अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने

अर्थतन्त्रको आकार ५७ खर्ब पुग्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अर्थतन्त्रको आकार पछिल्ला केही वर्षयता बर्सेनि साढे ३ खर्ब रुपैयाँको अन्तरमा बढ्दै छ। चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकले अर्थतन्त्रको आकारको यस्तो अनुमान गरेको हो। 

कार्यालयले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)का अनुमान आधारभूत मूल्य र उपभोक्ताको मूल्यमा प्रस्तुत गरेको छ। जसमा अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यका जीडीपी प्रयोग गरिएअनुसार चालु आवसम्ममा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको हो। यो गत आवको भन्दा ३ खर्ब ५६ अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो। 

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रुपैयाँ रहने अन्तिम विवरण सार्वजनिक गरिएको थियो। तर, हाल प्रकाशित राष्ट्रिय लेखाका स्थिर मूल्यका अनुमान तथा आर्थिक वृद्धिदर आर्थिक वर्ष २०६७/६८ को आधारभूत मूल्यमा छ। यसर्थ चालुभर स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर (जीडपीीको वार्षिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। 

आर्थिक वृद्धि लक्ष्यभन्दा कम भए पनि यो गत आवको भन्दा बढी हो। गत आर्थिक वर्ष २०७९/८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान गरिएको थियो। त्यसैगरी, अन्तिम तथ्यांकअनुसार आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७८/७९ मा ५.२८ प्रतिशत कायम गरिएको कार्यालयले जनाएको छ। 

अर्थविद् डा.डिल्लीराज खनाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यभन्दा धेरै कम हासिल हुने अनुमान गर्नुपर्ने अवस्था आउँदा यसले विश्वसनीयता कायम नहुने बताउँछन्। ‘यो १५औं योजनाको अन्तिम वृद्धिदर हो। सोही योजनाले ७ प्रतिशत हाराहारीको लक्ष्य राखेको थियो। तर चालु आवमा बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। अघिल्लो आवमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिएकोमा २ प्रतिशत पनि भएन। तर अनुमान हेर्दा धेरै लक्ष्यको तुलनामा धेरै कम छ,’ डा. खनालले अन्नपूर्णसँग भने,‘ यी सबै हेर्दा वास्तविक र अनुमानित आर्थिक वृद्धिदरमा ठूलो अन्तर छ। यसो हुँदा विश्वसनीयता गुमाउने समस्या आउने देखिन्छ।’ 

यता नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने महŒवकांक्षी लक्ष्य लिए पनि बहुपक्षीय दातृ निकायहरू एडीबी, विश्व बैंकलगायतले क्रमश ३.६ प्रतिशत र ३.०३ प्रतिशत प्रक्षेपण गरेका छन्। गत आवमा पनि पुँजीगत खर्चमा सुस्तता भएकै कारण अर्थतन्त्र अपेक्षाअनुसार हासिल हुन सकेको थिएन। चालू आवमा संघीय सरकारबाट प्रस्तावित सुधार कार्यक्रमको कार्यान्वयन र संघीय तथा प्रदेश सरकारले बजेटमा विनियोजन गरेबमोजिम हुने पुँजीगत खर्चले आर्थिक गतिविधि चलायमान हुने सरकारको अपेक्षा भने अझै कायम छ। 

जीडीपीमा बढी कृषि उद्योगको योगदान 

चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरणअनुसार जीडीपीमा योगादान दिने अग्रस्थानमा कृषि, वन तथा मत्स्य उद्योगको योगदान छ। जसमा कृषि उद्योगको योगदान २४ प्रतिशत छ। साथै सबैभन्दा कम योगदान पानी आपूर्तिको ०.४४ प्रतिशतमात्रै छ। तर चालु आवमा उद्योग र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा ऋणात्मक (–१.६०%) हुने प्रारम्भिक अनुमान भएको छ। कार्यालयका अनुसार निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो। यससँगै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगको उत्पादनमा समेत संकुचन देखा पर्ने अनुमान गरिएको हो। यसअघि पनि आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.९८%) रहने संशोधित अनुमान गरिएको थियो। तर आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.७० प्रतिशत कायम थियो।

प्रचलित मूल्यमा अन्य आर्थिक सूचकको अनुमान

चालु आर्थिक वर्ष २०८०/८१ मा  आधारभूत मूल्यको कुल उत्पादन ८७ खर्ब ५२ अर्ब ६४ करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ। यस्तै, उपभोक्ताको मूल्यको मध्यवर्ती उपभोग ३७ खर्ब दुई अर्ब ५५ करोड रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ। 

यसैगरी, जीडीपीको २४.४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान छ। यसैगरी क्रमशः अन्तिम उपभोग खर्च जीडीपीको ९२.३८ प्रतिशत, जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने, जीडीपीको ३३.७० प्रतिशत आयात हुने जीडीपीको ३६.१५ प्रतिशत कुल राष्ट्रिय बचत हुने, जीडीपीको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने प्रारम्भिक अनुमान छ। 

प्रतिव्यक्ति जीडीपी १४३४ डलर हुने अनुमान

चालु आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ हजार ४ सय ३४ डलर हुने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३ सय ८९ डलर अनुमान गरिएको थियो। यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ५६ डलर हुने प्रारम्भिक अनुमान छ गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ४ सय ५ डलर अनुमान थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.