डोल्पाका बै‌ंकमा पैसा अभाव

डोल्पाका बै‌ंकमा पैसा अभाव

दुनै : डोल्पास्थित सबै बैंकका शाखामा पैसा अभाव हुन थालेको छ। मौसममा आएको खराबीका कारण हवाई सेवा ठप्प हुँदा पैसा अभाव भएको हो। यहाँ जहाजमार्फत पैसा ढुवानी गरिन्छ। हाल दैनिक कारोबारका लागि समेत समस्या आएको छ।

नेपाल यएरलाइन्ससँग सम्झौता गरेको राष्ट्र बैंकले एक सातादेखि डोल्पामा पैसा पठाउन सकेको छैन। मौसम खराब भएपछि मागअनुसार रकम डोल्पा आउन सकेको छैन भने कारोबारमा पनि समस्या बढ्दै गएको नेपाल बैंक डोल्पा शाखा प्रबन्धक वेदबहादुर बुढाले जानकारी दिए।

यार्सा व्यापारीले एकै दिनमा करोडौं रकम निकाल्ने भएकाले पनि पैसा अभाव भएको शाखा प्रबन्धक बुढाको भनाइ छ। उनका अनुसार जिल्लाभरका उपभोक्ता समिति, कर्मचारीको तलब र यार्सागुम्बाका व्यापारीले एकै पटक करोडौं बजेट निकासा गर्दा पैसा अभाव भएको हो।

जिल्लास्थित नेपाल बैंक र सिटिजन्स् बैंकले दैनिक चारदेखि ६ करोडको हारहारीमा कारोबार गर्दै आएका छन्। ‘मौसममा खराबी आएको छ। उपभोक्ता र व्यापारीको भीड छ। पैसा मौज्दात छैन। तैपनि सबैको चित्त बुझाएका छौं’, सिटिजन्स बैंक डोल्पा शाखाका प्रबन्धक जग बस्नेत भन्छन्। उनले भने, ‘एकै व्यक्तिले करोड रकम निकाल्दा अन्य उपभोक्तालाई मार पर्ने गर्छ। बैंकको काम नै आर्थिक कारोबार गर्ने हो। ठूलो रकम दिन्न भन्न पाइँदैन। व्यापारीको मोटो रकमले समस्या आउने गर्छ।’

करिब ३५ करोड रुपैयाँ मौज्दात राख्न सक्ने नेपाल बैंक डोल्पा शाखामा मागअनुसार रकम आउन सकेको छैन। यतिबेला डोल्पाका बैंकमा जिल्लाका सबै तहका उपभोक्ता समिति, कर्मचारी र यार्सा व्यापारीको भीड लाग्ने गरेको बैंकहरू बताउँछन्।

गाउँगाउँबाट मानिस पैसा लिन बैंकसम्म धाउने गरेका छन् तर बैंकमा पैसा कम भएकाले समस्या भएको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर लामाले बताए। ‘दुई दिनको बाटो भएर पैसाका लागि दुनै आएका छौं तर बैंकमा भने पैसा छैन दुःख मात्रै पाइयो। होटलमा बसेर खानु पर्छ। खर्च धेरै भइसक्यो। पैसा कहिले आउँछ थाहा छैन’, उनले दुखेसो पोखे।

राष्ट्र बैंकले एक सातादेखि डोल्पामा पैसा पठाउन सकेको छैन।

यो समय डोल्पामा दैनिक करोडौंको कारोबार हुने गर्छ। संघीयता लागू भएको एक वर्ष बितिसक्दा पनि जिल्लाका अन्य कुनै पनि तहमा बैंकका सेवा विस्तार हुन सकेको छैन। जिल्ला सदरमुकामा रहेका बैंकमा सेवाग्राहीको भीड हुन्छ।

एक सातादेखि मौसममा आएको खराबीले डोल्पामा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन्। हेलिकोप्टर चार्टर गरेर भए पनि सेवा दिनुपर्ने सेवाग्राहीको माग छ।

नेपाल बैंकका शाखा प्रबन्धक बुढाले हिजोआज अधिकतम चार लाखसम्म भुक्तानी दिने गरेको बताए। ‘यही अवस्था रह्यो भने ५० हजार पनि दिन सकिँदैन’, उनले भने, ‘सेवाग्राहीलाई धैर्य गर्न आग्रह गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.