक्षण प्रचलित छन्, अटोसोमल एसटीआर, वाई एसटीआर र माइटोकोन्ड्रियल सिक्वेन्सिङ’, प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि दुई व्यक्तिमा समान नहुने अटोसोमल एसटीआर अपराधी पहिचान गरिने मुख्य डीएनए परीक्षण हो, पुरुषमा मात्र हुने वाई एसटिआर जबरजस्ती करणी केसमा प्रभावकारी हुन्छ भने माइटोकोन्ड्रियल सिक्वेन्सिङ अत्याधिक बिग्रिएका नमुना परीक्षणमा महत्वपूर्ण हुन्छ ।’

 

निर्मलाको हत्यापछि संकलन गरिएको  ‘भजाइनल स्वाब’को नमुनामा महिला स्वाब र पुरुष बीर्य अलग–अलग गर्नुपर्ने भए पनि मिश्रित रुपमा नै परीक्षण गरेको खुलेको छ।  

जसबाट वंश/समूह छुट्याउने परीक्षण भएको तर व्यक्ति पहिचान नभएको प्रतिवेदनमा उल्लेख छ।  ‘संकलिन भिजाइनल स्वाब नमुनामा महिला स्वाब र पुरुष बीर्य मिश्रित रहेको अवस्थामा महिला स्वाब र पुरुष बीर्य अलग गरी परीक्षण गर्नुपर्ने भए पनि मिश्रित रुपमै परीक्षण गरिएको पाइयो’, प्रतिवेदनमा थप भनिएको छ, ‘जसबाट वंश–समूह छुट्याउने  वाई एसटिआर परीक्षण सम्भव भयो  तर अटोसोमल एसटीआर (जसले व्यक्ति पहिचान गर्छ) त्यो सम्भव नभएको पाइयो।’

त्यसैगरी प्रतिवेदनमा मचुल्का नै गलत तरिकाले उठाइएको उल्लेख गरिएको छ।  ‘गम्भीर प्रकृतिका कर्तव्य गरी मारिएका शवको चिकित्सकीय जाँच गर्दा हरेक चोटपटकको विस्तृत विवरण अनिवार्य हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘घटनास्थल तथा लाश जाँच मुचुल्का र शव परीक्षण प्रतिवेदनमा उल्लेख गरिएका लक्षणहरु मुख्य आधार हुन।  यो घटनामा आधारभूत तालिम तथा सामान्य ज्ञानका सिद्धान्तको प्रयोग आवश्यकता अनुसार प्रयोग गरिएको पाइदैन ।’ 

शव परीक्षण प्रतिवेदनमा हचुवाकै भरमा घाँटी अठ्याएर मारेको भनिएको आयोगको प्रतिवेदनमा उल्लेख छ।  ‘शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण हातले घाँटी अठ्याएको निक्र्यौल निकालिएको छ।  यस्तो निष्कर्षको लागि चाहिने पर्याप्त आधार प्रतिवेदन र फोटोमा उल्लेख गरिएका छन्’, आयोगको प्रतिवेदनमा थप भनिएको छ, ‘तथापि अन्य थप सम्भावित लक्षणहरु र लेखिएका लक्षणहरु समेत थप स्पष्ट नभएका कारण २४ घण्टाभित्र मृत्यु भएको भनी दिइएको राय कानुनी चिकित्सा विज्ञानका सिद्धान्तले पुष्टि गरेको पाइएन।’ 

साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनका लागि मानवअधिकार आयोगले कात्तिक २७ गते विज्ञ संलग्न समिति गठन गरेको थियो।  आयोगले तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४ बुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहितको बुझाइएको छ।

पूर्व नायव महान्यायाधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्व नायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा. हरिहर वस्ती, डीएनए विशेषज्ञ दिनेश झासँगै आयोगका अधिृकत संलग्न थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.