कोशीमा रगतको अभाव, सुरक्षाकर्मीबाट टारिदै संकट

कोशीमा रगतको अभाव, सुरक्षाकर्मीबाट टारिदै संकट
सुन्नुहोस्

विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालको आईसीयूमा उपचाररत झापाको हल्दिबारी गाउँपालिका–४ का रिंकुराज मेचेलाई रगतको आवश्यकता पर्‍यो।

कलेजोको समस्या भएर लामो समयदेखि उपचार गराइरहेका उनलाई ४ पिन्ट रगत चाहिने जानकारी चिकित्सकले गराए। २ पिन्ट तत्काल उपलब्ध गराउन भने। परिवारका सदस्य र आफन्त ए–बी पोजिटिभ रगतको खोजीमा भौतारिए। तर, पाउन सकेनन्। रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक)मा पनि ‘स्टक’ सकिएको थियो। 

चिनजानका साथीबाट १ पिन्ट रगत त जुट्यो। तर, अरु रगत जुट्न सकेन। उपचारमा समस्या हुने भएपछि मेचेका आफन्त सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकलीको सम्पर्कमा पुगे। वाहिनीपति एवं सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल ए–बी पोजिटिभ समूहको रगत भएका सशस्त्रको खोजीमा जुटे। 

सुनसरीको झुम्का कारागारमा कार्यरत सशस्त्र प्रहरी जवान रमेश गुरुङसँग मेचेको रगत समूह मेल खायो। सशस्त्रका जवान गुरुङले करिब ३० किलोमिटर टाढाबाट आएर मेचेका लागि शुक्रबार रगत दिएका छन्। त्यसपछि उनको थप उपचार अघि बढ्यो। बाँकी रगत शनिबारसम्ममा जुटाउन चिकित्सकले भनेका छन्। 

नेपाल प्रहरीका पूर्वहवल्दार राजेन्द्र घिमिरे थप रगतको जोहो गर्न लागेका छन्। मेचे उनीसँगकै सम्पर्कका आधारमा उपचारका लागि नोबेलमा भर्ना भएका हुन्। प्रहरी सेवाबाट अवकाश लिएपछि घिमिरे बिरामीको सेवामा सक्रिय छन्। उनी उपचारका लागि अस्पताल आउने बिरामीलाई निःशुल्क सहजीकरण गरिदिनेदेखि आवश्यक रगत जुटाउन मद्धत गर्छन्। 
‘चिकित्सकले भनेजति रगत समयमै उपलब्ध गराउन सकिएन भने बिरामीको उपचारमा समस्या हुन्छ। ज्यान नै तलमाथि हुने अवस्था आएका कारण सबैतिर हारगुहार गर्दैछौं,’ घिमिरेले भने, ‘अहिले रगत नै पाउन छाडिएको छ। ब्लड बैंकले पनि उपलब्ध गराउन सकेन।’

उनका अनुसार मेचेको पारिवारिक आर्थिक अवस्था कमजोर छ। आर्थिक अवस्थाले उपचारमा समस्या भइरहेका बेला रगतको अभाव पनि झेल्नु परेको घिमिरे बताउँछन्। गरिब र विपन्न बिरामीको उपचारमा सहजीकरण गरिदिनु आफ्नो धर्म भएको उनले बताए। 

मेचेलाई मात्रै हैन, कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुले अहिले रगत अभावको सामना गरिरहनु परेको छ। तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन्। केही समययता कोशी प्रदेशमा रगतको चरम अभाव भएको छ। प्रदेशका सबैजसो ब्लड बैंकमा रगत पाउन छाडिएको छ।

सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए। उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरु मर्कामा परेका छन्। ‘स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ। माग अत्यधिक छ,’ यादवले भने, ‘तर, आपूर्तिलाई सहज बनाउन सकिएन। सबैतिर अभाव खड्किएको छ।’ 

माग अनुसारको आपूर्ति गर्न नसक्दा रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण नबनेको जानकारी उनले दिए। रगतको संकट टार्नलाई रक्तदानको नियमित व्यवस्थासमेत नभएको जानकारी यादवले दिए। उनका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसकेर रगत संकलनमा कमी भएको छ। 

बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। प्रदेशमा दैनिक करिब २ सय पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशतजति पनि हुन नसकेको उनले बताए। 

‘कोशी प्रदेशमा १० वटाजति ब्लड बैंक छन्,’ यादवले भने, ‘सबैमा अभाव हुँदा रगतको माग धान्न मुस्किल परिरहेको छ।’ नियमित रगत चाहिने बिरामीले समेत पाउन नसकेको बताउँदै उनले आपूर्ति सहज बनाउने उपायको खोजी भइरहेको उल्लेख गरे। कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी आउँछन्। 

बिरामीले रगतका लागि आफन्त, सम्पर्कमा भएका व्यक्ति र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ। रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको यादव बताउँछन्। उनका अनुसार विभिन्न ३ सय जति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान कार्यक्रम गर्ने गरेका छन्। तर, अहिले सार्वजनिक हिसाबले रक्तदान नभएका कारण पर्याप्त रगत उपलब्ध गराउन नसकिएको उनले बताए। 

सुरक्षाकर्मीबाट टारिदै संकट 

पछिल्लो समय रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ। रगतको संकट सुरक्षाकर्मीले टार्दै आएका छन्। कतै नपाएर आपत परेका बेला बिरामीका आफन्तले रगतका लागि सुरक्षाकर्मीलाई सम्झने गरेका हुन्। रगतको अपेक्षा गरेर बिरामीका आफन्त नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्ने गरेका छन्। सुरक्षाकर्मीले रगत दिएर कतिपय बिरामीको ज्यान बचाइरहेका छन्। 

‘रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,’ सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ।’ विभिन्न अवसर पारेर पनि सुरक्षा निकायले रक्तदान कार्यक्रम गर्ने गरेको उनले बताए। एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीसँग सर्वसाधारणले रगतका अपेक्षा गर्ने गरेको पोखरेल बताउँछन्। 

‘जीवन रक्षाका लागि अति नै आवश्यक पर्ने रगतमा सर्वसाधारण सुरक्षाकर्मीकै भर पर्छन्,’ उनले भने, ‘सम्बन्धित निकायमा अभाव भएकाले अहिलेको संकट सुरक्षाकर्मीबाटै टर्दैछ।’ सुरक्षा संगठनभित्र आवश्यक परेको समूहसँग मेल खाने रगत भएका कोही न कोही भेटिने भएकाले सर्वसाधारणले सम्झिने गरेको उनको भनाइ छ। 

डीआईजी पोखरेलका अनुसार रगतको अभाव हुँदा सुरक्षाकर्मीबाटै भरथेग हुन्छ भन्ने अपेक्षा सर्वसाधारणले गर्नु स्वभाविक हो। ‘रगत अभाव भएका बेला सहजीकरण गर्ने गरिएको छ,’ उनले भने, ‘संकटमा बेला साथ दिएर मानिसको जीवन बचाउने कुरा ठूलो हो।’ 

मानवीय सेवाका हिसाबले बिरामीको ज्यान बचाउन सुरक्षाकर्मीले रगत दिने गरेको उनको भनाइ छ। तर, सधैंजसो खड्किने रगतको अभाव टार्न संस्थागत रक्तदानतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने पोखरेलको सुझाव छ। सबैलाई रक्तदानका लागि प्रेरित गर्नुपर्ने तथा व्यक्ति र संघ संस्थाले सक्रियता बढाउनुपर्ने उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.