महिनैपिच्छे ब्याजदर घटेको वर्ष

महिनैपिच्छे ब्याजदर घटेको वर्ष
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : महिनैपिच्छे ब्याजदर घटेको वर्ष बन्यो २०८० साल । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी भइरहँदा वाणिज्य बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर हरेक महिना क्रमशः सामान्य रूपमा भए पनि घट्दै गयो । 

वर्षको पहिलो महिना भारित औसत निक्षेपको ब्याजदर ८.२६ प्रतिशत थियो । यो ब्याजदर झरेर चैत्रमा आइपुग्दा औसत ६.७४ प्रतिशतमा सीमित रहेको छ । बचत खाता औसत ६.५० रहेकोमा १२ महिनाको अन्तरमा चैत्रमा ४.१० प्रतिशतमा झ¥यो । उक्त ब्याजदरमा उक्त अवधिसम्म साधारण बचत खातामा मात्रै १७ खर्ब २० अर्ब ५८ करोड ६९ लाख रुपैयाँ जम्मा भएको छ । यस्तै मुद्दती निक्षेपको ब्याजदर औसत १०.८८ बाट झरेर ९.२२ प्रतिशतमा आइपुगेको छ । यस अवधिमा मुद्दतीमा मात्रै ३६ खर्ब रुपैयाँ संकलन भएको छ । यस्तै, २.६३ प्रतिशत रहेको कल निक्षेपको ब्याज वर्षको अन्तमा १.८२ प्रतिशत रह्यो । यस अवधिसम्म कुल खातामा मात्रै ४ खर्ब ३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ । समग्रमा हालसम्म वाणिज्य बैंकमा मात्रै कुल ५४ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप हुँदा प्रवाहमा रहेको कर्जा ४५ खर्ब ४ अर्ब छ ।

नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंकदर, नीतिगत दरलाई साबिकको तुलनामा घटाएपछिका महिनामा ब्याजदर घटाउन दबाब परेको हो । फलस्वरूप वाणिज्य बैंकहरूले सार्वजनिक गरेको, पुस– माघ महिनाका लागि निक्षेपको नयाँ ब्याजदर एकल अंकमा कायम भएको थियो । निक्षेपको ब्याजदर विस्तारै कम हुँदै जाँदा कर्जाको पनि सामान्य रूपमा घट्यो । २०८० वैशाखमा भारित औसत कर्जाको ब्याजदर १२.८४ प्रतिशत रहेकोमा चैत्रसम्ममा १०.७८ प्रतिशतमा सीमित भयो । यो औसतमा भएकाले कम देखियो तर बैंकअनुसार कर्जाको ब्याजदर घटेको महसुस खासै नभएको सर्वसाधारणको गुनासो छ । यद्यपि बैंकहरूले ब्याजदर घटाउने भन्दैमा धेरै घटाउन वा बढाउन मिल्दैन । यसका लागि राष्ट्र बैंकले तोकेको परिधिभित्र रहनुपर्ने हुन्छ । केन्द्रीय बैंकका अनुसार ब्याजदर घटाउँदा पनि अघिल्लो महिनाको औसतमा बढीमा १० प्रतिशत बिन्दुले मात्र परिवर्तन गर्न पाइन्छ । 

लामो समयदेखि बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ । बैंकहरूलाई कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) ९० प्रतिशत अधिकतम तोकिएको छ । तर पछिल्लो समय बैंकहरूको सीडी रेसियो ८०.६४ प्रतिशत रहेकाले कुसन ९.३६ प्रतिशत छ । बैंकहरूको पुँजी कोषको आकार ठूलो बनाउनु पर्दा पनि कतिपय बैंकले भने लगानी बढाउन नपाएको बताउँछन् । यद्यपि दिनप्रतिदिन निक्षेप बढेको छ तर कर्जाको माग कम भएको र त्रैमासको अन्तिम महिना बैंकहरूले खासै थप नयाँ कर्जा पनि दिन चाहँदैनन् । किनभने यस अवधिमा सकभर सावाँ तथा ब्याज, किस्ता उठाउनमा अर्थात रिकभरीमै लागेका छन् । 

यसैक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीका अनुसार बैंकमा तरलता अधिक छ । सुरुमा सबैले ब्याजदर महँगो भएकाले कर्जा गएन भने तर पछिल्ला महिनामा कर्जाको ब्याजदर पनि क्रमशः घटिरहेको छ तर पनि कर्जाको माग खासै नभएको उनको भनाइ छ । वास्तवमा पैसाको फ्लो तल्लो तहसम्म नपुगेकाले पनि बजार केही प्रभावित भएको उनको अनुमान छ । यसैले सरकारले विकास खर्चमा बढी जोड दिनसमेत उनले सुझाए । 

वैशाखमा वाणिज्य बैंकको ब्याजदर वर्षको अन्तिम महिना चैत्रको तुलनामा २०८१ वैशाख महिनाका लागि पनि निक्षेपको ब्याज सामान्य रूपमा घटाएको तथ्यांक बैंकहरूले सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार नयाँ ब्याजदरअनुसार वैशाख महिनाका लागि न्यूनतम निक्षेपमा औसत ५.६९ प्रतिशत र अधिकतम निक्षेपमा औसत ६.९६ प्रतिशतले ब्याज दिने भएका छन् । 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ ले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन् । जसमा कृषि विकास, एनएमबी र एभरेस्ट रहेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नबिल र प्रभु बैंकले चैत्र महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर वैशाख १ गतदेखि वाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनएमबी बैंकको देखिन्छ । उक्त बैंकले अधिकतम साढे ७.९७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यसको संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर तोकेको छ । यसैगरी, मुद्दती निक्षेपमा क्रमशः एभरेस्ट बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । 

यसैगरी प्राइम कमर्सियलले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत, नबिलले ७.२५ र ६.२५ प्रतिशत, नेपाल इस्भेस्टमेन्ट मेगा बैंकले ७ र ६ प्रतिशत ब्याजदर कायम गरेको छ । प्रभु बैंकले व्यक्तिगततर्फ ७.०५ र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी, ग्लोबल आईएमईले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत कायम गर्दा कृषि विकास बैंकले ५.६६ र ४.५१ प्रतिशत ब्याजदर घोषणा गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.