मोरङमा सद्‍भाव कायम राख्न सर्वपक्षीय छलफल

मोरङमा सद्‍भाव कायम राख्न सर्वपक्षीय छलफल
सुन्नुहोस्

विराटनगर : मोरङमा सामाजिक सद्‍भाव कायम राख्न शुक्रबार सर्वपक्षीय छलफलको आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा छलफलको आयोजना गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहका अनुसार छलफलमा सुरक्षा निकाय, पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक अगुवा र सरोकारवालाहरुको सहभागिता रहेको थियो। छलफलका सहभागीहरु सामाजिक, धार्मिक र जातीय सद्‍भाव कायम राख्ने विषयमा एकजुट भएका छन्। 

उनीहरुले सदिऔँदेखिको सहिष्णुता कायम राख्न सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन्। सहायक प्रजिअ साहका अनुसार एकले अर्काको धर्म र संस्कृतिको सम्मान गर्ने तथा एकले अर्काको विरोध र बहिष्कार नगर्ने प्रतिबद्धता छलफलका सहभागीले जनाएका छन्। उनीहरुले गलत मनसाय राखेर सद्‍भाव भड्काउन खोज्नेलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन जोडसमेत दिएको साहले बताए। 

‘समाजमा यो वा त्यो बहानामा अशान्ति मच्चाउनेलाई कारबाही गरिनुपर्छ भन्ने निष्कर्ष छलफलबाट निस्किएको छ,’ उनले भने, ‘एकले अर्काको धर्म र संस्कृतिको सम्मान गर्दै अघि बढ्ने विषयमा छलफल केन्द्रित भयो।’ सबैले एकअर्कालाई सम्मान गर्ने र सद्‍भाव भड्काउने गतिविधि नगर्ने प्रतिबद्धता जनाएको साहको भनाइ छ। 

रामनवमीको अवसरमा बुधबार एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि विराटनगरको रानी क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो। प्रदर्शनकारी र प्रहरीबीच बिहीबार पनि झडप भयो। बुधबार र बिहीबारको झडपमा परेर नेपाल प्रहरीका डीएसपीसहित १२ प्रहरी र १ जना बालक घाइते भएका छन्। 

दुई पक्षबीच झडप भएपछि बिहीबारदेखि स्थानीय प्रशासनले समन्वय बिना सभा, सम्मेलन र विभिन्न गतिविधि गर्नलाई रोक लगाएको छ। प्रशासनले सूचना जारी गरेर मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरी राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारका भेला, र्‍याली, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन भनेको छ।  

प्रशासनले जारी गरेको सूचना उल्लंघन गर्दै बिहीबार विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर अगाडि प्रदर्शनसमेत भएको थियो। त्यसक्रममा २ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउको विरोधमा प्रदर्शन उग्र बनाउँदै लगेर ढुंगामडा गर्न थालिएपछि नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको थियो। 

स्थिति सुरक्षा नियन्त्रणमै रहेको र अवस्था थप भड्किन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेर उच्च सतर्कता अपनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। अराजक गतिविधिलाई प्रसय दिएर हिंसा एवं सद्‍भाव भड्काउन खोज्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ। 

सद्‍भाव भड्काउने गतिविधि निस्तेज पार्न युवा संघको माग

विराटनगरमा सद्‍भाव भड्काउने गतिविधि हुन थालेको भन्दै राष्ट्रिय युवा संघ नेपालले चिन्ता व्यक्त गरेको छ। समुदायबीचको सद्‍भावलाई कमजोर बनाउने र भड्काउने अप्राकृतिक कार्यप्रति युवा संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्रसमेत बुझाएको छ। 

सहायक प्रजिअ प्रदीप साहलाई बुझाइएको ज्ञापन पत्रमार्फत युवा संघले सामाजिक रूपमा असर पर्ने जातीय, धार्मिक र सामाजिक सद्‍भाव भड्किने खालका गतिविधिलाई निस्तेज पार्न आग्रह गरेको छ। कुनै पनि अवाञ्छित गतिविधि गरेमा कानुनी कारबाही अघि बढाउन पनि युवा संघले प्रशासनसमक्ष आग्रह गरेको छ। साथै, ज्ञापन पत्रमार्फत शान्ति सुव्यवस्था कायम राख्न माग समेत गरिएको छ। 

संघका विराटनगर अध्यक्ष निरञ्जन ढुंगानाले सद्‍भाव भड्काउने खालका गतिविधि कोही कसैबाट पनि हुन नहुने बताए। ‘नेपाल बहुल जाति, भाषा, धर्म र संस्कृतिजस्ता विविधताबीचको सामाजिक सद्‍भावले भरिपूर्ण मुलुक हो। जहाँ हामी एकअर्काको धर्म र संस्कारको सम्मान गर्छौं,’ ढुंगानाले भने, ‘हामीबीचको सद्‍भाव भड्काउन विभिन्न शक्तिले प्रयास गरिरहेको देखिन्छ। त्यस्तो कार्य एकदमै दुःखद् र निन्दनीय हो।’ 

व्यक्तिगत उत्तेजना र अवाञ्छित गतिविधिमार्फत स्थानीय समुदाय बीचको सद्‍भावलाई कमजोर बनाउने गतिविधि भएको भन्दै उनले त्यसलाई रोक्न सबैले पहल गर्नुपर्ने बताए। ‘राष्ट्रिय युवा संघ नेपाल सदैव सामाजिक र धार्मिक एकताको पक्षमा छ,’ उनले भने, ‘विविध सांस्कृतिक पक्षको संरक्षण गर्दै सुन्दर समाज निर्माण गर्नु हाम्रो अभिभारा हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.