माथिल्लो अरुण र दूधकोशी जलविद्युत : सुरुङ खन्न टीबीएम प्रविधि

माथिल्लो अरुण र दूधकोशी जलविद्युत : सुरुङ खन्न टीबीएम प्रविधि
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले १ हजार ६३ मेगावाट माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गर्ने तयारी गरेको छ। 

टीबीएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएकोले यसको प्रयोग गर्न लागिएको जनाइएको छ। यसैकारण उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनामा पनि प्रयोगमा ल्याउन लागिएको हो। अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ। दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ। निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरूको सुरुङ हाल ड्रिलिङमार्फत विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो–इलेक्ट्रिकका प्रबन्ध–सञ्चालक फणीन्द्रराज जोशी, दूधकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टीबीएममार्फत खनिएको सुरुङको जानकारी लिएको छ। टोलीले टीबीएमको प्राविधिक पक्ष, यसको प्रयोग गर्दा व्यहोर्नु परेका समस्या तथा चुनौतीहरू, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी जानकारी लिएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुईवटा आयोजनाको सुरुङ  टीबीएममार्फत खन्दा समय थौरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधिलाई ठूला सुरुङ भएका दुई जलविद्युत् आयोजना प्रयोगमा ल्याउन लागिएको बताए। उनले माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाए।

‘अब निर्माणका लागि टेन्डर आह्वान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टीबीएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभवलाई सम्बोधन गर्ने गरी टेन्डर कागजात तयार गरिनेछ,’ उनले भने, ‘सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टीबीएमबाटै खन्ने गरी प्रक्रिया अगाडि बढाइसकेका छौं।’ उनका अनुसार माथिल्लो अरुणमा टीबीएम पु¥याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पु¥याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टीबीएम नै प्रयोगमा ल्याइनेछ।

‘एकपल्टको लगानीका हिसाबले केही महँगो देखिएता पनि टीबीएममार्फत सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नु नपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाब गर्दा टीबीएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ।’ उनले थपे। सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुईवटा प्रवेश (एडिट) सुरुङको लम्बाइ ५ किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ।

टीबीएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु पर्दैन। एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन। माथिल्लो अरुण विश्व बैंक र दूधकोशी एसियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अगाडि बढाउन लागिएको छ। सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइनेछ। विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिने योजना बनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.